प्राकृतिक विपत्ति सचेत गराउने पर्व पाहाँचह्रे



पदम श्रेष्ठ

प्राकृतिक विपत्ति र रोगको महामारी शुरू भएको संकेत स्वरूप चैत्र चतुर्दशीका दिन काठमाडौं उपत्यकामा पाहाँचह्रे मनाइन्छ्र । नेपालभाषामा पाहाँको अर्थ पाहुना र चह्रे चतुर्दशी हो । लुकुमाद्यः (लुकेको महादेव) पूजागरी मनाइने पाहाचह्रे अघि घरको छाना बाँध्ने, फोहोर फ्याँक्ने, खाल्टाखुल्टी (साःगाः) सफाइ गर्ने र टोल–टोलमा स्थापित आजु÷अजिमाद्यः (पुर्खा देवता)लाई समयद्यो (समयबजी चिउरा, छोयला, माछा आदिको थुप्रो) प्रदर्शन गरी पूजा गर्ने गरिन्छ ।

हुरी वतास उपद्रोबाट बच्न देवीदेवतालाई राँगा, हाँस, कुखुरा, बोकाआदि बलि दिई इष्टमित्र परिवारलाई जमघट गराई भोज खाने परम्परा छ । पाहाँ चह्रेको दिन लुकुमाद्यः भन्दै फोहोरको ढल, साःगाः खोजीखोजी पुज्नेबारे रोचक किंवदन्ति छ । शनिग्रहले साढे सातको दशा आजदेखि हजुरलाई लाग्दै छ भन्दै महादेवलाई छुन दौडिएछ, महादेव भागेर साढे सात वर्षसम्म धर्तीभित्रै फोहोर साःगाःमा लुकी बसेछन् । साढे सात वर्षपछि महादेवले शनिलाई सोधेछन्– खै त तिमीले मलाई छुन सकेको? शनिले हाँस्दै भनेछन्–‘यदि साढे सातको दशा नलागेको भए साढे सात वर्षसम्म हजुर धर्तीभित्र फोहोरमा बस्नुपथ्र्यो र ?’

पाहाँचह्रेका दिन लुकुमाद्यः पूजा भनेको भूमि पूजा हो । घर, टोल, चोक फोहोर कीताणु उत्पन्न भई महामारी रोग फैलिने हुँदा लुकुमाद्यःको नाउँमा ढल साःगाः सफाइ गर्ने र परिवार र नजिकका नातेदार भेला भइ भोज खाने परम्परा छ । पाहाँचह्रे पूजामा तोरी र मूलाको फूलसहितको बिरुवा राख्नाले घरमा भूतप्रेत, दुष्टात्मा प्रवेशमा रोक लगाउने विश्वास छ । भोजमा लसुन, मूला खानाले रोगबाट बचाउँछ भन्ने जनविश्वास छ । लुकुमाद्यः पूजामा बालेको धूपको गाजल बनाई लगाइदा उडेर आउने धूलो आँखामा पर्दैन भन्ने हो ।

पाहाँ चह्रेबारे अर्को आख्यानअनुसार पाहाँ चह्रेको दिन अष्टमातृका दिदी–बहिनी एकै ठाउँमा बसी भोज खान भेला भएछन् । सबै लुगा–गहनामा ठाँटिएर भेला भए तर जेठी दिदी लुती अजिमाँ गरिब र धेरै सन्तानका कारण दुब्लो, झुत्रो लुगा लगाई भोजमा भेला भइछन् । यस्तो देखेर बहिनीहरूले लुती अजिमालाई बस्नसमेत भनेनछन् । छोराछोरी भोक लाग्यो, भोक लाग्यो, भनिरहँदासमेत कुनै वास्ता नगरिदिएपछि भावविह्वल अजिमाँ छोराछोरी लिएर घर फर्किइछन् ।

बाटोमा फर्सी भेटेकाले त्यही फर्सी उसिनेर खुवाउन घर लगिछन् । छोराछोरी सुतेकाले भोलि बिहान उठी हेर्दा त फर्सी सुनमा परिणत भइसकेछ । अर्को वर्षको पाहाँचह्र्रेमा फर्सीबाट प्राप्त सुनका गहना, राम्रा–राम्रा लुगा लगाएर जाँदा सम्मानपूर्वक भोज राखिदिएछन् । तर अजिमाले विगतमा आफ्ना सन्तानप्रति गरेको भेद सम्झँदै सबै भोज लुगामा दल्न थालिछन् । यसबाट आश्चर्यचकित दिदी–बहिनीले प्रश्न राख्दा लुती अजिमाले भनिछन्–‘हिजो लुगा–गहना नहुँदा मेरा छोराछोरी भोकभोकै फर्कनुपरेको थियो, यो भोज यही गहना र लुगालाई खुवाएको हो ।’ यसै दिनदेखि लुती अजिमा क्षेत्रपाटीस्थित इन्द्रायणी देवीको बालाचतुर्दशीका दिन जात्रा हुन्छ भने अन्य अष्टमातृका देवीको खटजात्रा पाहाँ चह्रेको दिन हुने गर्दछ

दुरु च्यां च्यां जात्रा (बत्सलेश्वरी आमा)
प्रत्येक वर्ष घोडेजात्राको एक हप्ता अघि पशुपति भुवनेश्वरी (बछला माजु) सहित उपत्यकाका अजिमा पीठलाई पशुपतिनाथ स्वयं बोलाउन जाने गर्छन् । दुरु च्यां च्यां बोलको दुन्दुभी बाजा बजाउँदै भुवनेश्वरीका पुजारी, पशुपतिनाथको आगमघरका भट्ट पुजारी, चार भण्डारीमध्येका एक जना सानो खटमा शिवलिङ्ग राखी छोरी देवताहरूलाई निमन्त्रणा गर्न जाने गर्छन् । यसै बीच उपत्यकामा नक्साल भगवती तखती अजिमा, लुँचुलबँु अजिमा, न्हायकंतला अजिमा, कङग कजिमा, न्यतमरु अजिमा, लुमरी अजिमा (वंतु र तेबा खट) र प्यङगः थां नरसिंह आजुको भव्य जात्रा हुने गर्दछ ।

दुन्दुभी बाजाको बोल दुरु च्यां च्यां हुने भएको कारण जात्राको नाउँ नै बोलका आधारमा बन्न गएको हो भने छोरीलाई निमन्त्रणा खटजात्रा देवपाटन (ग्वल)को लगंलाछी पाचुत्वा, सिफल, मालिगाउँ, नक्साल, नागपोखरी, हात्तीसार, जमल, कमलपोखरीहुँदै असन जनबहाल, इन्द्रचोक, हनुमानढोका, मरु, चिकंमुगल न्हुँघ, लगन, टेकुदोभान पचलीभैरवमा पिचा तः बनेगु भन्दै बलि पूजा गरिन्छ । त्यहाँबाट लगन, ब्रम्हटोल, ह्यूमत, जैशीदेगल, क्वहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, त्यङ्गल, कमलाछी, कमलपोखरी, ज्ञानेश्वर हुँदै पशुपति पु¥याइन्छ । शीतलाष्टमी भनिने दुरु च्यां च्यां जात्रा पाहाँचह्रे आउन लाग्यो एक हप्ता बाँकी भन्ने सूचना दिने पर्वका रूपमा लिइन्छ ।

घोडेजात्रा
पाहाँचह्रेको भोलिपल्ट काठमाडौं र पाटनको टुँडिखेलमा घोडादौड गरिन्छ । मल्लकालदेखि शुरू भएको घोडेजात्राले दुष्टात्मा र अनेक प्राकृतिक उपद्रव शान्त हुन्छ भने मान्यताअनुसार काठमाडौंको टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ । फूलपाती बढाइँकासाथ टुँडिखेलमा घोडा दौड गराइन्छ भने पाटनको भोलाख्यः बालकुमारीमा रक्सी खुवाइएको एकमात्र घोडा कुदाउने गरिन्छ ।

काठमाडौंका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटावहुँदा ने.सं.७८७तिर पाटनवासी जनताले काठमाडौंको घोडेजात्रा हेर्न जानु नपरोस् भन्ने मनसाय राखी भोलाख्यःमा एक्लो घोडा कुदाई मनोरञ्जन गर्ने परम्परा थालिएको हो । यस दिन काठमाडौं उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मलजा (सुकेको पातमा बेसार राखेर बनाइएको भात, गेडागुडी, तरकारी, जाँड, रक्सी, दूध सलिचामा राखी) खुवाईन्छ । यसरी मलजा खुवाउनाले केटाकेटी अनेक रोग लाग्नबाट बच्छन् भन्ने विश्वास गरिन्छ ।

असंभलु (अन्नपूर्ण) अजिमा जात्रा
असन अन्नपूर्ण मन्दिरमा प्रत्येक वर्ष चैत्रकृष्ण औंसीका दिन अष्टमातृका दिदी–बहिनी भेट्ने खटजात्रा जुधाइने गरिन्छ । अन्नपूर्ण अजिमा अगाडि टेबहालकी लुभडी अजिमा र वटुखट, कङकेश्वरीको कङ्ग अजिमाको खट जुदाए पनि नरदेवीकी ङेतमरु अजिमा, टंकेश्वरकी तखती अजिमा, मैती अजिमा, नयाँ बजारकी म्हेपी अजिमा र बाङ्गेमुढाकी न्हेकन्तला अजिमाको पनि छुट्टाछुट्टै जात्रा हुने गर्दछ । यी दिदी–बहिनीमध्ये क्षेत्रपाटीकी लुतीमरु अजिमा (इन्द्रायणी) खटजात्रा भने बालाचतुर्दशीका दिन मात्र हुने परम्परा छ ।


असन चोक पूरै धातुरागमा बजाइने क्वँचाखीं पश्चिमा, दापाखीं बाजाको तालमा खटजात्रा भइरहँदा घरका झ्याल–झ्यालबाट भक्तजनले सगुन रोटी, चटामरी र लोचामरी वर्षादा लाग्छ असन सहकाल अन्नपूर्णको केन्द्र हो । प्रत्येक वर्ष चैत्रशुक्ल प्रतिपदाका दिन देखि नयाँ वर्ष शक संवत् परिवर्तन हुने हुँदा असन माछा देवता गणेश डबलीमा देशभरका ज्योतिषी बसी वर्षको शुभ–अशुभको चिना हेर्ने र देवीदेवताको खटजात्रा गर्ने परम्परा बसेको कथन छ ।

असंमरु अजिमासहितको अष्टमातृका देवीको जात्राबारे कथन अनुसार एक समय एक जना ग्वाला जमाचोदेखि म्हेपी हुँदै गाई चराउँदै असन पुग्दा एउटा अति सुन्दरी केटी (देवी)लाई पञ्जपुखु (हालको रानीपोखरी)मा नुहाएर कपाल सुकाइरहेको देखेछन् । सुन्दरीको यौवनमा अकषर््िात हुँदै ग्वाला अगाडि पुग्दा देवी अलप भई भनिछन्–‘म योगाम्बर ज्ञानेश्वरी म्हेपीको अर्धाङ्गिनी अन्नपूर्ण हुँ।’ उनै ग्वाला ज्यापूका वंशजले पूर्णकलशसहित असँभलु अजिमा प्रतिष्ठापित गराएको बताइन्छ ।

पाहाचह्रे धमाथु जात्रा
पाहाँचह्रे (घोडेजात्रा)का दिनदेखि शुरू हुने धमाथु (धर्मस्थली) पाहाँचह्रे जात्रा पीठखट जुधाउँदै शुभकामना आदान–प्रदान गरिन्छ । धर्मस्थलीको लाछी टोलमा इन्द्रको ठूलो ३२ हाते ढुंगे प्रतिमास्तम्भ खडा गरी थालिने धमाथु जात्रामा महांकाल, पिङला अजिमा र तीनवटा गणेशसमेत ५ खटको भव्य जात्रा हुने गर्दछ ।

पाहाँचह्रेका दिन छोरी–चेलीलाई पाहुना बोलाएर मीठो–मसिनो खुवाई घर जानका लागि केही बेर रोक्ने परम्परागत संस्कारसँग यो जात्रा जोडिएको छ । पाहाँचह्रेको भोलिपल्ट घोडेजात्राको दिन देवदेवीका खटलाई लाछीमा भेला गरी बजार घुमाइन्छ भने तेस्रो दिन चैत्रशुक्ल द्वितीयाका दिन भुजात्राका नाममा राति सिन्दुर जात्रा गरिन्छ । लिच्छविकालीन राजा धर्मदेवद्वारा स्थापित धर्मस्थली बालाजु बाइपासबाट करिब ७ किमि दक्षिण–पश्चिममा अवस्थित ऐतिहासिक बस्ती हो ।

इचङ्गु महालक्ष्मी जात्रा
राजा हरिदत्त बर्माद्वारा स्थापित ललितपुरको विशङ्खु, फर्पिङको शेषनारायण, भक्तपुरको चाँगुनारायण जस्तै स्वयम्भू हल्चोकको इचङ्गु नारायणस्थानमा मनाइने महालक्ष्मी जात्रा घोडेजात्राका दिन खटजात्रा गरी मनाइन्छ । यसका लागि पाहाँचह्रेका दिन द्यःछेबाट महालक्ष्मी देवताको मूर्ति खट निकाली गणेशसहित इचङ्गु नारायणको दक्षिण कुनामा अवस्थित पीठमा प्रतिष्ठापित गराइन्छ । यस दिन दशा हटाउने नाउँमा साँझ देवस्थलमा आगो बाली रातभर जाग्राम बस्ने र भोलिपल्ट चिल्लागा औंसीको दिन महालक्ष्मी देवीलाई हाँस, राँगा, बोका आदि बलि दिई अबिर यात्रा गरिन्छ ।

महालक्ष्मी÷गणेश खट बोक्नेहरूले जुत्ता लगाउन हुँदैन भन्ने मान्यतानुसार खाली खुट्टा नायखीं दाफा बाजाको तालमा खटजात्रा हल्चोक आकाश भैरव, चिसापानी, रामकोट, भीमढुंगा टाँफिकलसम्म पूजा थाप्न जाने परम्परा छ । यसै दिन इष्टमित्र, आफन्तलाई भोज खान बोलाउने पनि गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्