फुपुले ओलम्पिक २०२० खेल्न नपाउने



नेपाल समाचारपत्र, काठमाडौं
नेपाली खेलकुदमा हाल सबैभन्दा चर्चित जुडो खेलाडी फुपुल्हामु खत्रीको सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुद खेल्ने सपना चकनाचुर भएको छ । नेपाल जुडो संघले सन् २०२० सम्म निलम्बन गरेपछि फुपुको ओलम्पिक खेल्ने सपना तुहिएको हो । उनलाई संघले विभिन्न स्टेकहोल्डरको मद्दतमा जापानमा ओलम्पिक छात्रवृतिबाट विशेष प्रशिक्षणमा सहभागिता गराएको थियो । तर ओलम्पिक छात्रवृत्तिबाट कुनै अनुमति नलिई नेपाल फर्केपछि फुपुलाई निलम्बन गर्नु परेको संघका अध्यक्ष दीपक हर्ष वज्राचार्यले बताउनुभयो ।

फुपुलाई जापानमा हुने ओलम्पिककै लागि तयारीका साथ छात्रवृत्ति प्रदान गरिएको हो । जुडोमा फुपुको उँचाई धेरै माथि छ । उनले भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण जितेकी थिइन् । सन् २०१६ मा ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा समेत फुपुको प्रदर्शन उच्च रह्यो । उनले सो ओलम्पिकमा ४ मिनेट खेलेर नेपाली जुडोमा एउटा छुटै इतिहास रचेकी हुन् ।

संघका अध्यक्ष वज्राचार्यले नेपाल समाचारपत्रलाई बताउनु भएअनुसार फुपु जापानमा प्रशिक्षण गर्न नसकेपछि नेपाल फर्केकी हुन् । त्यहाँको कठिनाई संघ र नेपाल ओलम्पिक कमिटीलाई बताएकी पनि वज्राचार्यले जानकारी गराउनुभयो । तर दुबै तर्फ कुनै सम्पर्क नगरी फर्कनु आफुमै नराम्रो प्रवृत्ति भएको वज्राचार्यले भन्नुभयो ।

वहाँले बताउनुभयो—गाह्रो त भइहाल्छ । खेलाडीले मेहनत गरेमा मात्रै पदक आउँछ । हामीले उनलाई ओलम्पिक २०२० कै लागि तयारीका साथ प्रशिक्षणमा राखेका हौं । तर उनले नराम्रो प्रवृत्तिको विकास गरिन् । यसले अरु खेलाडीलाई पनि असर परेको छ । अहिलेको लागि २०२० सम्म उनलाई निलम्बन गरेका छौ । यही नै निर्णय हो ।

फुपुले भने लिखित पत्र कुनै नपाएको नेपाल समाचारपत्रलाई जानकारी गराएकी छिन् । आठौं राष्ट्रिय खेलकुदमा समेत खेल्न नपाएकी फुपुले बताइन्—मलाई कुनै लिखित पत्र दिइएको छैन । मैले त्यहाँ बस्न गाह्रो भएको भनेर सम्बन्धित निकायहरुलाई सुचना दिएको थिएँ । त्यहाँ बस्ने वातावरण नै भएन । कसरी त्यहाँ बसेर प्रशिक्षण लिनु । मेरो भावना कसैले बुझिदिएन । अहिले मलाई आठौंमा समेत कसैले निम्तो गरेको छैन । सबैले खेलेको मेडल लिएको हेरेर चित्त बुझाउनु परेको छ । मैले यही खेलमा १३ वर्ष विताइसकेको छु । मैले कहिल्यै राष्ट्रलाई नराम्रो गर्न खोजेको पनि छैन । खेलमा समपर्ण भएको खेलाडीलाई यस्तो गति भएको छ ।

उता संघका अध्यक्ष वज्राचार्यले बताउनुभयो—हामीले ओलम्पिकसँग समन्वय गरेर कोदाकानमा फुपुलाई फिर्ता बोलाउन पत्र लेख्ने निर्णय गरेका थियौ । तर उनी छिटै नेपाल फर्केकी थिइन् । यसले गर्दा कोदोकान, एनओसी, राखेप, संघ, ओलम्पिक सोलिडारिटीलगायत धेरै संस्थामाथि प्रश्न उठ्ने काम भएको छ । यसले भविष्यमा हाम्रो खेलको अन्य खेलाडीलाई पनि असर परेको छ । हामीले सबै संस्थासँग समन्वय गरेर उनलाई निलम्बन गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्