सत्तापक्ष र प्रतिपक्षभित्रको किचलो



खेमराज निरौला
सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस अहिले आन्तरिक घर झगडा र गुटगत मानसिकताको राजनीतिबाट ग्रसित भएका छन् । यो आलेख यिनै दुई मुख्य सत्तापक्ष र प्रतिपक्ष दलभित्र अहिले देखिएको किचलो र गुटको लडाइँमा केन्द्रित छ । सर्वप्रथम सत्तारुढ दलभित्र देखिएको शक्ति संघर्षलाइ हेरांै । २०७४ सालमा सम्पन्न भएका तीन तहका निर्वाचनका सफलता पश्चात भावनात्मक रुपमा पार्टी एकीकरण गर्ने भनेर उद्घोष गरेका दुई कम्युनिष्ट पार्टीको एकीकरण प्रकृयाले वर्ष दिन वित्न लाग्दा पनि सार्थकता पाउन सकिरहेको छैन । पार्टीका हरेक तह र जनवर्गिय संगठनहरु विचको एकताले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । केही महिनाअघि साम्य भएको एकिकरणको किचलो फेरी आएर बल्झिएको छ ।

खासगरि पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल गुटले अध्यक्ष द्धयले तयार पारेको कार्यसूचिका विरुद्ध समानान्तर सुची तयार पारेर बुझएको छ । साविकको एमाले नेतृत्वको जिल्लामा अध्यक्ष र सचिबको नामावली तयार पार्दा आफुसँग सल्लाह नै नगरी एकलौटी ढंगले तयार पारीएको भन्दै नेता नेपालले त्यस कदमलाई षड्यन्त्रको संज्ञा दिदै चुनौती दिएका छन् । पार्टी भित्र आफु र आफ्ना पक्षकालाई पाखा लगाउन खोजिएको आरोप नेपाल समुहले पहिलेदेखि नै ओलीलाई लगाउदै आएको छ । नेता कार्यकतालाई समायोजन पछि जिम्मेवारी दिने विषयमा अध्यक्ष र नेता नेपाल बिच निकै ठूलो रस्साकस्सी देखिन्छ भने त्यसलाई साथ दिईरहेका छन् वामदेव गौतम र झलनाथ खनालले ।

गौतम पार्टीभित्र आफुलाई एउटा छुट्टै पहिचान बोकेको सक्षम र जुनसुकै बेला पनि पार्टीको नेतृत्व लिन सक्ने नेताका रुपमा आफ्नो दावी प्रस्तुत गर्छन् । पार्टीभित्र आफु बेरोजगार भएकोले उनी जिम्मेवारीको अपेक्षामा छन् । महाअधिवेशनको समयमा ओलीलाई जस्तो साथ सहयोग गौतमले दिएका थिए अहिले अवस्था त्यस्तो छैन । वामदेवसँग गरिएको सम्झौता ओलीले पालना नगरेकोले अहिले उनी ओलीका विरुद्ध छन् । उता नेपाल र खनाल पक्ष आफुहरुसँग सल्लाह नै नगरी पार्टीमा एकलौटी निर्णय र नियुक्ति गर्ने गरेकोमा असन्तुष्ट छन् ।

अर्को चुनाबमा त हामै्र पालो हो नि भनेर पालो पर्खी बस्नुबाहेक अहिलेको कांग्रेसबाट अरु केही अपेक्षा नगरे पनि भयो । कुनै पनि हालतमा आफ्नो कार्यकाल लम्ब्याउने र पार्टीमा कब्जा जमाइराख्ने प्रवृत्ति देउवामा बलियोरुपमा रहेको देखिन्छ भने त्यसका विरुद्ध मोर्चाबन्दी गर्ने मनसायमा कोइराला, पौडेल र सिटौला देखिनुले कांग्रेसभित्रको किचलोले सकुसल अवतरण लिनेमा शंका उत्पन्न भएको छ ।

केन्द्रिय नेतृत्वको यस्तो चाला देखेर तल्लो तहका नेता कार्यकर्ता एवंशुभचिन्तक भने अलमलमा देखिन्छन् । एकिकरणका विषयमा भएको विलम्व र किचलोले अहिले नै केही चामत्कारीक निर्णय होला भन्ने अपेक्षा गर्न सकिदैन । यही बैशाख १० मा कम्युनिष्ट पार्टी स्थापनाको सात दशक पुग्दै गर्दा सोही अवसर पारेर एकिकरणका बाँकी सबै कामले पूर्णता पाउने दाबी प्रधानमन्त्रिको रहेको छ । एकीकरणमा भएको बिलम्ब र आलटाललाई हेर्दा के अनुमान लगाउन सकिन्छ भने, ओली नेपाल पक्षलाई पाखा लगाएरै भए पनि आफ्नो निर्णयबाट दाँया वाँया नगर्ने मनसायमा देखिन्छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल मध्यमार्गी बाटो अपनाएरै भए पनि नेपाल, खनाल र गौतमको सहानुभुती प्राप्त गर्ने दाउमा देखिन्छन् ।

नेपाल पक्षले आफुहरुलाई ३० जिल्लामा अध्यक्ष वा सचिवको जिम्मेवारी दिनुपर्ने दावी गरिरहेको छ र जिल्ला नै तोकेर त्यसै अनुसारको सूची तयार पार्नुले नेकपाभित्रको एकीकरणले कस्तो रुप लेला, यसै भन्न सकिने अवस्था छैन । शिर्ष नेतृत्व बिचमा नै देखिएको यस्तो अविश्वास र गुटको मानसिकताले पार्टीका तल्ला तह र कमीटीहरुमा कस्तो प्रभाव पर्ला, यो चिन्ताको विषय बनेको छ । गत पुसमा नै केन्द्रिय समितीको बैठकले एकीकरको खास मोडालिटी सहित काम गर्न भनेर बनाएको कार्यदलले समयमा काम गर्न नसकेपछि सम्पूर्ण जिम्मेवारी सचिवालयले गर्ने गरि कार्यदल भंग गरिएको थियो । बाँकी सम्पूर्ण काम अध्यक्ष द्वयले नै गर्ने भने तापनि सचिवालयका अन्य नेताहरुसँग छलफल नगरिएकोमा पार्टीभित्र तिब्र असन्तुष्टी बढेको अवस्था छ । यसले न त एकीकरण सहज बनाएको छ, न त सरकार संचालनमा थप बल पुगेको छ । सबै जसो शिर्ष नेताहरु नै पार्टी र सरकारबिचको सम्बन्धलाई लिएर बढी आलोचक देखिन्छन् भने प्रधानमन्त्रि बेपर्वाह र बेखवरजस्तै देखिएका छन् ।

यस्तो अवस्थाको पार्टी र सरकारले मुलुकमा के समृद्धीको जग बसाउला र जनताले के अपेक्षा गर्ने ? पार्टी र सरकारप्रती आमजनता र नेता कार्यकर्ताको बढ्दो निराशालाई तत्काल सम्बोधन हुने गरि अघि नबढ्ने हो भने पार्टी र सरकार नै तहस नहस हुने अवस्था नआउला भन्न सकिदैन । सत्तारुढ दलको त यो अवस्था छ भने प्रमुख प्रतिपक्षको यो भन्दा पनि कम छैन । तेह्रौं महाधिवेसनबाट पार्टी सभापतिमा निर्वाचित हुदै गर्दा शेरबहादुर देउवाको पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने, कसैलाई काखा र कसैलाई पाखा नगर्ने, सधैभरी ठूलो पार्टी रहिरहने भन्ने उद्घोष आजसम्म आइपुग्दा कांग्रेसका यि कुनै पनि प्रगती देख्न सकिएन, बरु उल्टो विभिन्न गुट उपगुट र शक्ति संघर्षले कांग्रेसलाई जेल्दै लगेको अवस्था छ । देउवा सिङ्गोपार्टीको सभापती बन्न नसक्दा पार्टीभित्र विभिन्न शक्ति समुहहरुको उदय भएको देखिन्छ ।

सबै आ–आफ्ना क्याम्प निमार्णमा व्यस्त रहँदा कुनै जमानाको बाघ कांग्रेस अहिले आएर स्यालजस्तो अवस्थामा पुग्नु कांग्रेसका लागी सुखद भने पटक्कै होईन । ५१ जिल्लाका पार्टी सभापतीहरु देउवाका निर्णयविरुद्ध उभिनुले कांग्रेसभित्रको आन्तरिक किचलो छताछुल्ल भएको छ । जिल्ला सभापतीहरुको भेला र चुनौतीको सामना गर्न देउवा तयार छु भन्ने अवस्था कांग्रेसमा देखिनु आश्चर्यको विषय अब रहेन । यसबाट के अनुमान लगाउन सकिन्छ भने, अवको कांग्रेस भनेको गुटविहिन अवस्थाको नहुने र गुटविहिन कांग्रेसको कल्पनासम्म पनि गर्न नसकिने रहेछ भन्ने संदेश कांग्रेस नेताहरुले दिएका छन् । खुल्लारुपमै एक अर्काविरुद्ध वाकयुद्धमा उत्रिनु कांग्रेसमा अब नौलो कुरो भएन । गाउ, नगरदेखि नै प्रतिनिधी चुनिएर आउनुपर्ने एउटा सुन्दर प्रजातान्त्रिक परिपाटीको विरुद्धमा बहुमत केन्द्रिय सदस्य उभिनुले कांग्रेस के भएछ, अनुमान लगाउन गाह्रो छैन ।

बीपी, सुवर्ण शमसेर, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादको अवसानपछि कांग्रेस सिङ्गो पार्टीभन्दा पनि पक्ष विपक्षको भागबण्डा र मोर्चामा विभाजित बनेको छ । दिवंगत नेताहरुले बनाएको कांग्रेस जिवित नेताहरुले भागबण्डा लगाएर कांग्रेसको आन्तरिक शक्तिलाई हुर्मत लिएका छन् । त्यो बेलाको कांग्रेस विचार सिद्धान्त दर्शनका आधारमा चलायमान हुन्थ्यो भने आजको कांग्रेस कम्युनिष्टको एउटा सानो चुनाबी नाराले पनि थर्कमान भएको छ । अर्को चुनाबमा त हामै्र पालो हो नि भनेर पालो पर्खी बस्नुबाहेक अहिलेको कांग्रेसबाट अरु केही अपेक्षा नगरे पनि भयो । कुनै पनि हालतमा आफ्नो कार्यकाल लम्ब्याउने र पार्टीमा कब्जा जमाइराख्ने प्रवृत्ति देउवामा बलियोरुपमा रहेको देखिन्छ भने त्यसका विरुद्ध मोर्चाबन्दी गर्ने मनसायमा कोइराला, पौडेल र सिटौला देखिनुले कांग्रेसभित्रको किचलोले सकुसल अवतरण लिनेमा शंका उत्पन्न भएको छ । पौडेल र देउवा विच ६०÷४० को भागबण्डा लगाउदा सिटौला भने न यता न उताको अवस्थामा देखिएका छन् । फेरी आफु त्यत्रो शक्तिसाली गुट पनि होइन ।

विभिन्न सार्वजनिक कार्यक्रमहरुमा प्रधानमन्त्रिले कांग्रेसका बारेमा दिएका अभिव्याक्ति खोइ कांग्रेस कहाँ छ, विचरा कांग्रेस, प्रतिपक्ष नै छैन भन्ने जस्ता अभिव्यक्ति कांग्रेस संगठनमा साँच्चै हो की भनेजस्तो भएको छ । चुनाबी हारपछिको जस्तो रुपको कांग्रेस मतदाताले देख्न चाहेका थिए, त्यस्तो देखिन नसक्नु कांग्रेसका लागी अर्काे हार हो । एजेन्डाविहीन, दिशाविहीन, संस्कारविहीन र अडानविनाको कांग्रेसले झन्डै दुई तिहाइको सरकारलाई खै के खबरदारी गर्ला ? अहिले जनता न सत्तापक्षभित्रको किचलो सुन्न चाहन्छन्, न त प्रतिपक्षको नै । अहिलेको राष्ट्रिय आवश्यकता पनि सत्तापक्ष र प्रतिपक्ष आन्तरिकरुपमा एकढिक्का भई राष्ट्रिय स्वार्थका विषयमा अघि बढ्ने हो । विकास र समृद्धीको बाटोमा मुलुकलाई अघि लैजाने हो । आफु रहेको स्थानबाट आफ््नो सान्दर्भीकतालाई मुलुकको हीतमा प्रमाणित गर्ने हो, नकि आन्तरिक किचलो र गुट उपगुटमा विभाजित हुने ।

 

प्रतिक्रिया दिनुहोस्