ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक, सूर्यभन्दा ६ अर्ब गुणा विशाल



पेरिस (एजेन्सी)
ह्माण्ड रहस्यको खोजमा लागेका खगोल भौतिक शास्त्रीहरूका लागि ब्ल्याक होल जति रोचक विषयवस्तु हो त्यति नै उनीहरूका लागि रहस्यमय पनि रहेको छ। ब्ल्याक होललाई ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली खगोलीय पिण्डका रूपमा लिइन्छ।

ब्ल्याक होलको अस्तित्व पुष्टिका लागि दशकौंदेखि लागिरहेका खगोलशास्त्रीहरू उक्त खगोलीय पिण्डको तस्वीर खिच्न सफल भएका छन्। प्रचुर गुरुत्वाकर्षण हुने गरेको आफूतिर आएका सबै पदार्थ र पिण्ड मात्र होइन प्रकाश पनि सोस्छ र यसमा प्रवेश गरेको किरणले परावर्तन पनि हुन पाउँदैन। सामान्यतया कुनै पनि तस्वीर प्रकास परावर्तन हुने वस्तुहरूको मात्र सम्भव हुने भएकाले ब्ल्याक होलको तस्वीर खिच्नु ठुलो चुनौती बनिरहेको थियो।

तर अहिले खगोलविद्हरूले ब्ल्याक होलको पहिलो तस्वीर सार्वजनिक गरेका छन्। पृथ्वीबाट करोडौं प्रकाशवर्ष दूरीमा पर्ने एम ८७ ग्यालेक्सीमा रहेको उक्त ब्ल्याक होललाई भित्री गाढा कालो र त्यसको वरपर सुन्तला रंगको तस्वीरमा देख्न सकिन्छ। वैज्ञानिकहरूले उक्त तस्वीरका लागि विश्वभरिका ८ रेडियो टेलिस्कोपको मद्दत लिएको र ब्ल्याक होलको एक तस्वीर तयार गरेका हुन्।

बुधबार ५ देशका ६ शहर वासिंगटन, ब्रसेल्स, सान्टियागो, सांघाई, ताइपेई र टोकियोमा खगोलविद्हरूले ब्ल्याक होलको तस्वीर एकै समय सार्वजनिक गरेका हुन्। करिब ५ करोड ३५ लाख प्रकाशवर्ष दूरीमा रहेको उक्त ब्ल्याक होल एम–८७ आकाशगंंगको बीचमा अवस्थित छ। यो सूर्यभन्दा ६ अर्ब गुणा ठुलो छ। यो तस्वीरका लागि विश्वका ६ देश एरिजोना, हवाई, स्पेन, मेक्सिको, चिली र दक्षिणी ध्रुवमा इभेन्ट होराइजोन टेलिस्कोप (ईएचटी) लगाइएको थियो। यसको निर्माण विशेष ब्ल्याक होलको तस्वीर खिच्नका लागि नै गरिएको थियो।

क्याथरिनको चर्चा

ब्ल्याक होलको तस्वीर खिच्ने अभियानमा दशकौंदेखिनै वैज्ञानिकहरू लागिरहेका हुन्। तर ती सबैको बीचमा सबैभन्दा धेरै चर्चा क्याथरिन बुमेनको भइरहेको छ। अनुसन्धानकर्ता बुमेनले ब्ल्याक होलको तस्वीर तयार पार्नमा अहम् भूमिका निभाएकी थिइन्। म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी २९ वर्षीय स्नातक बुबेनले कसरी अल्गोरिडमको माध्यमबाट आफूले उक्त तस्वीर तयार पारेको हो भन्ने विषयमा बताएको द इन्डिपेन्डेन्टले जनाएको छ।

फेसबुकमा उनले एक तस्वीर जारी गरेकी छिन्। जसमा उनी कम्प्युटरअगाडि बसिरहेकी थिइन्। त्यही कम्प्युटरमा उनले यो चर्चित तस्वीर तयार गरिरहेकी थिइन्। वास्तवमा यस महवपूर्ण खगोलीय खोजलाई नतिजामा पुर्याउने क्याथरिनसँग खगोलशास्त्रीका रुपमा कुनै करियर नै छैन। उनी कम्प्युटर अल्गोरिडमका विज्ञ हुन्। तर अन्तरिक्ष विज्ञानका तर्फबाट संकलन गरिएका डाटालाई एक उपयोगी तस्वीरको स्वरूप दिने काम उनले गरिन्।

प्रतिक्रिया दिनुहोस्