थ्रीस्टारले जित्यो राजर्षि जनक कप



पुष्पा थापा, सर्लाही

सर्लाहीको बाग्मतीमामा भएको तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्रीस्टार क्लबले जित्दा आयोजक टोली बाग्मती युवा क्लब निरास भएको छ।
शुक्रबार भएको फाइनल खेलमा ललितपुरको थ्रीस्टारले बाग्मतीलाई २–१ ले हराएको हो। यो जितसँगै थ्रीस्टारले १० लाख नगद पुरस्कारसमेत हात पार्यो। उपविजेतामै चित्त बुझाएको बाग्मती ५ लाख नगद पुरस्कारमै सीमित भयो। पहिलो हाफमा बराबरी सकिएको खेलमा ६४औं मिनेटमा बाग्मतीका विदेशी खेलाडी एकेने क्रिस्टियनले गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसको एक मिनेटपछि नै थ्रीस्टारले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए। बाग्मतीका खेलाडीले थ्रीस्टारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो। रेजिन धिमालले पेनाल्टी सदुपयोग गरेका थिए। १–१ को बराबरीमा अघि बढिरहेको खेलमा दुई मिनेट थपिएको इन्जुरी समयमा थ्रीस्टारका खेलाडीले प्रहार गरेको बल रोक्न नसक्दा आयोजक बाग्मतीले उपविजेतामै चित्त बुझाउनुपर्यो। मांसाको पासमा सुशील राईले गोल गरेर थ्रीस्टारको उपाधि पक्का गरेका थिए।

प्रतियोगितामा विभिन्न विधामा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी, ४ गोल गर्ने सुशील राई सर्वोत्कृष्ट गोलकर्ता र मिडफिल्डर विक्रम लामा उत्कृष्ट घोषित भए। त्यस्तै बाग्मतीका एकेने क्रिस्टियन उत्कृष्ट डिफेन्डर र अरूण तामाङ उत्कृष्ट गोलरक्षक घोषित भएका थिए।

फाइनल खेलमा बाग्मतीका विजय लामा म्यान अफ दि म्याच घोषित भएका थिए। सर्लाहीबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने बाग्मतीका सगुन राईलाई बाग्मती राइजिङ दि एयर प्लेयर्स घोषणा गर्दै एक थान मोटरसाइकल प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्