पुष्करलाल श्रेष्ठको निधनप्रति पत्रकार महासङ्घद्वारा दुःख व्यक्त



काठमाडौँ ।
नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएकामा दुःख व्यक्त गरेको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गरी महासङ्घका सदस्य तथा कामना न्युज पब्लिकेशन्स प्रालिका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान ११ः५९ बजे उपचारका क्रममा निधन भएको दुःखद खबरले नेपाल पत्रकार महासङ्घ स्तब्ध र दुःखी भएको जनाएको हो ।

करीब ५ महीनाअघि नाकमा समस्या आएपछि राजधानीस्थित ब्ल्यूक्रस अस्पतालमा नाक र लगत्तै मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएका श्रेष्ठको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि भारतको मेदान्त अस्पताल हुँदै पछिल्लो समय काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

विसं २०१६ मा काठमाडौँमा जन्मिएका श्रेष्ठ कामना ग्रुप अफ पब्लिकेशन्स, नेपाल मिडिया सोसाइटी, इन्टर नेशलन प्रेस इन्ष्टिच्युटअन्तर्गत नेपाल नेशनल कमिटी लगायतका संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँले नेपाल प्रेस इन्ष्टिच्युट, इडिटर सोसाइटी नेपाल, नेपाल प्रेस क्लब, नेपाल सार्क जर्नालिस्ट फोरम लगायतका संस्थामा कार्यकारी सदस्य भई काम गर्नुभएको थियो । विसं २०६१ प्रेस काउन्सिल नेपालका सदस्य र २०५२ देखि २०५३ सालसम्म राष्ट्रिय समाचार समितिको सदस्य भई काम गरेका श्रेष्ठ लामो समयदेखि नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक हुनुहुन्थ्यो ।

महासङ्घको विज्ञप्तिमा भनिएको छ, ‘श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी, व्यावसायिक र सक्रिय पत्रकारलाई गुमाएको छ, उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिताजगत्ले सदा स्मरण गरिरहनेछ ।’ महासङ्घले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्नाका साथै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्