चन्द्रकलाको अर्को कीर्तिमान



कविरस शर्मा/ कुमार श्रेष्ठ, बाँके

न्द्रकला लामगाडेले नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुदमा अर्को राष्ट्रिय कीर्तिमान रचेकी छन्। आठौंअन्तर्गत ४४औं राष्ट्रिय एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकलाले शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरिन्।

दाङको बेल्झुण्डीमा भइरहेको प्रतियोगितामा चन्द्रकलाले ४४ दशमलज ५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानलाई पछाडि पारिन्।

एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा उनले सो इभेन्टमा ४३ दशमलव ९४ मिटरको कीर्तिमान राखेकी थिइन्। उनले अघिल्लो दिन पनि सटपुटमा आफैंले बनाएको कीर्तिमान तोेड्दै नयाँ कीर्तिमान बनाएकी थिइन्। चन्द्रकलाले स्वर्ण जित्दा नेपाल आर्मीकी लक्ष्मी थारूले रजत र नेपाल एपीएफकी सीमाकुमार थारूले कांस्य पदक हासिल गरे।

उक्त स्पर्धामा पुरुषतर्फ आर्मीका रोहित चौधरी पहिलो भए। उनले ५६ दशमलव ५८ मिटर दूरी टाढा फालेर स्वर्ण जिते। एपीएफका मनोज डगौरा रजत र प्रहरीका वीरेन्द्र चौधरी कांस्यमै चित्त बुझाएका थिए। पुरुष लङजम्पमा आर्मीका डिल्ली खत्रीले ६ दशमलव ९६ मिटर हामफालेर स्वर्ण सुरक्षित गरे।

यस्तै प्रदेश–३ का भुवन महतोले रजत र प्रहरीका गोपाल चौधरीले कांस्य पदक हासिल गरेका थिए। त्यसै स्पर्धाको महिलामा ५ दशमलव २१ मिटर उफ्रेर आर्मीकी कृष्णा चौधरीले स्वर्ण जितिन्। एपीएफकी शिला चौधरीले रजत र प्रदेश–५ की जयरानी चौकरीले कांस्य पदक प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्