पन्तको ब्याटिङमा दिल्लीको जित



नयाँ दिल्ली, (एजेन्सी)
ऋषभ पन्तको विस्फोटक ब्याटिङको सहयोगमा दिल्ली क्यापिटलले मुम्बई इन्डियन्सलाई उसकै मैदान वानखेडे रंगशालामा ३७ रनले पराजित गरेको छ ।
दिल्ली डेयरडेभिल्सले नयाँ नामका साथ १२औं इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाइला चालेको हो ।

नयाँ नाम टोलीको लागि सहि सावित भएको पनि छ । दिल्लीले २ सय १४ रनको लक्ष्य राख्दा मुम्बई १९.२ ओभरमा १ सय ७६ रनमै समेटिएको थियो । टोलीको जितमा पन्तले २७ बलमा नटआउट रहँदै ७८ रन जोडेका थिए । योसँगैं मुम्बईले आईपीएलमा लगातार सातौं सिजनमा पहिलो खेलमा हार बेहोर्दा दिल्लीले त्यति नै सिजनमा पहिलो खेलमा जित हात पारेको छ ।

मुम्बईको लागि अनुभवी ब्याटसम्यान युवराज सिंहले ५३ रनको इनिङ खेल्नु एक मात्र उल्लेखनीय प्रदर्शन सावित भएको थियो । कप्तान रोहित शर्मा १४ रनमा र डिकाक २७ रनमा आउट भएका थिए । केइरान पोलार्ड २१ रन र क्रुणाल पाण्डे ३२ रनमै सीमित भएका थिए । बलिङतर्फ दिल्लीका रबाडाले २३ रन खर्चेर २ विकेट लिएका थिए ।

यसअघि मुम्बईले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियोे । दिल्लीको शुरुवात त्यति राम्रो भएन । पृथ्वी शाह केवल ७ रनमै पवेलियन फर्केका थिए । तर शिखर धवनले ४३ रन र कोलिन इन्ग्रामले ४७ रन बनाएर विशाल स्कोरको आधार तयार गरेका थिए । यसपछि पन्तको आक्रमक ब्याटिङले दिल्लीले २० ओभरमा ६ विकेटको क्षेतिमा २ सय १३ रन जोडेको थियो । बलिङमा मुम्बईका मिचेल मेकलेन्गनले ३ विकेट लिन ४० रन दिएका थिए ।

सन्दीप परेनन्
नेपालका स्पिनर सन्दीप लामिछानेले आईपीएलअन्तर्गत १२औं संस्करणको पहिलो खेलमा खेल्न पाएनन् । प्लेइंग इलेभेनमा नपरेपछि उनले बेन्चबाटै आफना खेलाडीको सानदार प्रदर्शन हेर्दै चित्त बुझाउनु परेको थियो । सन्दीपलाई गत संस्करणमा दिल्ली डेयरडेभिल्स (हाल दिल्ली क्यापिटल्स) मा आबद्ध गराएको थियो । उनले ३ खेलमा ५ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्