होटल बन्द गर



बीपी राजमार्ग आसपासका थुपै्रै होटलहरू मापदण्ड विपरीत चलिरहेका छन्। विगत धेरै समयदेखि राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले गुणस्तरहीन खाना खान बाध्य छन्। यात्रुहरूका लागि राजमार्गका होटेलमा गुणस्तरहीन खाना खानु बाध्यता बनेको छ। राजमार्ग आसपासमा सञ्चालनमा रहेका होटलहरूले सरसफाइमा पनि खासै वास्ता नगरेको पाइन्छ। तर पनि विगतमा थुप्रै समयदेखि होटलहरूको अनुगमन हुन सकिरहेको छैन।

खाद्य स्वच्छताको आधारमा होटल, रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ आइसके पनि होटल स्तरीकरणमा ढिलाइ भइरहेको छ। होटलहरूले सरसफाइ तथा गुणस्तरमा कति पनि ध्यान दिएका छैनन्। जिल्लाका सडक आसपासका होटलहरूमा निकै हानिकारक, अस्वस्थ खाना खुवाएर मानवीय स्वास्थ्यमा खेलबाड भइरहेको छ। मापदण्ड विपरीत सञ्चालन गरेर पैसा मात्र लिने तर मानिसको स्वास्थ्यलाई ख्याल नगर्ने होटलहरू प्रशस्तै छन्।

होटलहरूले सामान्य सरसफाइमा समेत ध्यान नदिएको पाइएको छ। उनीहरूले सामान्य आचारणसमेत पालना नगर्दा स्वस्थ खाद्यवस्तुको उपभोग गर्न पाएका छैनन्। तसर्थ, सडक आसपासका होटलहरूको अनुगमन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले बीपी राजमार्ग आसपासका होटललाई स्तरीकरण गर्ने बताए पनि अनुगमनका लगि गृहकार्य खासै नभएको देखिन्छ। किनभने, डिभिजन कार्यालयले फागुन महिनासम्म सुनकोशी गाउँपालिकाका होटलहरू स्तरीकरण गर्ने भने पनि अहिलेसम्म कुनै कदम चालिएको छैन।

तसर्थ, राजमार्ग आसपासका होटलहरूको अनुगमन गर्न सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ। त्यसै गरी, होटलको अनुगमन र स्तरीकरणमा नियमनकारी निकायले आवश्यक कदम चाल्न ढिलाइ गर्नुहुँदैन। अतः नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै जिम्मेवार निकायले यथाशीघ्र पहलदारी कदम चाल्नुपर्छ।
– मनोज भट्ट, पाल्पा।

प्रतिक्रिया दिनुहोस्