प्रदेश २ मा विद्यालय भर्ना अभियान ढिला



कृष्णउदास खनाल, वीरगन्ज ।
वैशाख २ गते सोमबारदेखि शुरु हुने भनिएको विद्यालय भर्ना अभियान प्रदेश २ मा शुरु नहुने भएको छ ।
प्रदेश सरकारले प्रदेशकै लोकपर्व जुडशितलको अवसरमा वैशाख २ गतेका दिन बिदा घोषणा गरिएकोले सङ्घीय सरकार र प्रदेश सरकार समेतले आह्वान गरेको विद्यालय भर्ना अभियान सुरु नहुने जनाएको हो ।

सङ्घीय सरकारले पहिले नै निर्देशन दिइसकेको र प्रदेश सरकारका मुख्य मन्त्रि लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहको अध्यक्षतामा चैत २८ गते बसेको शिक्षा विकास निर्देशनालयको बैठकबाट समेत वैशाख २ गतेदेखि विद्यालय भर्ना अभियान सुरु गर्ने निर्णय गरिएको थियो ।बिदा परेको कारण प्रदेश २ मा वैशाख ३ गतेपछि विद्यालय भर्ना अभियान सुरु गर्ने स्थानीय तहले जनाएका छन् । तर अभियानलाई सफल पार्न सरोकारवाला निकायबाट कुनै तयारी देखिएको छैन ।प्रदेशमा एक महिना ढिलो गरी आधारभूत तहको परीक्षा भएका कारण अधिकांश विद्यालयमा नतिजा सार्वजनिक गरिएको छैन ।

यसले पनि भर्ना अभियानलाई असर पार्ने बताइएको छ ।
हासम्म उमेर पुगेर विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क प्रदेशका कुनै स्थानीय तहले सङ्कलन गर्न सकेका छैनन् भने भर्ना अभियानबारे प्रचार प्रसार समेत गरिएको छैन । सबै स्थानीय तह विद्यार्थीहरू आफै विद्यालय आउने परम्परागत शैलीको अभ्यासमा बसेका छन् । पर्सामा भने मंगलबारबाट यो अभियान संचालनको तयारीमा रहेको जिल्ला शिक्षा तथा समन्वय ईकाइले जनाएको छ ।

बैशाखको दोश्रो साताबाट प्रदेशका सबै जिल्लामा भर्ना अभियान प्रभावकारी रुपबाट संचालन गर्न दिर्नेशन दिइसकिएको मुख्यमन्त्री लालबावु राउतले जानकारी दिनुभयो । वीरगन्ज महानगरभित्रका सबै श्रोत केन्द्रमा भर्ना अभियान संचालन गर्न निर्देशन दिइसकिएको मेयर बिजय सरावगीले दाबी गर्नुभयो । २०६८ सालको जनगणना अनुसार पर्सामा ७० प्रतिशत मानिस साक्षर छन् भने करिब दश प्रतिशत बालबालिकाहरु बिद्यालयको पहँुचभन्दा बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्