विकासको गतिमा अगाडि बढ्दै सुनापती गाउँपालिका



मधुसूदन रायमाझी
स्थानीय सरकार गठन भएको २ वर्ष पुगेको छ। स्थानीय सरकार गठन भएपछि नागरिकहरूमा आशा र अपेक्षा पनि बढेकोे छ। रामेछापको सुनापती गाउँपालिका पनि विस्तारै विकासको गतिमा अगाडि बढेको छ। निर्वाचनअघि गरिएको प्रतिबद्धता पूरा गर्न जनप्रतिनिधिहरू अहोरात्र लागेका छन्। स्थानीय सरकार गठन भएको लामो समयसम्म पनि कर्मचारीको अभावका कारण अपेक्षाकृतरूपमा विकास निर्माणको काम अगाडि बढाउन नसकेको गुनासो जनप्रतिनिधिको छ।

सुनापती गाउँ कार्यपालिकको पहिलो बैठकले उज्यालो सुनापती बनाउने निर्णय कार्यान्वय गरेको छ। जसअनुसार गाउँपालिकाको ५ वटै वडामा बिजुली पुगेको छ। त्यसैगरी गाउँपालिकाको ५ वटै वडाको टोलटोलमा कच्ची सडकको पहुँच पुगेको छ। अब गाउँपालिकाले नयाँ ट्र्याक निर्माणतर्फ भन्दा पनि निर्माण भएको सडकको स्तरोन्नति गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष धावा लामा बताउनुहुन्छ।

गाउँपालिकाले सडकको डिटेल प्रोजेक्ट रिपोर्ट ९डीपीआर० बनाएर नै काम अगाडि बढाएको छ। गाउँपालिकाभित्र रहेको करिब ९० किलोमिटर कच्ची सडकमध्ये ४९ किलोमिटर सडकको डीपीआर गरिएको छ। अध्यक्ष लामा भन्नुहुुन्छ– ‘निर्वाचनका बेला नागरिकसँग गरिएको प्रतिबद्धताअनुसार नै काम गरेका छौं, जनताको अपेक्षा धेरै छ, स्रोत साधन थोरै छ, तर हामी जनताको आवश्यकता र चाहनालाई ध्यानमा राखेर काम गरिरहेका छौं।’ गाउँपालिकाले हालसम्म १५ वटा कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ।

सुनापती गाउँपालिकालाई पूर्णसाक्षर, खुला दिसामुक्त क्षेत्र, पूर्ण खोपयुक्त घोषणा गरिनु पनि उपलब्धि भएको अध्यक्ष लामाले बताउनुभयो। गाउँपालिकाले जेष्ठ नागरिकलाई राहत वितरण, विपन्न, अशक्त र असाध्य रोग लागेका व्यक्तिलाई आर्थिक सहायता प्रदान गरेको छ। जसको कारण स्थानीय सरकारको कामप्रति नागरिकहरू खुसी भएका छन्।

लक्षित समुदाय र वर्गको सशक्तीकरण र क्षमता विकासमा जोड दिएको बताउँदै सुनापती गाउँपालिका–२ दिमीपोखरीका वडा अध्यक्षसमेत रहनुभएका प्रवक्ता कमल केसीले गाउँपालिकाको कार्यक्रमअन्तर्गत सामुदायिक स्वास्थ्य संस्थाको विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार हाल ५ वडाभित्र ९ वटा स्वास्थ्य संस्था स्थापना भएर सञ्चालमा रहेका छन्।

गाउँपालिकाभित्र १ हजार ४ सय ७१ जेष्ठ नागरिकलाई परिचयपत्र वितरण, ६ सय ६ गरिब घरपरिवारलाई परिचयपत्र वितरण र अपाङ्ग परिचयपत्र वितरण गरिएको उहाँले बताउनुभयो। गाउँपालिकाभित्र आइपर्ने चुनौतीलाई सामना र व्यवस्थापन गर्न विभिन्न कोषको व्यवस्था गरी काम अगाडि बढाइएको प्रवक्ता केसीले बताउनुभयो।

गाउँपालिकाभित्र ८८ प्रतिशत खानेपानीको पहुँच पुगेको छ भने खानेपानीको समस्या भएको बस्तीमा लिफ्ट खानेपानी योजनाको काम अगाडि बढेको छ। गाउँपालिकाले ‘हाम्रो चाहना समृद्ध्र र सुखी सुनापती, कृषि, पर्यटन र पूर्वाधार अमूल्य सम्पत्ति’ भन्ने सोच अगाडि सारेको छ। आगामी ५ वर्षभित्र व्यावसायिक कृषि, पशुपालन र पर्यटनको प्रवद्र्धन गर्ने तथा सबै वडा क्षेत्रमा न्यूनतम पूर्वाधारको विकास गरी समृद्ध सुनापतीको आधारशिला निर्माण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ। कृषि, पर्यटन, पूर्वाधार, खानेपानी, उद्योगको विकास विस्तार गर्ने उद्देश्य अगाडि सार्दै गाउँपालिकाले शिक्षा, स्वास्थ्य सार्वजनिक सेवामा गुणस्तर सेवा दिने योजनाअनुसार अगाडि बढेको छ।

आर्थिक विकास, सामजिक विकास, पूर्वाधार विकास, विपद् तथा वातावरण व्यवस्थापन, सुशासन तथा संस्थागत विकास गर्ने गाउँपालिकाले नीति लिएको छ। सुनापती गाउँपालिकालाई मध्यपहाडी लोकमार्गले छोएको छ।

गाउँपालिकाअन्तर्गत वडा नम्बर २ दिमीपोखरी र वडा नम्बर ५ खनियापानीको वडा कार्यालयको भवन बनाउने प्रक्रिया अगाडि बढाइएको छ। सडकको मापदण्ड तय गर्दै गाउँपालिकाको आवास गृह र सभाहल निर्माण भई सञ्चालनमा आएको छ। सुनापती गाउँपालिकाको कार्यालय स्थापना गर्नका लागि हिलेदेवीका स्थानीयले ८० रोपनी जग्गा निःशुल्करूपमा उपलब्ध गराएपछि जग्गा खरिद गर्दा लाग्ने करोडौं रकम पनि जोगिएको छ। गाउँपालिकाले आगामी दिनमा सबै वडामा भएका कच्ची सडकलाई कालोपत्रे तथा स्वास्थ्य, विद्यालय, कृषि क्षेत्रमा गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको छ। छरिएका, खण्डीकृत तथा टुक्रे योजना प्रणालीको अन्त्य गरी एकीकृत र दीर्घकालीन योजना प्रणाली लागू गर्ने नीति लिएको अध्यक्ष लामाले बताउनुभयो। यस आर्थिक वर्षमा गाउँपालिकाको बजेट ३४ करोड ८५ लाख रहेको छ। हालसम्म गाउँपालिकाको बजेट खर्च ४५ प्रतिशत पुगेको छ।

‘गुरुयोजना बनाएर काम गर्दै छौं’
सुनिल निरौला

प्रमुख प्रशासकीय अधिकृत
सुनापती गाउँपालिका, हिलेदेवी

सुनापती गाउँपालिकालाई समृद्ध बनाउने आधार भनेको कृषि र पर्यटन नै हो। भौगोलिक विविधता रहेको गाउँपालिकाभित्र फलफूल खेती, बाख्रा पालन र कुखुरा पालनको राम्रो सम्भावना छ। गाउँपालिकाभित्र कहाँ कस्तो खेती हुन्छ भन्ने पहिचान भइसकेको छ। अब परम्परागतरूपमा भन्दा पनि व्यावसायिकरूपमा आधुनिक प्रणालीबाट खेती गर्नुपर्छ। राजधानी काठमाडौंनजिक रहेकाले पनि बजारको धेरै ठूलो समस्या छैन। गाउँपालिकाले पर्यटन क्षेत्रको विकास गर्नका लागि पदमार्गको पहिचान गरेर व्यवस्थित गर्ने नीति लिएको छ। होमस्टे सञ्चालन गर्ने, सुनापतीलगायत पर्यटकीय सम्भावना रहेका स्थानमा पिकनिक स्पोर्ट निर्माण गर्ने अवधारणा अगाडि सारेका छौं। सिन्धुलीको नेपालथोकमा रहेको महादेव मन्दिरबाट सुनापती–अग्लेश्वर–सैलुङ हुँदै कालिन्चोकसम्म पैदल मार्गका रूपमा विकास गर्न पहल गरिरहेका छौं।

सुनापती डाँडादेखि गाल्वासम्मका विभिन्न क्षेत्रमा सामुदायिक वनसँग सहकार्य गरेर चिया खेतीको कार्यक्रम अगाडि बढाएका छौं। चिया बगानले यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थप टेवा पुग्नेछ। गाउँपालिकाभित्र विकास निर्माणको काम धमाधम भइरहेको छ।

गाउँपालिकाको गुरुयोजना निर्माण गरेर नै काम अगाडि बढाउने अवधारणा अगाडि सारेका छौं। यस वर्ष नै गाउँपालिकाकोे एकीकृत योजना बन्छ। यसले गाउँपालिकाले गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्छ र काम गर्न पनि सजिलो हुन्छ।

गाउँपालिकाबाट सञ्चालित विकास निर्माणको काम पारदर्शी ढंगले अगाडि बढेको छ। विकास निर्माणको गुणस्तर राम्रो बनाउन नियमित र आकस्मिकरूपमा अनुगमन पनि गरिरहेका छौं। उपभोक्ता समितिहरूले आफूले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरिदिनुपर्छ। विकास निर्माणको काममा समस्या आए समयमा नै गाउँपालिकालाई जानकारी गराउन आग्रह गरेका छौं। गाउँपालिकालाई समृद्ध बनाउन सबैको साथ सहयोग र सुझावको पनि अपेक्षा गर्दछु। गाउँपालिकाबाट जारी भएको कानुनप्रति कुनै गुनासो भए सुझावको रूपमा दिनुहोस्, हामी सम्बोधन गर्नेछांै। सबै मिलेर मात्र गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ। सुनापतीलाई समृद्ध बनाउन नागरिकहरूको पनि सक्रिय सहभागिताको खाँचो छ।

प्रतिक्रिया दिनुहोस्