शिक्षाको मूल ध्येय शान्ति



नगेन्द्रराज पौडेल
शिक्षाले नैतिकता, अहिंसा र शान्तिको पाठ पढाउनुपर्नेमा हाम्रो शिक्षा त्यतातर्फ लक्षित हुन सकेको छैन । विगतमा पठनपाठन गराइदै आइएको नैतिक शिक्षालाई पनि हाम्रा पाठ्यक्रमले विस्थापित गरिसके ।

न रोजगारमुलक शिक्षा नै हामीले प्रदान गर्नसकेका छौं, न सदाचारी नागरिक तयार पार्न नै हामीले सकेका छौं । वर्षेनी शैक्षिक प्रमाणपत्रधारीहरुलाई नबिक्ने खोटोमर प्रमाणपत्र थमाएर अरब, कतारको खाडीमा धकेल्नुुबाहेक हाम्रो शिक्षाले अरु केही गर्न सकेन । प्राविधिक र व्यावसायिक शिक्षा रटानमा त छ तर यसले कतिजनालाई स्वदेशमा टिकाउने हो अत्तोपत्तो छैन । किनभने अवसर विनाको शैक्षिक प्रमाणपत्र कुनै पनि मुलुकका लागि कामयावी हुँदैन । देशमा कस्तो जनशक्तिको खाँचो छ ? र अब कुन स्तरसम्म कुन प्रकारको जनशक्ति उत्पादन गर्ने हो भन्ने कुनै पनि नीति राज्यसँग छैन । बिना योजना अन्दाजमा रहमा ढुंगो हान्दा जहाँ पर्छ पर्छ भन्ने शैलीको बेलगाम शैक्षिक नीतिले थप उदण्डता मच्चाउनेसिवाय केही गर्दैन ।

अबको शिक्षाले कम्तीमा शान्ति त कायम गर्न, गराउन सकोस, यो आजको सर्वाधिक चासेको विषय हो । नैतिकता, सदाचार, शान्ति र सहिष्ण्ुाता मात्र कायम गराउन सकेमा पनि शिक्षाले यति त ग¥यो है भन्न पाइन्छ । शिक्षा प्राप्त र अप्राप्त व्यक्तिका बीचमा अलिकति व्यवहारमा भिन्नता देखिन सके पनि यतिसम्म त भएछ भन्न हुन्थ्यो । तर आज यो भन्न सकिने अवस्था पनि छैन । सर्वत्र निराशा मात्र हातालागी भएको अवस्था विद्यमान छ ।

शान्ति आजको सर्वाधिक चासो र महत्वको विषय हो । आजका बालबालिकाहरुलाई सानै उमेरदेखि शान्तिका बारेमा जानकारी दिन सकेको खण्डमा मात्र उनीहरु भविष्यमा गएर शान्तिका लागि प्रतिबद्घ हुन सक्छन् । यसका लागि आजैदेखि विद्यालय तथा कक्षाकोठामा गरिने शिक्षण सिकाइका कार्यकलापहरूमा शान्ति, मानव अधिकार र नागरिक शिक्षाका मर्म र आदर्शहरूलाई समाहित गराई विद्यार्थीको जीवन शैलीमा त्यसको सकारात्मक र दूरगामी प्रभाव पार्न जरुरी छ । विद्यार्थीलाई असल नागरिकका रूपमा समाजमा उभ्याउन र घर, परिवार समाज, राष्ट्र तथा विश्व परिवेशमा एक आपसी भाइचारा, शान्तिपूर्ण वातावरणको सुनिश्चितीकरण, बसुधैब कुटुम्बकम्को आदर्श कायम गराउन अभिप्रेरित गराउन आवश्यक अनुभव गरिएको छ । त्यसैले यी वास्तविकतालाई केन्द्रमा राखी हरेक विद्यालयमा शान्ति, मानवअधिकार र नागरिक शिक्षाका विशेषताहरूमा आधारित भई दैनिक व्यवहारमा स्वतस्फूर्त रूपमा प्रयोग गर्न सक्ने गरी विद्यार्थीलाई तयार गराउन आवश्यक भएको छ ।

विद्यालयमा असमानता र घृणा पूर्णरूपमा हटाई रचनात्मक तथा गतिशील अन्तरक्रियालाई जोड दिनुका साथै अभिव्यक्ति स्वतन्त्रताको वातावरण सिर्जना गर्नु जरुरी हुन्छ । त्यस्तै गरी प्रजातान्त्रिक अनुशासन पद्धतिको विकास गर्न विद्यार्थीको सहभागितामा विद्यार्थी आचारसंहिता, शिक्षकको सहभागितामा शिक्षक आचारसंहिता तथा अभिभावकको सहभागितामा अभिभावक आचारसंहिता बनाई लागू गराउन आवश्यक छ ।

यसै कुरालाई मध्यनजर गरी शिक्षकहरुका लागि विविध तालिम कार्यक्रममा विषयगत समस्याका अतिरिक्त शान्ति मानवअधिकार तथा नागरिक शिक्षा, बृहत् यौनिकता, मानवमूल्यमा आधारित शिक्षा, समालोचनात्मक चिन्तन तथा जीवनोपयोगी सीपसमेतलाई कहीं कतै आवश्यकतानुरुप समावेश गर्ने सरकारी नीति रहेको छ । सबै खालका शिक्षक तालिममा यी विषयवस्तुहरुलाई कुनै न कुनै रुपमा समाविष्ट गरी सर्वप्रथम शिक्षकका लागि आधारभूत जानकारी दिन तथा तत्पश्चात् शिक्षकहरुका माध्यमबाट कक्षा कोठामा विद्यार्थीहरुका लागि दैनिक रुपमा क्रियाकलाबहरु सञ्चालन गर्न आवश्यक छ । यी बग्रेल्ती विषयमध्ये शान्ति आजको जल्दोबल्दो विषय भएकोले कक्षकोठामार्फत् विद्यार्थीमा यसको आभारभूत धारणा दिनुका साथै शान्ति कायम गर्ने विषयमा विद्यालयको पनि केही विशिष्ट प्रकारको आफ्नै खालको भूमिका हुने हुँदा यहाँ छोटो चर्चा गर्ने धृष्टता गरिएको छ ।

शान्ति के हो ?
शान्ति भनेको भय र त्रासरहित स्वस्थ मानसिक एवम् शारीरिक स्थिति हो । व्यक्ति आनन्द र शान्तिपूर्ण अवस्थामा आफ्ना क्रियाकलापहरूलाई सहज र सकारात्मक ढङ्गबाट अघि बढाई सफलतातर्फ उन्मुख हुन सक्छ । सामान्य अर्थमा शान्ति भन्नाले आनन्दमा रहनु, अरुलाई बाधा नपु¥याई आफूले चाहेको कुरा पूरा हुनु, न्याय पाउनु, समानताको अनुभूति गर्नु, माया पाउनु, आपसी सम्मान गर्नु, समस्यालाई समाधान गर्न सक्नुजस्ता कुराहरूलाई बुझाउँछ । यसका साथै अन्याय, डर, हिंसा, युद्घ वा लडाइँको स्थिति नहुनुलाई पनि शान्तिको रूपमा लिने गरिन्छ ।

प्रत्यक्ष वा अप्रत्यक्ष हिंसाको अवशेष नरहेको र सामाजिक न्याय विद्यमान रहेको अवस्था नै शान्ति हो । प्रत्यक्ष हिंसा, जस्तै– काटमार नहुँदैमा कुनै समाजमा शान्ति विद्यमान छ भन्न सकिन्न । शान्तिका लागि सामाजिक न्यायको पनि उत्तिकै आवश्यकता पर्छ । सामाजिक न्यायका अभावमा समाजभित्र विभिन्न प्रकारका अप्रत्यक्ष हिंसाहरूले मौलाउने अवसर पाउँछन् । सामाजिक न्यायसहितको शान्तिलाई सकारात्मक शान्ति भन्न सकिन्छ जसले मानव समाजको विकास र समृद्धिका लागि ऊर्जा प्रदान गर्छ ।

शान्तिका लागि विद्यालयको भूमिका
प्रस्तुत चर्चाको चुरो शान्ति निर्माणमा विद्यालयको भूमिका रहेकाले विद्यालय तहबाटै यसको आधारभूत धारणा विद्यार्थीहरुमा दिई उनीहरुमा शान्ति, सहिष्णुता, सद्भाव, आपसी प्रेम मैत्रीभाव जगाउन जरुरी छ । यसका लागि विद्यालयले विद्यालयको वातावरण समावेशी बनाई भेदभावरहित वातावरण सिर्जना गर्नुपर्दछ । विद्यालयमा असमानता र घृणा पूर्णरूपमा हटाई रचनात्मक तथा गतिशील अन्तरक्रियालाई जोड दिनुका साथै अभिव्यक्ति स्वतन्त्रताको वातावरण सिर्जना गर्नु जरुरी हुन्छ । त्यस्तै गरी प्रजातान्त्रिक अनुशासन पद्धतिको विकास गर्न विद्यार्थीको सहभागितामा विद्यार्थी आचारसंहिता, शिक्षकको सहभागितामा शिक्षक आचारसंहिता तथा अभिभावकको सहभागितामा अभिभावक आचारसंहिता बनाई लागू गराउन आवश्यक छ ।

यसै गरी विद्यार्थीको समान, सक्रिय र उच्च सहभागितामा कक्षाकोठाका नियम निर्माण गर्न लगाई कार्यान्वयन गर्न, गराउन तथा विद्यालयलाई भयमुक्त वातावरण भएको शान्त र मनोरम थलोको रूपमा स्थापित गराउने, समुदायसँगको सम्बन्ध मजवुद पार्नुपर्ने देखिन्छ । विद्यालयमा कुनै पनि प्रकारको हिंसात्मक गतिविधि हुन नदिन समुदायसँग मिलेर कार्य गर्ने र प्र.अ. एवं शिक्षकहरू, शिक्षक–शिक्षक, शिक्षक–विद्यार्थी, शिक्षक–अभिभावकबीचको सम्बन्ध सुदृढ पार्नका लागि प्रभावकारी सञ्चार प्रक्रियालाई सुदृढ पार्नुपर्दछ । त्यसै गरी विद्यार्थीमा असल चरित्र निमार्णका लागि जोड दिने, विद्यालयको समय÷कार्यतालिकाअनुसार नियमित रूपमा विद्यालय सञ्चालन गर्ने, कक्षाकोठाको वातावरण सबै खाले विद्यार्थीका लागि पहुँचयोग्य हुनुपर्ने, सिकाइ सबैको समान, सक्रिय र उच्च सहभागिता सुनिश्चित गर्ने, विद्यालय सरसफाइ कार्यक्रम, नृत्य तथा गायन प्रतियोगिता, वादविवाद कार्यक्रम, खेल आदि अतिरिक्त क्रियाकलापको आयोजना गर्ने, बालमनोरञ्जनात्मक तरीकाले सिक्ने अवसर दिने जस्ता गतिविधिहरु संचालन हुन आवश्यक देखिन्छ ।

यसका साथै जिम्मेवारी वा उत्तरदायित्व निर्वाह गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नु, सामाजिक न्यायको प्रत्याभूति दिलाउनु, शान्ति निर्माणमा काम गर्ने व्यक्ति तथा सङ्घसंस्था सँगै अन्तक्र्रियामा संलग्न गराउने तथा स्थलगत भ्रमण गराउने गर्नुपर्दछ ।

कुनै पनि प्रकारको शारीरिक तथा मानसिक सजाय नदिई मायालु तथा बालमैत्री वातावरणमा सिक्ने अवसर प्रदान गर्नुका साथै विद्यार्थीबीच आपसमा मेलमिलाप, सहयोग, सौहाद्र्रपूर्ण व्यवहार आदिको विकास गराउने खालका क्रियाकलापहरूमा संलग्न गराउनुपर्छ । विद्यार्थीको सिर्जनात्मकताको विकास गर्ने तथा सिर्जनात्मक क्रियाकलापहरूमा भाग लिने, शान्तिसँग सम्बन्धित सङ्घ संस्थाहरूको सदस्य हुन प्रोत्साहित गर्नुका साथै शान्तिसँग सम्बन्धित कुराहरूलाई सामाजिक शिक्षण, भाषा शिक्षण आदि विषयसग एकीकृत गर्न योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, शान्ति तथा हिंसासँग सम्बन्धित कुराहरू पाठ्यक्रम तथा पाठ्यपुस्तकमा कहाँ समावेश भएको छ, सोको विश्लेषण गर्ने काममा विद्यालयबाट पहल हुन जरुरी छ ।

अन्त्यमा,
शान्ति भनेको भय र त्रासरहित स्वस्थ मानसिक एवम् शारीरिक स्थिति हो । व्यक्ति आनन्द र शान्तिपूर्ण अवस्थामा आफ्ना क्रियाकलापहरूलाई सहज र सकारात्मक ढङ्गबाट अघि बढाई सफलतातर्फ उन्मुख हुन सक्छ । सामान्य अर्थमा शान्ति भन्नाले आनन्दमा रहनु, अरुलाई बाधा नपुर्याई आफूले चाहेको कुरा पूरा हुनु, न्याय पाउनु, समानताको अनुभूति गर्नु, माया पाउनु, आपसी सम्मान गर्नु, समस्यालाई समाधान गर्न सक्नु जस्ता पक्षहरूलाई बुझाउँछ ।

घरपरिवार, विद्यालय, समुदाय तथा काम गर्ने स्थानमा रचनात्मक कार्यहरू गरी, गरिएका कार्यलाई उत्पादनमूलक बनाउन तथा उपलब्धि हात पार्नका लागि ती ठाउँहरूमा आपसी माया, ममता, स्नेह, विश्वास, सम्मान, सहयोग र समानुभूतिको वातावरण आवश्यक हुन्छ, जुन शान्तिका परिचायक हुन् । यी क्रियाकलापहरु विद्यालयमा शुरुबाटै सिकाउन र अभ्यास गराउन जरुरी छ । यसो हुन सकेमा मात्र बालबालिकाहरुमा सानैदेखि शान्तिप्रति सकारात्मक भाव विकसित हुन गई भविष्यमा पनि उनीहरु शान्ति र सद्भाव कायम राख्ने कार्यमा अरुलाई सघाउन सक्छन् । हिंसाको विरुद्घ शान्तिप्रति सधैँ सकारात्मक र अनुुुुयायी नागरिक उत्पादन गर्नु आजको शिक्षाको मूल ध्येय पनि हो ।

(लेखक पौडेल जिल्ला शिक्षा अधिकारी हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्