बाङ्खेली तमु समाज भवनको उद्घाटन



अमृत अर्याल, स्याङजा ।
स्याङ्जाको वालिङ नगरपालिका ३ बाङ्खेमा तमु समुदायको समाज भवन निर्माण गरिएको छ । गाउँ घरमा समाज भवनको अभावमा सामाजिक कार्यहरु, विभिन्न बैठक तथा तालिमहरु सञ्चालन गर्न र समाजले जुटाएको भाँडावर्तनहरु राख्नका लागि समस्या देखिएपछि बाङ्खेली तमु समुदायले भवन निर्माणमा सक्रियता देखाएको निर्माण समितिका अध्यक्ष खिमबहादुर गुरुङले बताउनुभयो । स्थानीय कुलबहादुर गुरुङ र शिरमाया गुरुङले करीब ५ आना जग्गा निशुल्क उपलब्ध गराएपछि सोही ठाउँमा भवन निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

“गाउँमा सामाजिक कार्यहरु सञ्चालनका लागि भवनको अभाव देखियो” जग्गादाता गुरुङले भन्नुभयो, “समाजले भवन निर्माणको योजना अगाडि सारेपछि मैंले समाजलाई निशुल्करुपमा जग्गा उपलब्ध गराएको हुँ ।” चौबीस लाख बयालिस हजार ८ सय ८६ रुपैयाँको लागतमा सभाहल सहितको सुविधा सम्पन्न भवन, बाथरुम तथा शौचालयहरु निर्माण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट संकलन भएको एक्काईस लाख दुई हजार ८ सय ८६ रुपैयाँ र स्थानीय जनश्रमदानबाट तीन लाख चालिस हजार गरी कूल चौबीस लाख बयालिस हजार ८ सय ८६ को लागतमा भवन निर्माण सम्पन्न भएको हो । भवनको उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले गुरुङ समुदायले आफ्नै अग्रसरतामा सामुदायिक भवन निर्माण गरेर उदाहरण प्रस्तुत गरेको बताउनुभयो “समाज भवनलाई सीप सिक्ने केन्द्रको रुपमा विकास गर्ने गरी अगाडि बढ्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “तपाईहरु अब आर्थिक उपार्जनसँग जोडिनुपर्छ, के कार्यका लागि ईच्छुक हुनुहुन्छ प्रस्ताव मात्रै ल्याउनुहोस् अरु काम नगरपालिकाले गर्छ ।”

३ नं. वडामा नगरपालिकाले बिद्युत र सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख खाँणले बताउनुभयो ।

“स्थानीयले विभिन्न मागहरु राख्नुभएको छ त्यसमा पहिलो प्राथमिकतामा विद्युत र सडक निर्माण हो” नगर प्रमुख खाँणले भन्नुभयो, “यहाँहरुले राख्नुभएका मागहरु पूरा गर्नका लागि हामी निरन्तर लागेका छौं, उक्त कार्य छिट्टै सम्पन्न हुने छ ।” नगर प्रमुख खाँणले गुरुङ समुदायले लगाउने गरेको पोशाक अन्यत्रबाट आयात गर्नुपर्ने अवस्थामा यहीँका महिला दिदीबहिनीहरुलाई पोशाक निर्माण गर्नतर्फ लाग्न अभिप्रेरित गर्दै नगरपालिकाले आवश्यक तालिम तथा मेसिनहरु प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष शुक्रराज गुरुङ, समाजसेवी पदमराज गुरुङ, सत्तबहादुर गुरुङ, ईन्द्रबहादुर मास्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्