पुटिनसँग वार्ता गर्न उत्तर कोरियाली नेता किम रुस जाने



मस्को, (एजेन्सी)
उत्तर कोरियाका नेता किम जोङ उनले यसै महिना रुसको भ्रमण गर्ने र राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठक गर्ने जनाइएको छ।

किमको यस यात्राले परमाणु निशस्त्रीकरणमा आइरहेको गतिरोधमा पुटिनलाई मध्यस्थता गर्ने अवसर प्राप्त हुने र क्षेत्रीय मामिलामा रुसको भूमिका माथि उठ्न सक्ने अनुमान गरिएको छ।

रुसी राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटमा भ्लादिमिर पुटिनको आमन्त्रणमा किम जोङ उन अप्रिलको दोस्रो हप्तामा रुस यात्रामा आउने उल्लेख गरेको छ।

यद्यपि भ्रमणका विषयमा विस्तृत जानकारी दिएको छैन। यो घोषणा उत्तर कोरियाले आफूले एक शक्तिशाली हतियार परीक्षण गरेको घोषणा गरिरहँदा भएको हो। यस परीक्षणले अमेरिकासँगको परमाणु निशस्त्रीकरणलाई लिएर उत्तर कोरियाको वार्ता भाँडिन सक्ने सम्भावना बढेको छ। दुई नेताहरूबीचको भेटवार्तालाई लिएर विगत केही समयदेखि रुसका सञ्चार माध्यमले अनुमान गरिरहेका थिए। पुटिन यसै महिना चीन भ्रमण गर्ने तयारीमा छन्। यसबीच उनले उत्तर कोरियासँगको सीमामा पर्ने सुदूरपूर्वी शहर भ्लादिभोस्टकमा किमसँग भेटवार्ता गर्न सक्ने अनुमान गरिएको छ।

किमले गत हप्ता आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार रहेको तर सम्झौताका लागि स्वीकार्य सर्त प्रस्तुत गर्न वासिंगटनसमक्ष यसै वर्षको अन्त्यसम्मको समय सीमा रहेको बताएका थिए।

सोभियत कालमा मस्कोको उत्तर कोरियासँग नजिकको सम्बन्ध थियो। त्यतिबेला रुसले उत्तर कोरियामा कयौं कारखाना निर्माण र आधारभूत संरचनाको विकास गरेको थियो। साथै उत्तर कोरियाली सेनालाई उसले आवश्यक हतियार पनि उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस्