कवर्डहलको माछापोखरी पालनः ६५ करोड बढिको खेलकुद रंगशाला धक्कामा



मनोज भट्ट, महेन्द्रनगर ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरकोे जग्गामा वि.स. २०७२ मा माछा पोखरी निमार्ण गरियो । दश वर्षसम्मका लागि माछा पोखरी सञ्चालन गर्न दिनेगरि मदन क्षेत्री र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेरबहादुर चन्द बिच सहमति भयो । लगभग ५ बिगाह जग्गा माछा पोखरीका लागि भाडाँमा दिँदा खेलकुदलाई दुई लाख पचास हजार आम्दानी हुँने भयो ।

जिल्ला खेलकुद विकास समितिको जग्गा अर्थात कवर्डहलमा माछा पोखरी सञ्चालन गर्दा खेलाडीहरुका लागि खेल मैदानको अभाव समेत भयो । जिल्ला खेलकुद विकास समितिसंग भएको आफ्नै जग्गा भाडामा दिएपछि खेल मैदानको अभावमा खेलाडीहरु खेल्नबाट बञ्चित हुने अवस्थामा पुगे ।

विभिन्न समयमा हुँने खेल प्रतियोगितामा आफ्नो ५ बिगाह जग्गा माछापोखरी र २ बिगाह जग्गा यातायात कार्यालयलाई भाडामा दिदा खेलाडीहरुलाई खेल खुल्ला मञ्च अर्थात अन्य मैदानहरुमा खेलाउनु पर्ने बाध्यता रहेको छ । खेलकुद संग प्रर्याप्त जग्गा हुँदा हुँदै पनि सदुपयोग गर्न नसक्दा समस्या देखिन थालेको छ । खेलकुदसंग २२ बिगाह जग्गा रहेको छ ।

माछापोखरी प्रति समिति आफै मौन
दुईपक्षिय सहमतिअनुसार खेलकुद विकास समितिले भाडामा दिएको कबर्ड हल क्षेत्रको जमीन आफूलाई चाहिएको अवस्थामा खाली गर्न सक्ने सहमति गरेको छ । सहमति अनुसार खेलकुदलाई चाहिएको अवस्थामा ६ महिना अगाडि लिखित पत्र दिनुपर्ने हुन्छ । जिल्ला खेलकुद विकास समितिका अनुसार महेन्द्रनगरको कबर्ड हलमा ६५ करोड २५ लाख बराबरको अन्तराष्ट्रिय स्तरको खेलकुद रंगशालाका लागि डिपिआर तयार भएको छ । जसका लागि खेलकुद विकास समितिलाई जमीनको आवश्यकता छ । तर उक्त संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा खेलकुद विकासले भाडामा दिएको छ ।

उक्त जमीन खाली गर्नका लागि जिल्ला खेलकुद विकास समितिले अहिलेसम्म माछा पालन गरिरहेका मदन क्षेत्रीलाई कुनै आधिकारिक सूचना जारी गरेको छैन । ‘मौखिक कुरा भएको छ, हालका दिनसम्म जमीन खाली गर्नुहोस् भनेर कुनै आधिकारिक पत्र आएको छैन ।’ मदन क्षेत्रीले भने । यहाँ बन्ने रंगशालाले यस क्षेत्रको खेल विकासमा सहयोग गर्ने प्रशस्त आधार रहेका बेला त्यसका लागि खेलकुद विकास समिति जमीन खाली गराउनमा मौन रहेको देखिन्छ ।

९४ सटर निमार्णमा लापरबाहीको संकेत
कवर्डहलको उत्तर, दक्षिण र पुर्वतिर गरेर ९४ ओटा सटरहरु निर्माणका लागि ११ सदस्यीय उपभोक्ता समिति समेत गठन गरिएको छ । उक्त समितिका अध्यक्ष दानसिंह ठकुराठी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेरबहादुर चन्दले बताए । गत वर्षको फागुन महिना देखि नै सटर निमार्णको कार्य हुनुपर्ने भएतापनि हाल सम्म निमार्ण कार्यले तदारुक्ता पाएको छैन् ।

प्रति सटर आठ लाखका दरले निमार्ण खर्च लाग्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समिति, कञ्चनपुरका कार्यालय प्रमुख गोपाल भट्टले बताए । सटर निमार्णको जिम्मा उपभोक्ता समितिलाई दिइएको तर त्यस निमार्ण कार्यको अनुगमन भने खेलकुदले नै गर्ने अध्यक्ष चन्दले बताए । उक्त निमार्ण हुने भनिएका ९४ सटर, उपभोक्ताहरुको आन्तरिक विवाद र समितिको लापरबाहीले गर्दा हुन नसकेको स्रोतले बताएको छ ।

अख्तीयारी रकम आयो, तर निमार्णको सुईको छैन्
महेन्द्रनगरको कवर्डहलमा अन्तराष्ट्रिय क्रिकेट एकेडेमी निमार्णकालागि ६५ करोड २५ लाखको डिपीआर भएको छ । उक्त एकेडेमीका लागि प्रदेश सरकारले १० लाखको अख्तीयारी पत्र समेत पाएको छ । रकम जिल्ला खेलकुद विकास समितिको खातामा समेत आएको अध्यक्ष चन्दले बताए ।

खेलकुद विकास अन्तरगत नै कञ्चनपुरको पुनर्वासमा ६ बिगाह जग्गामा मिनि कवर्डहल निमार्णका लागि समेत प्रदेश सरकारले नै १० लाख रकम पढाएको छ । अख्तीयारी रकम जिल्ला खेलकुद विकास समितिको लखातामा आए पनि मिनी कवर्डहल र क्रिकेट एकेडेमीको निमार्ण कार्यको कुनै संकेत देखिएको छैन् ।

अख्तीयारी रकमले निमार्ण कार्य वर्षौ–वर्ष लम्बिने भएकाले आफुहरुले त्यो सानो रकमको लोभमा आयोजनालाई वर्षौ लम्ब्याउँन नचाहेको अध्यक्ष चन्दले बताए । समय जे जती लागे पनि अन्तराष्ट्रिय क्रिकेट एकेडेमीलाई बहुवर्षीय आयोजनामा हाल्नु पर्ने भएको हुनाले ढिलाई भइरहेको अध्यक्ष चन्दको भनाई छ । उक्त कार्यको मन्त्रालयमा समेत खबरदारी र सदस्य सचिवबाट सहमतिका लागि प्रयास भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्