भारतले राखेको सीमा स्तम्भ नेपालीले हटाए



भद्रपुर । नेपालको पूर्वी सीमा झापाको मेची पुलमा भारतीय पक्षले सीमा स्तम्भ बनाएको पाइएको छ । भारतीय नागरिकले मेची खोलामा बन्दै गरेको नयाँ पुलको नाम लिएर सीमा स्तम्भ उखालेर नेपालतिर सारिदिएको हो । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका टोली यसबारे अनभिज्ञ छन् । सीमा स्तम्भ राखेको थाहा पाएपछि नेपाली युवाहरूले बिहिबार सीमा स्तम्भ उखालेर फालेका छन् ।

काँकडभिट्टाका स्थानीय तथा पत्रकारहरूले भारतले बनाएको स्तम्भ स्थल राखेको बारे थाहा पाएका थिए । त्यसपश्चात युवाहरूले सशस्त्र प्रहरी बल काँकडभिट्टाका डिएसपी राजेश घिमिरे र इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी महेश थापालाई स्तम्भबारे जानकारी लिँदा आफूहरूलाईसमेत जानकारी नभएको बताएका थिए ।

पुरानो स्तम्भभन्दा २० मिटर वर सारेर नेपालको भू–भागमा स्तम्भ सारेको फेला परेको हो । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सशस्त्रका डिएसपी घिमिरे र जनपथ प्रहरीको नेतृत्वमा युवाहरूले सीमास्तम्भ हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्