प्रदेश- १ सरकारले सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने



सरोज यादव, विराटनगर ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारको दक्षता वृद्धिका लागि प्रदेश सरकारले आगामी वर्षको वजेटमा सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने बताउनु भएको छ । उहाँले आगामी वैशाख २४ गते राष्ट्रिय पत्रकार दिवसमा प्रदेश सरकारले विशेष समारोहको आयोजना गरी अग्रज पत्रकारलाई सम्मान गर्न कार्यदल गठनको प्रक्रिया सुरु गरेको पनि जानकारी दिनुभयो ।

विराटनगरमा सोमबार आयोजित कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री राईले सञ्चारकर्मी प्रति सरकार संवेदनशील रहेको बताउनु भयो । यस्तै मुख्यमन्त्री राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुंगो लाग्ने जानकारी दिनुभयो । केहि दिनभित्र प्रदेश सभामा यस विषयले प्रवेश पाई सहमतिको आधारमा स्थायी राजधानी र नामाकारण सार्वजनिक गरिने प्रष्ट पार्नु भयो ।

उहाँले प्रदेश सरकारले केही दिनभित्र वैदेशिक लगानी सम्मेलन आव्हान गरी स्विस सरकारको सहयोगमा न्यूनतम २५ योजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी लगानीको प्रक्रिया आगाडि वढाउन उपयुक्त कानूनी नीति वनाउने कार्य आगाडि वढाइएको पनि वताउनु भयो । यसैबीच विराटनगरका ब्यवसायी स्व.कृष्णप्रसाद सिग्देलको स्मृतिमा प्रेस चौतारी नेपाल मोरङले स्थापना गरेको पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ ।

मुख्यमन्त्री राईले लोकान्तर अनलाईनका समाचारदाता सुस्केरालाई नगद रु ११ हजार १ सय ११ रुपैया र प्रमाणपत्रसहित सम्मान गर्नु भयो । कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारका लागि सिग्देल परिवारले १ लाखको अक्षयकोष स्थापना गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले स्थापित पुरस्कारले पत्रकारिता क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको धारणा व्यक्त गर्नु भयो । नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेलले प्रदेश सरकारले पत्रपत्रिका, रेडियो, टिभिलाई विशेष अनुदानको व्यवस्था गर्नुपर्नेमा जोडदिदै पत्रकारलाई न्यूनतम पारिश्रमिक भुक्तानीको वातावरण सिर्जना गर्न आग्रह गर्नु भएको थियो । प्रेस चौतरी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा चौतारीका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराई, नेपाल प्रेस युनियनका लिलावल्लभ घिमिरेले पत्रकारले जिम्मेवारी, मर्यादित र समाजप्रति उत्तरयादी ढंगले कार्य गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

प्रतिक्रिया दिनुहोस्