प्युठान नगरपालिका अब आफ्नै भवनमा



सलिम अन्सारी, प्यूठान ।
अरू सबै स्थानीय तह अझै भाडामै सञ्चालित भैरहेका बेला सिंहदरबारको झल्को दिने गरि प्यूठान नगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गरेको छ । प्यूठान नगरपालिका–४, बिजुवार खेलकुद मैदान नजिक ४ वर्षअघि शिलान्यास गरिएको भवनको निर्माण पूरा भएको छ । ०७२ असारबाट भवन निर्माण थालिएको थियो ।

नवनिर्मित भवनको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्धघाट्न गर्नुभएको हो। प्युठानमा आफ्नै भवनमा सेवा प्रवाह गर्ने पहिलो स्थानिय तह समेत यहि भएको छ । २० वटा कार्यकक्षहरू रहेको उक्त भवन निर्माणको लागि कुल ४ करोड ४८ लाख ५३ हजार ४ सय ७० रुपैयाँमा भवन निर्माण भएको हो। नेसनलरआँसुरमल्लरानी जेभी काठमाडौंले ठेक्का लिएको थियो ।

‘सवै काम अब यहि भवनवाट हुन्छ,’ प्युठान नगरपालिकाका प्रमुख अर्जुन कुमार कक्षपतीले भन्नुभयो।अब जनतालाई सेवा प्रदान गर्न सजिलो हुन्छ भन्ने बिश्वास छ। ‘’ यहाँ ६ सय ८६ दशमलव १६ वर्ग मिटर क्षेत्रफलमा भूकम्प प्रतिरोधात्मक हलसहित ३७ कोठाको भवन निर्माण भएको मेयर कक्षपतीले बताउनुभयो ।

प्यूठानको झिमरुक उपत्यकाभित्र पर्ने साबिकका बिजुवार, जुम्रीकाँढा, खैरा, दाखाक्वाडी, धर्मावती, बिजयनगर, माझकोट, मरन्ठाना गाविस र खलंगाको केही वडा समेटर प्यूठान नगरपालिका बनेको हो । यस क्षेत्रका बासिन्दालाई सेवा दिने गरी निर्माण भएको कक्षपतीले बताउनुभयो। जिल्लाको झन्डै आधा जनसंख्याले सेवा लिने नगरपालिकाको प्रशासनिक भवन नहुँदा कार्यसम्पादनमा समस्या भएकोमा भवन निर्माण पछि सहज हुने मेयर कक्षपतिको भनाइ छ ।

नगरपालिका स्थानीय गैर सरकारी संस्था कालिका विकास केन्द्रको भवन विजुवारमा भाडाको घरवाट सेवा प्रवाह गर्दै आएको थियो । ‘आफ्नै भवन नहुँदा धेरै समस्या थिए,’ मेयर कक्षपतीले भन्नुभयो, ‘अव एकै ठाउँमा कार्यसम्पादन गर्दा सेवाग्राहीलाई सहज होला ।’
प्यूठान–४ थाप्डाँडाका नरबहादुर कार्की सहितका टोलीले ६ रोपनी निःशुल्क प्रदान गरेको जग्गामा नगरपालिकाको प्रशासनिक भवन बनेको हो । भवन नगरपालिकाका १० वटै वडालाई पाएक पर्ने स्थानमा बनेको नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्