लायन्सको चुनावी अभियानमा तिब्रता, क्लबमा मताधिकार लिन रस्साकस्सी



टंकराज अधिकारी, पोखरा ।
बैशाख १३ र १४ गते पोखरामा हुन लागेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनको मिति नजिकिएसगै उम्मेद्धारहरुले आफ्नो चुनावी अभियानलाई तिब्र बनाएका छन् । बिशेष गरी सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि २ जना उम्मेद्धार बिच प्रतिश्पर्धा हुने भए पछि चुनावी अभियानले तिब्रता पाएको हो ।

बिशेष गरी सबैको चासोको रुपमा डिष्ट्रिक्टको सेकेण्ड भाइस गभर्नर नै को हुने भन्ने रहेको छ । सेकेण्ड भाइस गभर्नर पदमा पोखराका ध्रुव श्रेष्ठ र विश्वेश्वर आचार्य चुनावी मैदानमा खरो रुपले उत्रिएका छन् ।
उम्मेद्धारद्धय श्रेष्ठ र आचार्यले आ–आफ्ना सहयोगिका साथमा चुनावी अभियानलाई तिब्रता दिईरहेका छन् । दुवैले लायन्स क्लब तथा लायन्स सदस्यहरुका बिचमा प्रचार प्रसार गरीरहेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव लगाएतमा पक्ष र बिपक्षमा बहस गर्दै चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

सातौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरेका ध्रुव श्रेष्ठ ४२ वर्ष देखि लायन्समा प्रवेश गरेका हुन । डिष्ट्रिक्टको लायन वर्ष २०१८÷१९ का चिफ डिष्ट्रिक्ट एडभाइजर रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् ।

यसै गरी सेकेण्ड भाइस गभर्नरका अर्का उम्मेदवार विश्वेश्वर आचार्य २० वर्ष अगाडि लायन्समा प्रवेश गरेका हुन । उनले लायन्सको क्याबिनेट सेक्रेटरी लगायत विभिन्न जिम्मेवारी बहन गरेका छन् । उनी लायन्स क्लब अफ पोखरा सेन्ट्रलका पुर्व अध्यक्ष हुन् ।

महाधिवेशनबाट आगामी बर्ष ०१९।२० को लागि डिष्ट्रिक गर्भनर पदमा वर्तमान प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल र प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदमा हालका द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोका बन्ने छन ता पनि हलबाट एस भोट भने लिनु पर्ने हुन्छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ । डिष्ट्रिक्टको नेतृत्व डिष्टिक्ट गर्भरबाट हुने गर्छ भने उत्तराधिकारीको रुपमा प्रथम र द्धित्तिय भाईस गर्भनर रहेने प्रावधान रहेको छ ।

महाविधेशनको मिति नजिकिएसँगै क्लब तथा लायन्स लिडरहरु पनि पक्ष बिपक्षमा खुल्ने क्रम जारी रहेको छ । पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन, पूर्व डिष्ट्रिक्ट गर्भनर देखि डिष्ट्रिक्टका सबैजसो लायन लिडरहरु पक्ष बिपक्षमा खुलेर आ–आफ्नो पक्षका उमेद्धारलाई भोट मागेका छन् भने कतिपयले गोप्य रुपमा लविङ समेत गरिरहेका छन् । बर्षै पिच्छे भईरहेको दुई पक्ष बिचको चुनावले लायन्स भित्र बिभाजन ल्याएको स्पष्ट देखिएको छ ।

चुनावका कारण नेतृत्वमा मात्रै होइन क्लबहरुमा नै यसको असर देखिएको छ । प्रायः क्लबमा रहेका सदस्यहरुकै बिचमा मतविभाजन मनमुटाव देखिएको पाईएको छ । बिशेष गरी चुनावका लागि प्रत्येक क्लबबाट १० जना सदस्य बराबर एक भोट १५ सदस्य बराबर २ भोट रहने व्यवस्था रहेको कारण प्रायजसो क्लबमा मताधिकार लिन रस्साकस्सी परेको स्वयं लायन्स सदस्यहरु बताउछन् । चुनावका कारण लायन्समा पनि राजनीति हावी भयो भन्ने गुनासो पनि बढेको छ । निस्वार्थ भावले लायनवादमा लागेका सदस्यहरुमा पनि नैराश्यता छाएको पाईएको छ । अझैपनि पोखरेली लायन्सहरुको चाहना चुनाव भन्दा सहमती र समझदारीमा गएर नेतृत्व चुन्न पाइयोस भन्ने नै रहेको देखिन्छ ।

नेपालको सेवा प्रदायक समाजिक संस्थामा सबैभन्दा ठुलो र फैलिदै गएको संस्थाको रुपमा लायनवाद रहेको पाईएको छ । बिगतका बर्षहरुदेखि नेपालमा लायनवादको बिकासको गति अत्यन्तै तिव्र रहेको छ । दुई वटा डिष्टिक्टबाट ४ वटा त्यस्तै लायन्स क्लब र सदस्य संख्यामा पनि निरन्तर बृद्धि रहेको छ । यो विस्तारबाट संगठन बिस्तारमा सघाउ अन्र्तराष्ट्रिय सहयोगमा बृद्धि असिमित संभावनाका ढोकाहरु र नेतृत्वमा थप अवसर सृजना हुन्छ ।

अहिले डिष्टिक्ट ३२५ बी १ मा ११ हजार दुई सय बढी लायन्स सदस्य र ३ सय ६९ क्लब रहेका छन भने थपिने क्रम जारी छ । एउटा डिष्ट्रिक्ट बन्नलाई १ हजार २ सय ५० सदस्य ३५ वटा क्लब भए पुग्छ । चांडै नै डिष्टिक्ट वाइफर्गेसनमा जानुपर्नै अधिकांश नेतृत्वमा जान चाहने लायन्स लिडरहरुको भनाई रहेको छ । बाईफर्गेशनले संगठन बिस्तारमा सघाउ पुग्ने, अन्र्तराष्टिय सहयोगमा बृद्धि, असिमित संभावनाका ढोकाहरु र नेतृत्वको अवसरबाट हामी किन चुक्ने भन्ने रहेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्