विषादीः अपघाती कि ओखती ?




सागर खनाल
पृथु टेक्निकल कलेज लमही, दाङ
नेपालको कुल जनसंख्याको करिब ७० प्रतिशतभन्दा बढी जनसंख्या गाउँमा बस्छन् भने करिब ६५ प्रतिशत जनसंख्या कृषि पेसामा निर्भर छन् । बढ्दो जनसंख्यालाई खाद्यान्न परिपूर्ति गर्न अत्यधिक मात्रामा कृषि रसायनको प्रयोग तथा उपभोक्ताहरुको खाद्य स्वच्छतामा जनचेतनाको कमीले नेपाली बजारमा अधिकांश कृषिजन्य वस्तुमा रसायनको मात्रा हदभन्दा बढी भएको एक तथ्यांकले देखाउँछ ।

सन् २०१५÷१६ मा नेपालमा करिब ५७५ टन विषादी खपत भयो । वार्षिक ६९ करोडको विषादी आयात हुन्छ । जसमध्ये ५५ करोड २० लाख अर्थात् करिब ८५ प्रतिशत विषादी तरकारीका लागि मात्र खपत भएको छ । नियमितरुपमा प्रयोग गरिने फलफूल र तरकारीमा स्वास्थ्यका लागि घातक मानिने विषादी प्रयोग हुने गरेका कारण यसबाट मानिसमा कडा खालका नसर्ने रोगहरु आउने सम्भावना प्रबल हुन्छ । तर पनि स्वयं उपभोक्ता नै बजारमा बिक्री हुने तरकारी र फलफूल किन्दा चिल्ला, चम्किला, कीरा नलागेका र सलक्क परेका मात्र किन्न आकर्षित हुन्छन् ।

बजारमा पाइने केरा, आँपलगायत फलफूललाई किसानले कार्बाइड नामक रासायनिक तत्वको प्रयोग गरी पकाउने गरेका छन्, जुन मानवस्वास्थ्यका लागि घातक मानिन्छ । यसै गरी काँचो टमाटर रासायनिक तत्वको प्रयोग गरी पकाउने र आकर्षक बनाएर राख्ने गरेका हुन्छन्, जुन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेका छन् । यसै गरी तरकारी र फलफूललाई रोग र कीराबाट बचाउने नाममा प्रयोगमा प्रतिबन्ध लगाइएका विषादी र हर्मोनहरु प्रयोग गरिएको हुन्छ ।
कुनै पनि विषादी प्रयोग गरेको कति अवधिसम्म उपभोग गर्न हुदैन र कति मात्रामा प्रयोग गर्नुपर्छ भन्ने किसानहरुलाई थाहा नहुने गरेको छ । नेपालमा करिब ५७ प्रतिशत किसानलाई विषादीको उचित प्रयोग थाहा छैन, जसका कारण मानिसमा क्यान्सरको प्रबल सम्भावना हुन्छ । साथै मृगौला, कलेजो, फोक्सो, मुटुमा प्रत्यक्ष असर पुगिराखेको हुन्छ ।

नेपालको तरकारीमा प्रयोग गरिने विषादीमध्ये सबैभन्दा बढी टमाटरमा प्रयोग गरिने एक तथ्यांकले बताएको छ । नेपालको सन्दर्भमा विषादीको प्रयोग अत्यधिक बढी देखिए पनि अन्य देशको तुलनामा नेपालमा विषादीको प्रयोग निकै कम रहेको छ । नेपालमा करिब १ केजी ६ सय ५० ग्राम प्रतिहेक्टर प्रतिवर्ष विषादीको प्रयोग हुन्छ भने जापानमा ११ केजी, कोरियामा १६ केजी, इटालीमा साढे १३ केजी र छिमेकी देश भारतमा ४ केजी प्रतिहेक्टर प्रतिवर्ष विषादीको प्रयोग हुन्छ ।

कति प्रतिशतसम्म विषादी खान योग्य ?
३५ प्रतिशतभन्दा कम विषादीको मात्रा भएका तरकारी खानयोग्य हुन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएका केही दिन पर्खेर खानयोग्य हुन्छन् र ४५ प्रतिशतभन्दा बढी विषादी भएका तरकारी खान अयोग्य हुन्छन् । त्यस्ता तरकारीलाई नष्ट गर्ने गरिन्छ ।

नेपालमा प्याज, अदुवा र लसुनबाहेक सबै तरकारीमा विषादी जाँच गरिन्छ । घरेलु जैविक विषादीले रोकथाम गर्न सकिने कीट तथा रोगका लागि हामीले किन पृथ्वीको हावापानी नै बदलिने रसायन प्रयोग गर्ने त ? किन हदभन्दा बढी विष फैलाउने त ? त्यसकारण घरेलु जैविक विषादीको प्रयोगलाई प्रमुख स्थान दिई आजैबाट घरेलु विषादीको प्रयोगमा अग्रसर बनौं ।

घरेलु विषादी बनाउने विधि 
गाईको मूत्र: एक भाग गाईको पिसाबमा पाँच भाग पानी थपेर त्यसमा पाँच ग्राम सुर्तीको धूलो घोली बोटको फेदमा वा माटोमा छर्ने गरे रातो कमिला, धमिरा आदि नियन्त्रण गर्न सकिन्छ ।

सिस्नुको झोल: सिस्नुलाई टुक्रा–टुक्रा पारी पानीमा ८ घन्टासम्म भिजाइराख्ने र त्यसपछि जति सिस्नुको पानी छ त्यत्ति नै अरु पानी मिसाई स्प्रे गर्दा लाही कीरा र अरु सामान्य कीराहरु नियन्त्रण गर्न सकिन्छ ।

सुर्तीको झोल: एक केजी सुर्तीलाई टुक्रा पार्ने र त्यसमा पाँच लिटर पानी राखी पुनः त्यसमा ६० ग्राम साबुन धूलो बनाई मिसाउने । दुवैलाई पानीमा घोलेर २४ घन्टासम्म भिज्न दिने, त्यसपछि बोटबिरुवामा छर्ने गरे सबै खाले कीराहरुको नियन्त्रण गर्न सकिन्छ ।

नीमको गेडा: नीमको पाकेको गेडा जम्मा गरी भित्रको बीउ मात्र निकाल्ने अनि ती गेडालाई कुटेर वा पिसेर मसिनो बनाउने । एकमुठी नीमको धूलोलाई एक माना पानीका दरले रातभरि भिजाई भोलिपल्ट कपडाले छानेर उक्त झोललाई खेतबारीमा छर्ने गरे धान–मकैको गवारो, फट्के, फौजी कीरा, चना–केराउको कोसामा लाग्ने कीरा र झुसिले कीरा, लाही कीरा, धमिरो आदि नियन्त्रण गर्न सकिन्छ ।

नीमको धूलो: नीमको धूलोले अन्न भण्डारणमा लाग्ने घुन–पुतलाहरुलाई पनि नियन्त्रण गर्दछ । त्यसको लागि १०० ग्राम अन्नमा एक ग्राम नीमको धूलोको दरले अन्नमा मिलाई भण्डारण गर्ने गरेमा धान, गहुँ र दाल बालीहरुको घुन–पुतला नियन्त्रण गर्न सकिन्छ । यसरी प्रयोग गरेको नीमबाट ६ महिनासम्म अन्नमा कुनै क्षति हुँदैन ।

टिमुरको धूलो: टिमुर सुकाएर धूलो बनाउने र राम्रोसँग सुकाएको अन्नमा तीन ग्राम टिमुरको धूलोलाई एक केजी अन्नका दरले मिलाई भण्डारण गर्ने गरे घुन–पुतलाबाट बचाउन सकिन्छ ।

गोलभेंडाको बोटको रस, गोलभेंडाको डाँठ र पातलाई केही बेर पानीमा उमाल्नुहोस् । उमालेको झोल सेलाएपछि बोटबिरुवामा छर्ने गरे तरकारी र अन्नबालीमा लाग्ने झुसिले कीरा नियन्त्रण गर्न सकिन्छ ।

कोदो वा तोरीको गेडा: कोदोमा कीराले नोक्सान नगर्ने भएको हुँदा अन्य अन्नबाली भण्डारण गर्दा पिँधमा, बीच भागमा र माथि कोदो राखिदिने, कोदो नभए तोरी राखिदिने गर्दा पनि घुन–पुतलाबाट बचाउन सकिन्छ । तर भण्डारण गर्नुभन्दा पहिले अन्नलाई ३÷४ घाम राम्रोसँग सुकाएर चिसो भएपछि मात्र भण्डारण गर्नु राम्रो हुन्छ ।

यदि यहाँ बताइएका प्रविधिहरुलाई ध्यान दिई घरमा प्रयोग गर्ने गरे विषादीबाट पर्न जाने असरबाट सहजै बच्न सकिन्छ । वातावरण संरक्षणमा टेवा पुग्न जान्छ, जलवायु परिवर्तन समस्याबाट केही पर भाग्न सकिन्छ र मानवजीवनलाइ दीर्घकालीन बनाउन सकिन्छ । त्यसैले सबैले आफ्नो तर्फबाट अनावश्यक रासायनिक विषादीको प्रयोग कम गरी घरेलु विषादीको प्रयोग गरौं ।

प्रतिक्रिया दिनुहोस्