आत्महत्याको भयानक अवस्था



चितवनको भरतपुर महानगर– १८ स्थित शशीनगरमा केही दिनअघि कहाली लाग्दो घटना भयो । एउटै परिवारका आमा, छोरा र छोरीले घरको बलोमा पासो लगाएर सामूहिक आत्महत्या गरे । यस्तो अप्राकृतिक मृत्यु रोज्नेमा ३५ वर्षकी माया आलेमगर, १३ वर्षीया छोरी विनिता र १२ वर्षीय छोरा दिवस रहेका छन् । मायाले मिलनचोक बजारमा चिया पसल सञ्चालन गर्दै आएकी थिइन् भने छोराछोरी मिलन इ. स्कुलमा ५ र ७ कक्षामा अध्ययनरत थिए । उनीहरुका बाबु नेपाली सेनामा कार्यरत रहेको बताइएको छ ।

नेपालमा दैनिक औसत १२ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । सामूहिकरुपमा आत्महत्या गर्ने घटना अनौठो लागे पनि यो नै पहिलो घटना भने होइन । यसअघि गरिबी र अभावका कारण आमाले आफ्ना बाबुनानीलाई समेत मर्न बाध्य बनाएका घटनाहरु सार्वजनिक भइसकेका छन् । तीन महिनाअघि दाइजो नपुगेको भन्दै परिवारका सदस्यले मानसिक यातना दिएका कारण जनकपुर उपमहानगर–४, शान्तिनगरकी २५ वर्षीया सीमा शर्माले छोरीलाई विष खुवाएर आफूले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो । प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका छन् । नेपालमा विभिन्न घटनाहरुले आत्महत्याको प्रवृत्ति डर लाग्दो गरी बढिरहेको देखाएको छ ।

राजधानी काठमाडौँलगायत विभिन्न जिल्लामा गरिबी, बेरोजगारी, स्वास्थ्योपचार, असफल प्रेम सम्बन्ध, विवाहोत्तर सम्बन्ध, शिक्षामा असफलता, एक्लोपनलगायतका कारणले विभिन्न उमेर समूहका मानिसले आत्महत्या गरेका छन् । आत्महत्याका सबै घटनाहरु प्रहरीसम्म नपुग्ने कारण यसको वास्तविक तथ्यांक सार्वजनिक भएभन्दा दोब्बर बढी हुने अनुमान गरिएको छ । नेपालमा आत्महत्या एउटा गम्भीर सामाजिक समस्या बनिसकेको छ । आत्महत्या मानिसको मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएकाले ९० प्रतिशत आत्महत्याको कारण मनोरोगलाई ठानिएको छ ।

मनोचिकित्सकका अनुसार डिप्रेसन, आत्मसम्मानमा कमी, पर्सनालिटी डिसअर्डर, बेरोजगारी, आर्थिक अभाव, स्वास्थ्य उपचारको समस्या, परीक्षामा असफलताजस्ता कारणले मानिसहरु आत्महत्या रोज्न पुग्छन् । हाम्रो समाजमा आत्महत्या गर्ने प्रवृत्तिलाई कायर ठान्ने गरिन्छ । ‘विचरा’ भन्नुभन्दा आत्महत्या गर्नेहरुलाई ‘धिक्कार’ नै भन्ने गरिएको छ । तर, मानिसले आत्महत्या गर्नुपर्ने बाध्यता किन आइप¥यो होला भनेर कसैले कुनै प्रकारले सोच्न सकेको पाइँदैन । छिमेकी मुलुक भारतमा कृषि पेसा गर्नेहरुले खडेरी परेर, ऋण तिर्न नसकेर सामूहिक आत्महत्या गर्ने गरेका घटनाहरु सार्वजनिक हुने गरेका छन् । आत्महत्याका पछिल्ला घटनाले नेपालमा पनि यस्तै समस्या बढिरहेको देखाएको छ ।

नेपालमा अझै पनि ४३ प्रतिशत मानिस बेरोजगारी र २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि रहेको छ, जसले दैनिक २ सय रुपियाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । आत्महत्याको त्रासद पक्षले के देखाउँछ भने, यस्ता अधिकांश घटना राज्यको सामाजिक सुरक्षा नीतिसँग जोडिएको हुन्छ । शिक्षा, स्वास्थ्य, गाँसबास आमजनताको पहुँचबाहिर हुनु र बेरोजगारको समस्याले विकल्पहरु नदेख्ने कारण पनि आत्महत्याको दर बढ्दो छ । आत्महत्या एक अपराध हो ।

आत्महत्या कसैको रहर र इच्छाका कारणले नभए पनि सामूहिक आत्महत्यामा भने मर्न बाध्य बनाइएको हुनसक्छ । सामान्यरुपमा कसैले दिएको मानसिक यातना वा पीडा, घरेलु हिंसा, दाइजो, बहुविवाहजस्ता पारिवारिक, सामाजिक समस्या नै आत्महत्याको कारण मानिन्छन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोग, जीवनशैली, रहनसहन र वैदेशिक रोजगारका कारण हुने समस्याका कारण आत्महत्या बढिरहेका छन् । मनोचिकित्सकले मानसिक समस्या नै बढ्दो आत्महत्याको कारण ठानेका छन् । घरघरमा मानसिक समस्या भएका व्यक्ति हुन सक्छन् । यस्तो समस्यालाई पारिवारिक वा सामाजिक प्रतिष्ठासँग जोडेर हेर्दा आत्महत्या बढ्न सक्छ । तसर्थ, मानसिक समस्या लुकाएर होइन, मनोचिकित्सकसँग समयमै परामर्शगरी उपचार गर्नु जरुरी देखिन्छ ।
– सुरज बोगटी, भरतपुर, १४ चितवन ।

महिला हिंसामा सचेत बनौं
महिलाविरुद्धका सबै प्रकारका हिंसा अन्त्य गर्ने राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सिड समिति (सिडो कमिटी) ले महिलाको इच्छा विपरीत यौनसम्बन्ध राख्ने, शरीर छुने, जिस्क्याउने, अपशब्द सुनाउने, यौनसम्बन्धी चित्र देखाउने, इसारा गर्ने, आँखा झिम्क्याउने, परिबन्धमा पारी यौनसम्बन्ध राख्ने वा यौनकार्यमा लाग्न बाध्य पार्नेजस्ता कार्यलाई यौन हिंसाको परिभाषाभित्र समेटेको छ ।

विगत केही वर्षदेखि समाजमा महिला हिंसाका घटनाहरु बढी नै सार्वजनिक भइरहेका छन् । केही दिनअघि मात्र संघीय राजधानी काठमाडौंमा सार्वजनिक सवारीमा यात्रा गर्दा महिलामाथि भएको यौन हिंसाले अहिले बजार तातिरहेको छ । विभिन्न हिंसामध्ये महिलामाथि हुने यौनजन्य हिंसा पछिल्लो समय सर्वाजनिक स्थानमा पनि हुन थालेको छ । विगतमा महिलामाथि घरेलु हिंसा बढी हुने गरेको भए पनि पछिल्लो समय यौनजन्य हिंसामा बढोत्तरी भइरहेको छ ।

विशेष गरी महिलामाथि हुने बलात्कार र हत्याका घटना बढ्दै जाँदा महिलाहरु असुरक्षित महसुस गर्न थालेका छन् । बालिका, किशोरीदेखि वृद्धासम्म बलात्कारको सिकार बन्नुपरेको अवस्था विद्यमान छ । हरेक वर्ष केही अवधिभर महिला हिंसा अन्त्य गर्ने भन्दै अभियान चलाउने र त्यसमा ठूला–ठूला भाषण र प्रतिबद्धता जाहेर गर्दैमा महिलाहरुले हिंसाबाट वञ्चित हुन सक्दैनन् । महिला हिंसाका घटना न्यूनीकरण गर्न सम्पूर्ण राज्य र उसका संयन्त्र सशक्त ढंगले लाग्नुपर्ने देखिन्छ ।

नेपाली समाजमा बढ्दै गएको यौनजन्य हिंसाका कारण बालिका, किशोरी तथा महिलाहरु असुरक्षित रहेको स्पष्ट पार्दछ । यस्ता घटना बढ्दै जानु र घटनाका दोषी पक्राउ नपर्नुले देशमा अझै पनि निर्धक्क बस्ने अवस्था नरहेको आभास दिन्छ । कति बेला के हुने हो भन्ने त्रासमा अझै पनि महिलाहरु बस्न बाध्य छन् । जबसम्म महिलाहरु निर्धक्क भएर आफ्ना गतिविधि गर्न पाउँदैनन्, तबसम्म सरकारले सुरक्षा व्यवस्थाबारे गम्भीर भएर सोच्न जरुरी छ । अतः महिलाको सुरक्षाका लागि सम्बन्धित निकायल गम्भीर हुन आवश्यक छ ।
– सरोज पन्थी, गुल्मी ।

प्रतिक्रिया दिनुहोस्