प्रदेश ३ लाई यु १६ क्रिकेटको उपाधि



नेपाल समाचारपत्र, काठमाडाैं ।
प्रदेश नम्बर ३ ले यु १६ क्रिकेट लिगको उपाधि जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ ले उपाधि हात पारेको हो । प्रदेश ३ ले १ सय ६३ रनको लक्ष्य दिएकोमा प्रदेश ५ ले निर्धारित ३० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ३९ रन बनाएको थियो । प्रदेश ५ ले ३१ रनमै तीन विकेट गुमाईसकेको थियो ।

तर बिशाल विक्रम केसीले आकर्षक इनिङ्गस खेल्दै अमर मिश्रसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दा टोलीको आस बनेको थियो ।
तर विशाललाई कृस कार्कीले आउट गरेपछि प्रदेश ३ को खेलमा नियन्त्रण भएको थियो । विशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए भने अमरले २९ रन बनाएका थिए । उनले ४४ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । प्रदेश ३ का लागि बिबेक दराई र दिपक बोहोराले दुई–दुई विकेट हात पारे । यस्तै कृष कार्की र तिलक भण्डारीले पनि एक–एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निर्धारित ३० ओभरमा ५ विकेटको क्षेतिमा १ सय ६२ रनको योगफल बनाएको थियो । टोलीका लागि अभिषेक उपाध्यायको अद्र्धशतक र प्रशान्त महतको उल्लेखनीय योगदान रहेका थिए । ३७ रनमा ३ विकेट गुमाएपछि अभिषेक र कप्तान दिपकले चौथो विकेटका लागि ५८ रनको साझेदारी गर्दै टोलीलाई उकासे । अभिषेकले २ चौकासहित ७१ बलमा ५६ रन जोडे ।

यस्तै दीपक र प्रशान्तले पाँचौं विकेटका लागि ५५ रनको साझेदारी गरेपछि टोली सुरक्षित योगफलतिर अग्रसर भएको थियो । प्रशान्त ३२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा नटआउट रहे । दिपकले ३९ बलमा ४ चौका ठोक्दै ३० रन योगदान दिएका थिए । प्रदेश ५ का बलरमा रमेश र सुरज खड्काले २–२ विकेट लिएका थिए ।

उपाधि सँगै प्रदेश ३ का खेलाडीहरुले १ लाख ५० हजार बराबरको क्रिकेट किट हासिल गरे । उपबिजेतामा चित्त बुझाएको प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट प्राप्त गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का बिशाल बिक्रम के.सी घोषित भए । यस्तै उत्कृष्ट ब्याट्स्म्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगिता आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्ग माइमा हुन गइरहेको एसिसि अण्डर १६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा रहेको थियो । नेपाली टोलीको प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी र मन्जुर आलम खान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्