नेकपाको नाम गिनिज बुकमा



विप्लव समुहसँगको रिलेसन एकतर्फी ‘ब्रेकअप’ गरेको सरकार निकै कडा रुपमा प्रस्तुत भा’छ । सो समुह पार्टी नभई आपराधिक गिरोह भएको तर्क गर्दै सरकारले दिनहुँजसो विप्लवका नेता कार्यकर्ता फ्याट–फ्याटी पक्रिरा’छ । पीएम ओली र उनका बोली पछ्याउनेहरु भन्छन्–‘कम्युनिष्टको खोल ओढ्दैमा कोही कम्युनिष्ट हुन सक्दैन ।’

धरहराले बुझ्न नसक्या कुरो, ऊ बेला पञ्चायतविरुद्ध आन्दोलनमा होमिएको समुहलाई पनि तत्कालिन सरकारले त्यस्तै भन्थ्यो क्यार । अनि सशस्त्र संर्घषमा होमिएको तत्कालिन माओवादीलाई पनि त्यो बेलाका धेरै अल्पायु सरकारले त्यस्तै अनेकौ उपमा दिए । ऊ बेलाका खुङखार विद्रोही अहिले एकै साथ छन्, मुलुकको डाडु–पन्यू नै चलाइराख्या छन् ।

अहिले विप्लव विरुद्ध निकै आक्रामक बनेको ओली सरकारले विप्लबका नेता÷कार्यकर्तालाई नियन्त्रणमा लिन थालेसी मुलुकले फेरी अर्को कृतिमान राख्ने बलियो संभावना बढेर गा’छ । यस्तै हो भने अब सरकार र संसद मात्रै होइन जेल पनि बाम वाहुल्य हुने निधो भो । यस्तो त चानेचुने उपलब्धी होइन, सरकारको पछिल्लो कदमले विश्व कृतिमान नै नबन्ला भन्न सकिन्न ।

कि नियोजित रुपमै सरकार विश्वकृतिमान राख्ने लाइनमा अघि बढ्या हो ? कृतिमान रचियो भने सो कुरो चाहिँ ओली सरकारको उपलब्धीको नम्बर वान सूचिमा समेटिन्छ क्यार !

प्रतिक्रिया दिनुहोस्