श्रीलंकाका प्रधानमन्त्रीद्वारा सुरक्षा निकायमाथि रोष प्रकट



काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमासिंघेले सुरक्षा निकायमाथि छानबिनको माग गरेका छन् । प्रधानमन्त्री बिक्रमासिंघेले आइतबारको आक्रमण बारे पहिल्यै प्राप्त सूचनाको आधारमा सुरक्षा निकायले कारबाही प्रकृया अघि नबढाएको आरोप लगाउनु भएको छ । यो बिषयमाथि छानबिन गरिनु पर्ने उनले माग गरेका छन् ।

टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बिक्रमासिंघेले प्राप्त पूर्व सूचनाबारे आफू लगायत मन्त्रीहरुलाई सुरक्षा निकायले जानकारी नदिएको गुनासो पोखे । उनले अबको प्राथमिकता दोषीमाथि कारबाही गर्ने रहेको उल्लेख गरे ।

श्रीलंकाका एक जना मन्त्री हरिन फर्नान्डोले नाम गोप्य राखेर एउटा समूहले आक्रमण गर्ने सूचना दिएपनि सम्भावित घटनाबारे राष्ट्रपति मैत्रिपाला श्रीसेनाले सरकारलाई सूचना नदिएको बताए । सूचना लुकाएको आरोप राष्ट्रपति श्रीसेनामाथि लगाइए पछि श्रीलंकाको बिक्रमासिंघे सरकार र राष्ट्रपति मैत्रिपालाबीच तिक्तता बढ्नुका साथै आरोप–प्रत्यारोप शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

श्रीलंकाको प्रहरीले २४ जना सन्दिग्ध व्यक्तिहरुलाई गिरफ्तार गरे पनि आक्रमणकारीको पहिचान गर्न सकेको छैन । आईतबार श्रीलंकामा भएको श्रृङ्खलाबद्ध बम बिसफोटनमा परेर ३५ जना बिदेशीसहित २ सय ९० जनाको मृत्यु भइसकेको छ भने ५ सय भन्दा बढी घाइते भएका छन् । घटना पछि अफवाह फैलाएको भन्दै श्रीलंका सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । आइतबार लगाइएको कफ्र्यू भने सोमबार बिहानैदेखि हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्