‘राजा फाल्ने’ आन्दोलनकारी राजसंस्था विकासको बाटोमा



हेटौंडा ।
विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलिपल्ट एक नेता आइतबार परिवारसहित राप्रपा प्रवेश गरेका छन् ।
पक्राउ परेका राजकुमार कँुवरसहित अन्य ६ जना राप्रपा प्रवेश गरेका हुन् । राप्रपा मकवानपुर कार्यालयमा भएको कार्यक्रममार्फत् भगवती कुँवर, अञ्जना कुँवर, कञ्चन कुँवर, बद्री कुँवर, रुपा कुँवर र बिनोद कुँवर राप्रपा प्रवेश गरेका हुन् ।

स्थानीय निकायको चुनाबमा समेत पक्राउ परेका कँुवर फागुनमा घरमा बसिरहेको बेला प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्धा दायर गरेको थियो । उहाँलाई शुक्रबार जिल्ला अदालतले २७ दिनपछि १० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।

राजनीति नगरी बस्दा राज्यले जहिले पनि पक्राउ गर्ने गरेकोले आफूलगायत परिवारको सुरक्षा राप्रपाले मात्र गर्ने भएकोले राप्रपाको झण्डामुनि आएको कँुवरले बताउनुभयो । आफू केही वर्षअघि पक्राउ पर्दा राप्रपा केन्द्रीय अध्यक्ष कमल थापाले संरक्षण तथा रिहाइमा सहयोग गरेको स्मरण गर्दै उहाँले आफूहरुको सुरक्षा राप्रपाले गर्ने बताउनुभयो ।

जनयुद्ध हुँदै २०६२ सालमा ‘राजा फाल्ने’ जनआन्दोलनमा सक्रिय कुँवर राजसंस्था विकासको बाटोमा लाग्ने प्रतिवद्धता गर्दै राप्रपामा प्रवेश गर्नुभएको हो । ‘चुपचाप आस्था राखेको र काम गरेको बेला बस्दा पनि आस्थाका कारण पटकपटक राज्यले गिरफ्तार गर्ने गरेका कारण परिवार र समाजमा स्थापित हुन असहयोग भएकोले राप्रपा प्रवेश गरेको हुँ,’ कुँवरले भन्नुभयो ।

राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारीले राप्रपाले सबैको संरक्षण र सुरक्षा गर्ने बताउनुभयो । सरकारले विप्लवलाई प्रतिवन्ध लगाउनु दुर्भाग्य रहेको भन्दै उहाँले सरकारले यस्ता रवैया अन्त्य गर्नुपर्ने बताउनुभयो ।
राप्रपा अध्यक्ष अधिकारीले टीका तथा खादा लगाएर उहाँहरुलाई पार्र्टी प्रवेश गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्