विधानलाई अनुमोदन गर्न आग्रह



काठमाडौ (नेस) । मानव अधिकार तथा शान्ति समाजले प्रत्येक वर्ष चैत १७ गते सद्भाव प्रवद्र्धन, हिंसा र घृणा खारेजी एवं दण्डहीनताको अन्त्यका लागि योगदान गर्न सबै पक्षलाई आग्रहसहित अभियान सञ्चालन गर्दै आएको छ ।
अभियानका क्रममा समाजको प्रतिनिधिमण्डलले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटी दण्डहीनताको अन्त्यका खातिर नेपालले शीघ्र अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई अनुमोदन गर्न आवश्यक पहल गर्न आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलसँगको छलफलमा अध्यक्ष तिमिल्सिनाले मानव अधिकारको प्रत्याभुति र शान्तिको सुनिश्चितता नै लोकतन्त्रको विशेषता भएको भन्दै अन्तराष्ट्रिय फौजदारी अदालतको विधान अनुमोदनका लागि आफुले विशेष पहल गर्ने बताउनुभयो ।

प्रतिनिधिमण्डलमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, केन्द्रीय सदस्यहरु गीता तिमिल्सना, नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारासहित ७ जना हुनुहुन्थ्यो ।

शान्ति समाजले सन् १९९८ देखि नै रोम विधानलाई नेपालले अनुमोदन गर्नुपर्छ भनि निरन्तर अभियान सञ्चालन गर्दै आएको छ ।
सन् १९९८ मा विधान पारित भई २००२ को जुलाईमा स्थापना भएको अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई हालसम्म १२३ देशले अनुमोदन गरिसकेका छन् ।

अन्तराष्ट्रिय फौजदारी अदालतको विधानलाई अनुमोदन गर्नु भनेको, त्यस्ता अपराधको विपक्षमा रहेको र त्यस्ता अपराधका दोषीलाई निष्पक्ष अन्तराष्ट्रिय मापदण्डको अधिनमा रही कार्यवाही अघि बढाउने तथा आफ्नो देशबाट दण्डहीनताको अवस्था समाप्त गर्ने प्रतिवद्धता पनि हो । नेपालले भने हालसम्म यो विधानलाई अनुमोदन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्