‘जहाँ सिंगो नेपाल हुन्छ त्यहाँ राजारानी हुन्छ’ अहिले पनि राजसंस्थाको झझल्को



दामोदर पौडेल
चैत्र महिनाको अन्तिम हुँदै गर्दा बारा जिल्लाको समर्पण एफएमले ‘जहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ’ भन्ने बोलको गीत प्रसारण ग¥यो । कहिल्यै राजतन्त्रप्रति सकारात्मक सोच नभएको र यो दास युगबाट सामान्ती युग हुँदै विकसित भएको संस्था भएकाले समानताको विरोधी संस्था राजतन्त्र पनि हो भन्ने मेरो मनमा रहेको छाप अहिले पनि कायम छ । किन राजसंस्था नभएको देशमा एफएममा यससम्बन्धी गीत प्रसारण भयो त भन्ने सवाल उठ्नु अस्वाभाविक कुनै पनि आधारमा हुँदैन ।

मलाई आदरणीय व्यक्तित्व रामराजा प्रसाद सिंहले व्यक्त गरेको स्मरण आज पनि ताजा लागिरहेको छ । रामराजाको शायद दिल्लीमा बीपीसँग भेट भएको रहेछ । बीपी उपचार गर्दै रहेछन् । रामराजा प्रसादलाई बीपीसँग भेट्ने अवसर मिलेछ । कुराकानीको क्रममा बीपीले रामराजा प्रसादलाई भनेछन् कि तपाईंलाई म राजावादी हुँ भन्ने भ्रम छ । राजा र मेरो घाँटी जोडिएको छ भन्ने बीपीको अभिव्यक्तिले उनी राजावादी थिए भन्ने मान्न कुनै भ्रम राख्नुपर्ने जस्तो पनि दखिँदैन । तर यथार्थ भने फरक छ भन्ने रामराजाप्रसाद सिंहसँग बीपीको कुराकानीले नै देखिएको छ । सम्भवतः रामराजाप्रसाद सिंहले नयाँ बानेश्वरको दक्षिणमा रहेको घरमा बसेर यो कुरा भनेको जस्तो लाग्छ । त्यति बेला त्यो शायद खेमराज मायालु भट्टको डेरा थियो ।

मेरो पनि मनले बीपी राजावादी थिए भन्ने मान्दै मान्दैन । यसको सबैभन्दा प्रमुख कारण, उनको एक भनाइका माध्यमबाट आएको धारणाभन्दा पनि उनी समानता र मानवतावादी थिए, उनी जहिले पनि नयाँ विचार र तर्कलाई आत्मसात् गर्न तयार हुन्थे । यो नै उनी राजतन्त्रवादी थिएनन् भन्ने बलियो पक्ष हो ।

उनलाई भारतीय कांग्रेसको नेपालप्रतिको मिचाहा प्रवृत्ति, सिक्किमले राजसंस्था हटाएर भारतमा विलय गराएको तथा नेपाललाई भारतमा सन् २०१८ सम्ममा (शायद) मिलाउने भन्ने मन्त्रिपरिषद्बाटै गराएको निर्णयसमेतले भारतप्रति अविश्वास थियो । कांग्रेसको भारतमा स्थायी विकल्प नदेखिएकोले पनि कांग्रेस भारतमा एकछत्ररुपमा रहेसम्म नेपाललाई भारतबाट खतरा भएको जहिले पनि उनलाई महसुस थियो । भारतले आफ्नो स्वार्थको लागि र नेपालको सार्वभौम सत्तालाई अन्यथा गर्नको लागि कहिले कांग्रेस, कहिले कम्युनिस्ट र कहिले राजालाई प्रयोग गरिरहेको हो । शायद भाजपाको उदय हुँदासम्म नेपालमा बीपी रहेको भए उनले राजसंस्थाको वकालत गर्ने थिएनन् । किनभने भाजपा नेपालमा सनातनदेखि चलिआएको धर्म र संस्कृतिको मात्र संरक्षण चाहन्छ । उनको व्यक्तित्वले भाजपालाई सम्झाउन पनि सक्थ्यो । हुन पनि राजनीति विज्ञान र कला दुवै हो ।

नेपालमा राजसंस्था जानुको प्रमुख कारणमा राजाले कम्युनिस्ट–कांग्रेसलाई रणनीतिक मित्र मानेर समयअनुसार उपयोग गर्न नसक्नु नै हो । राजाको लागि कांग्रेस र कम्युनिस्ट कुनै पनि आफ्ना बन्न सकेनन् । राजाले कहिल्यै पनि दलहरुलाई मिलाएर देश र विकासको लागि एक भएर हिँड्नुपर्छ भन्ने सन्देश दिन चाहेनन् । राजसंस्थाको लोकतान्त्रिक हैन, तानाशाही चरित्रलाई नै मलजल दिइरहे ।

नेपालमा राजसंस्था जानुको प्रमुख कारणमा राजाले कम्युनिस्ट–कांग्रेसलाई रणनीतिक मित्र मानेर समयअनुसार उपयोग गर्न नसक्नु नै हो । राजाको लागि कांग्रेस र कम्युनिस्ट कुनै पनि आफ्ना बन्न सकेनन् । राजाले कहिल्यै पनि दलहरुलाई मिलाएर देश र विकासको लागि एक भएर हिँड्नुपर्छ भन्ने सन्देश दिन चाहेनन् । राजसंस्थाको लोकतान्त्रिक हैन, तानाशाही चरित्रलाई नै मलजल दिइरहे । पश्चिमा राष्ट्र र समाजले नेपालमा आफ्नो प्रभाव राख्न चाहेकाले त्यसको समेत प्रभावलाई कम गर्नुपर्ने कुरा आत्मसात् गरी राजाले दलहरुलाई सकेसम्म छिटो मिल र मलाई विवादमा नतान भन्ने सन्देश दिइरहनुपर्ने थियो । राजा त दलहरुलाई विवादमा फसाएर गोरु जुधाइको काम गर्न थाले । गोरु जुधाउने र टिकटको पैसाले मोजमस्ती गर्ने गरे । बेलायतमा राजसंस्था गयो र पुनः आयो । राजाहरुले तलव नै नलिएको पनि देखिएको छ ।

कर छुट र दरबार हेर्नको लागि टिकटको व्यवस्था गरेर नै प्रशस्त पैसा उठ्छ । यसले दरबारलाई सम्पूर्ण खर्च पुग्छ । तर ज्ञानेन्द्र राजा हुनासाथ दरबारको खर्च लगभग १० करोडबाट लगभग ६० करोड बनाए । त्यो कार्य विवादित भयो । यसको मुख्य रहस्य अर्कै थियो । त्यसको स्पष्टीकरण दिने कार्य पनि दरबारबाट हुन सकेन । यो समेत धेरै प्रक्रियाले के देखाउछन् भने, राजहरुको नजिकका भनेका राजाहरुले भनेकोमा हाँमा हाँ मिलाउनेहरु नै बढी हुन्छन् । दिमाग भएकालाई राजाले विवाद गरेको सम्झेर र आफ्नो भनाइ नमानेको सम्झेर टाढा राख्ने गर्थे । राजासँग धेरै ठूला भनिएकाहरुको पनि अवस्था दाम चढाउने र जयजयकार नै गर्नेमा बढी केन्द्रित हुने रहेछ । असल र इमानदार तथा धार्मिक वयक्ति प्रजापति कोइराला मेरा मित्र पनि हुन पुगेका थिए । उनी नारायणी अञ्चल प्रशासक हुँदा उनलाई मेले यी सबै कुरा भन्नको लागि राजासँग भेट गराइदिन भनें तर उनले कठिनाइ बताए । आदरणीय मित्र प्रजापति कोइराला कांग्रेससँग यति विमति राख्थे कि कांग्रेसमा कोइरालाहरु हाबी भएकोमा कोइराला थर नै हटाएर लामिछाने थर राख्न चाहेकोमा नमिल्ने भएर कोइराला नै रहेको बताउँथे । त्यस्ता व्यक्तिले राजासँग देश, समाज र राजाका बारेमा प्रस्ट कुरा राख्न सक्दा रहेनछन् । यसबाट राजाले धेरै सिकेका र सिक्न चाहेका रहेनछन् भन्ने देखिन्छ ।

बारा जिल्लाको सिमरामा प्रभु निवास भन्ने पनि छ । त्यहाँ ज्ञानेन्द्रका अनन्य मित्र र असल व्यक्ति प्रभु शाह वा राणा बस्छन् भन्ने सुनेकोमा राजा उनकोमा आएको सुनेर म राजा ज्ञानेन्द्रलाई भेट्न गएँ । राजा भरभित्रै थिए तर राजा नभएको भनेर मलाई भेट गर्न दिइएन । मैले राजालाई देश, समाज, राजसंस्था र दलहरुलाई मिलाएर लाने बारेमा बताउने सोचेको थिएँ । तर मलाई अहिले थाहा हुँदै छ कि राजलाई मैले त्यो भनेको भए राजाको सबैभन्दा ठूलो दुश्मन म पनि हुने रहेछु । नेपालका राजाहरुलाई आफ्नो मनको कुराबाहेकका कुरा र स्वार्थको विपरीत दीर्घकालीन हितकै कुरा भए पनि सुन्न मन लाग्ने रहेनछ । यो परम्परा नै भएको रहेछ । अब ज्ञानेन्द्र केही फरक भए कि ? किनभने मानिस सत्तामा हुँदा दिइने सल्लाहभन्दा सत्ताबाहिर भएका परिस्थिति र कठिनाइमा भएका अनुभवहरुलाई सम्झन्छ र रायहरु सुन्छ । तर त्यही राय सुनी फाइदा लिएर पुनः पुरानो कुरा दोहोरिने अवस्था आएमा जनतामा बाँचेको सम्मान पनि रहँदैन ।

तर कहिलेकाहीँ भने केही भन्न सकिँदैन । अफगानिस्तानमा राजा जाहिर शाहलाई अहिले भएजस्तो नराम्रो नगर्दा नगर्दै पनि हटाइएको थियो । करिब १५ वर्ष पहिला उनलाई पुनः राजा बनिदिन अनुरोध गर्दा उनले अस्वीकार गरे । यद्यपि त्यो अनुरोध औपचारिक भने थिएन । नेपालमा भने राजाको व्यवहारले यो पनि सम्भव हुने देखिँदैन ।

नेपालमा मैले व्यक्तिगत आचरण राम्रो भएर सम्मान गर्ने गरेका पञ्चहरुमा कमल थापा, उत्तम पुन र अर्का कुनै व्यक्ति थिए । तीनजना मण्डलेको नामले उनीहरु प्रख्यात नै थिए । तर उनीहरुको व्यक्तिगत जीवन यति सादा थियो कि उनीहरु चुरोट, रक्सी, जुवा, ताससमेत व्यक्तिगत जीवनमा गर्न नहुने काम गर्दैनथे । त्यही कारणले पनि उनीहरुलाई व्यक्तिगत हुन्थ्यो । गलत राजनीतिक विचार हुनेहरुका पनि राम्रा व्यवहारले उनीहरुको प्रशंसा हुन सक्छ । राम्रो राजनीतिक विचार बोकेका कांग्रेस, कम्युनिस्टहरुले व्यक्तिगत व्यवहार राम्रो गर्ने हो भने देश कति सुन्दर हुने थियो होला । तर आशा नै रहेन । केही असल हुनेहरुको क्षमता नै रहेनछ । ओलीजस्ता असलहरुले काम शुरु गर्ने छेउटुप्पो नै पत्ता लगाउन सकेनन् ।

कमल थापा राजनीतिक चतुर खेलाडी हुन् । उनी पञ्चायत हुँदा बीपीलाई फाँसी दिनुपर्दछ भनेर कराउँदा शायद घाँटी दुखेर धेरैपटक दबाइ खाएका होलान् । अहिले बीपीले पनि राजतन्त्र मान्थे भनेर अलाप गरिरहेका छन् । उनलाई कर्णको कथा नै काफी छ । कर्णले कहिल्यै धर्मको पक्ष लिएनन् । जब युद्धमा मारिने अवस्था आयो तब उनले वाण नचलाउनको लागि धार्मिक कारण बताए । अधर्मीहरुले धर्मको कुरा आफूलाई कठिनाइ हुँदा गर्ने गर्दछन् र तानाशाही सोच हुनेहरुले लोकतन्त्रलाई बदनाम गर्न अलग अवस्थामा गरिएको कुरालाई आफ्नो फाइदाको लागि प्रयोग गर्न खोज्छन् ।

यतिखेर अग्रगमन भनिरहँदा देश र जनताले व्यवहारमा प्रतिगमनजस्तै महसुस गरेका छन् । अर्कोतर्फ हिन्दू राष्ट्र भन्ने विषय राजासँग जोडिएजस्तो देखिने र हिन्दू राष्ट्र हाम्रो पहिचानसमेतको अलग अवस्था भएको देखिएकै छ । यिनै कारणले गर्दा क्रिश्चियन विद्वान् नरेन्द्रजंग पिटरसमेत र धेरै मुसलमान धर्मगुरुहरुले समेत शान्ति र स्वतन्त्रतको लागि हिन्दू धर्मलाई नेपालको धर्म बनाउन उचित मानेको देखिन थालेको छ । राजसंस्था परिपक्व दखिने हो भने यसले देशलाई विघटन र अन्य दुर्घटनाबाट बचाउन सक्छ भन्ने धेरैको मनमा रहन थालेको मैले महसुस गरेको छु ।

यो सघन बहसको विषय बने राम्रो हुनेछ । बीपी राजतन्त्रवादी थिएनन् तर समय सापेक्षता र देशको सार्वभौमिकताको लागि निश्चित समयको लागि मात्र भने पनि राजा चाहिने पक्षमा मात्र थिए । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अमेरिका गएर नेपालमा केही समय राजा चाहिन्छ भनेका थिए । उनको कुरा विवादमा पनि आएको थियो । जे होस् अब पछिको कुरा भविष्यले नै बताउला, तर बारा जिल्लाको समर्पण एफएमले ‘जहाँ सिंगो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ’ भन्ने बोलको गीत प्रसारण गर्दा अहिले पनि राजसंस्था भएको जस्तो लाग्यो ।

 

प्रतिक्रिया दिनुहोस्