एकै परिवारका फरक भूमिकामा



बाँके, (नेस)
आठौं राष्ट्रिय खेलकुद ढोकामै आइपुगेको छ । खेलाडी, प्रशिक्षक र पदाधिकारीहरु आ–आफ्नो उपस्थितिलाई ‘यादगार’ बनाउन लागि परेका छन् ।

यही माहोलमा सुटिङ खेलमा पारिवारिक राज गरेका पार्वती थापाका परिवार फरक–फरक भूमिकामा आठौंमा होमिएका छन् । सन् १९८८ को सियोल ओलम्पिक खेलेकी पार्वतीका नाममा राष्ट्रिय पदकको चाङ नै रहेका छन् । छोरी मान्छे घर बाहिर निस्किनु हुँदैन भन्ने जमानामा पार्वतीले ओलम्पिकमा भाग लिएकी थिइन् । अहिले पार्वती प्रशिक्षकको भूमिकामा छिन् ।

वि.सं. २०४६ मा करारबाट शुरु भएको प्रशिक्षकको जिम्मेवारी २०५२ सालमा आएर स्थायी भएको थियो । प्रशिक्षक थापाले आठौंमा आफ्नो क्षेत्रमा धेरै भन्दा धेरै पदक जिताउन मेहनत गरिरहेकी छिन् । उनलाई सुटिङको सामाग्री नहुँदा अलिकति तनाव भएको छ । उनले बताइन– ‘बिग्रेको बन्दुकले अभ्यास गरेका छौं । तर, पनि मेडलको आशा मारेका छैनौ ।’

पार्वतीका भाई नरेन्द्र थापा यतिबेला मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रदेश ५ का उपाध्यक्ष छन् । नरेन्द्र पनि सुटिङका अन्तर्राष्ट्रिय खेलाडी हुन् । आठौंको व्यवस्थापनलाई भब्य र सब्य बनाउन नरेन्द्र लागेका छन् । एसियन गेम्सको अनुभव बटुलेका नरेन्द्रको नाममा तीन वटा राष्ट्रिय स्वर्ण पदक छन् । ‘नेपालगञ्जलाई केन्द्रविन्दुमा राखेर भएको आठौंलाई सफल बनाउने हामी सबैको दायित्व रहेको छ। उनले बताए— हामी पदाधिकारी त दिनरात घोटिएकै छौं ।’

पार्वतीकी बहिनी कृष्णा यतिबेला जोडतोडका साथ अभ्यासमा छिन् । कृष्णा छैठौ र सातौं राष्ट्रिय खेलकुदकी गोल्ड मेडलिष्ट हुन् । आठौंमा पनि स्वर्णपदक जितेर ह्याट्रिक गर्ने लक्ष्यमा छिन् उनी । ‘आफ्नै ठाउँमा भएको आठौंमा पनि स्वर्ण पदक जित्न लागि परेकी छु, उनले भनिन्— त्यसका लागि विहान र बेलुका कडा अभ्यास गरिरहेकी छु ।’

नेपालगञ्जबाट अर्का गोल्ड मेडलिष्ट बदरुद्दिन अन्सारीले पनि आठौंमा प्रतिस्पर्धा गर्दै छन् । अन्सारी छैठौ राष्ट्रियका गोल्डमेडलिष्ट हुन् । सुटिङ खेल भन्ने बित्तिकै नेपालगञ्जको घरबारीटोलको नाम अगाडि आइहाल्छ । थापा परिवारमात्रै होइन, घरबारीटोलबाट अनिता श्रेष्ठले सुटिङमा ओलम्पिकमा भाग लिएकी थिइन् । सन् १९९२ को वार्सिलोना ओलम्पिकमा अनिताले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । यसअघि सन् १९९१ मा कोलम्बोमा भएको पाँचौं सागमा अनिताले सुटिङमा स्वर्ण पदक जितेकी थिइन् । घरबारीटोलबाट नै ओलम्पिक खेल्नेमा भारोत्तोलनका सुरेन्द्र हमाल, सुटिङका पार्वती थापा र अनिता श्रेष्ठ छन् ।

सुटिङका लागि नेपालगञ्ज हब नै मानिन्छ । दुई÷दुई जना ओलम्पियन जन्माएको नेपालगञ्जले राष्ट्रिय पदकधारी धेरै जन्माएको छ । पार्वतीका तीन भाइबन्धुले आ–आफ्नो समयमा सुटिङमा राज नै गरे । नेपालगञ्जमा सुटिङ रेञ्ज बन्नु पनि ओलम्पियन जन्मिएकाले हो । भौतिक पूर्वाधार निर्माणमा आठौं राष्ट्रियले धेरै इट्टा थपिदिएको छ । थापाबन्धुका लागि आठौं राष्ट्रिय अझ यादगार यस मानेमा हुँदैछ कि तीन जना दिदी, भाइ, बहिनी फरक–फरक भूमिकामा आठौंमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस्