‘आम्बोट–दुर्लुङ–घोडेपानी’ नयाँ पदमार्ग निर्माण सुरु



दुर्गाप्रसाद शर्मा, पर्वत ।

प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ नयाँ पदमार्ग निर्माण सुरु गरिएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण सुरु गरिएको हो । हाल बिरेठाटी र म्याग्दीबाट घोडेपानी जाने गरिएपनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण राउण्ड लगाउन सकिने भएको छ । नयाँ पदमार्गको प्रतिनिधिसभा सदस्य पदम गिरीले शिलन्यास गरे । कुश्मा ३ भारतीगाउँमा आयोजित कार्यक्रममा गिरीले पदमार्गको शिलन्यास गरेका हुन ।

नयाँ पदमार्ग आम्बोटबाट सुरु हुन्छ । पोखराबाट साढे एक घण्टामा आम्बोट पुगिन्छ । आम्बोटबाट एक घण्टा ३० मिनेट पैदल हिडेपछि क्यानोनिङस्थल पुग्न सकिन्छ । क्यानोनिङबाट ३० मिनेटको दुरीमा आकर्षक होमस्टे पनि सञ्चालनमा ल्याइएको हो । क्यानोनिङसम्म सवारी साधनमा जान पनि सकिन्छ । तर पैदल जान चाहने पर्यटकका लागि नयाँ पदमार्ग निर्माण सुरु गरिएको हो ।

दुर्लुङमा गतबर्षदेखि महभिर छहरामा क्यानोनिङ सुरु गरिएको छ । क्यानोनिङमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यो रुटबाट अन्नपूर्ण फेरोमा पर्यटकलाई आकर्षित गर्न सकेमा साहसिक खेल क्यानोनिङको तिब्र प्रचार हुने र बर्षेनी हजारौले क्यानोनिङको मज्जा लिने क्यानोनिङ तथा पदमार्गका मुख्य अभियन्ता गोलमान गुरुङले बताए ।

‘आम्बोट–दुर्लुङ हुँदै घोडेपानी जान छोटो पर्छ, आकर्षक ठाउँ पनि छ, त्यसैले पर्यटकहरु आकर्षित गर्न सहज हुनेछ’ उनले भने । यो पदमार्गमा केन्द्र सरकारको पर्यटन मन्त्रालयबाट चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँ बिनियोजन भएको छ । चालु आर्थिक बर्षमा यो रकमले तीन हजार पाँच सय मिटर पदमार्ग निर्माण गर्ने तयारी भएको पनि गुरुङले जानकारी दिए । ‘यो बर्ष साढे तीन किलोमिटर पदमार्ग निर्माण गर्छौ, त्यसपछि आवश्यकताअनुसार संरचना निर्माण गर्दै जान्छौ’ उनले भने ।

लामो समय बेलायतमा बस्दै आएका उनी दुर्लुङमा क्यानोनिङको विकास र पदमार्गसहितको पर्यटकीय गाउँ बनाउन जन्मगाउँ फर्केका छन् । ‘म पर्यटकीय गाउँको भौतिक संरचना निर्माण नगर्दासम्म गाउँमै रहनेछु’ उनले भने । क्यानोनिङ र पदमार्गमा आउने पर्यटकलाई बास बस्नको सहजताका लागि गाउँका परम्परागत घरलाई सजाएर होमस्टे पनि सञ्चालनमा आएको छ । अहिले होमस्टेका थप संरचना पनि बनाउने काम जारी छ ।

पदमार्गको शिलन्यास गर्दै प्रतिनिधिसभा सदस्य गिरीले देशभरका एक सय पर्यटकीय गन्तब्य मध्ये दुर्लुङको क्यानोनिङ परेको र यसलाई नियमित चलाउन सकेमा दुर्लुङ पर्यटकीय हब बन्ने बताए । उनले पर्यटकीय गाउँको भौतिक संरचना निर्माणका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता पनि जनाए ।

उनले कुश्मादेखि दुर्लुङको वडा कार्यालय आउने सडक अर्को बर्षसम्म कालोपत्रे र ढलान भइसक्ने बताए । नयाँ पदमार्ग निर्माण भएपछि दुर्लुङमा पर्यटनको संख्यामा बृद्धि हुने र गाउँको आर्थिक समृद्धिका साथै रोजगारीमा समेत सघाउ पुग्ने धारणा उनले राखे । हिजो दुर्लुङलाई उराठलाग्दो डाडोको रुपमा लिइने भन्दै गिरीले दुर्लुङलाई अव उराठलाग्दो होइन मोहनी लाग्दो बनाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्