नेपाल इस्टर्न रिजनको सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं
नेपालको युवा क्रिकेट टोली थाइल्यान्डमा जारी एसीसी यु १६ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

बिहीबार भएको खेल वर्षाले विथोलेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द गरिएको थियो । जुन नतिजाले नेपाल ३ खेलमा ५ अंकसहित समूह ए को विजेता बन्दै अन्तिम चारमा पुग्यो । नेपालले समूहका यसअघिका खेलमा म्यानमारलाई ७ विकेटले र मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।
त्यसो त नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । लक्ष्य निकै ठूलो दिइएकोमा आयोजक टोली थाइल्यान्ड १.५ ओभरमा १ विकेट गुमाएर कुनै रन बनाएको थिएन । यो स्थितिमा पानी परेपछि खेल रोकिनुपरेको थियो । यो नतिजापछि थाइल्यान्ड समूह चरणबाटै बाहिरियो भने मलेसिया अन्तिम चारमा पुगेको छ ।

नेपालको ब्याटिङमा आईस भट्टराईले सर्वाधिक ५८ रन बनाएका थिए । ७३ बलमा ९ चौकासहित अर्धसतक पुरा गरेका आईसले चौथो विकेटका लागि विशाल विक्रम केसीसँग ७३ रनको साझेदारी गरे । कप्तान विशालले ४ चौका र २ छक्का प्रहार गर्दै ३८ रनको उल्लेखनीय योगदान दिएका थिए । अन्यमा ओपनर दीपक बोहोराले ३५ रन, विशालकुमार पटेलले २८ रन र निखिल कुमार सिंहले २२ रन जोडेका थिए । थाइल्यान्डका बलरमा नराविट ननतराचले ३ र योदस्कले २ विकेट लिएका थिए ।

नेपालले सेमिफाइनलमा हङकङसँग खेल्नेछ । हिजै भएको खेलमा सिंगापुरले चीनलाई हराएर शत प्रतिशत नतिजासँगै समूह बी विजेता हुँदै अन्तिम चारमा पुग्यो । त्यस्तै यो समूहबाट हङकङ ४ अंक लिएर उपविजेता बन्यो भने नेपालको समूहमा मलेसिया उपविजेता भएको छ । नेपालले दुई वर्षअघि भएको सो प्रतियोगितामा उपाधि जितेको थियो । फाइनलमा सिंगापुरलाई ७१ रनले हराएर नेपालले उपाधि जितेको थियो । यस पटक पनि ८ टोलीले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपाल उपाधिको दावेदार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्