दुर्घटना न्यूनीकरणमा ध्यान दिऊँ



जनघनत्व र त्यही अनुपातमा थपिएका सवारीसाधनको चापसँगै पछिल्लो समय सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको पाइएको छ । केही समययता सडक तथा बाटो सहज बन्दै गए पनि दुर्घटना र मृत्यु हुनेको संख्या भने बढ्दो छ । देशभर सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षको तथ्यांक हेर्ने हो भने सो अवधिमा १० हजार जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

सरकारी तथ्यांकअनुसार हरेक वर्ष २ हजारभन्दा बढी जनाको क्षति सडक दुर्घटनाबाटै हुने गरेको छ । यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेभन्दा झन्डै दुई गुणा बढी हो । मुलुकभर प्राकृतिक विपत्तिबाट वार्षिक औसत ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । मानवनिर्मित संयन्त्रबाट हुने सडक दुर्घटना प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेभन्दा पनि बढी हुनु भयावह स्थिति हो ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मुलुकभर ९ हजार २ सय ५० सवारी दुर्घटना भए । जसमा करिब २ हजार ३ सय जनाले ज्यान गुमाएका थिए । झन्डै ११ हजार जना घाइते भए । चितवनमा चालू आर्थिक वर्षको ६ महिनामा १ सय ६१ दुर्घटनामा ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३ सय ४० घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश मोटरसाइकल सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांकले देखाएको छ ।

सो अवधिमा मोटरसाइकलमा सवार ३७ जनाको मृत्यु भएको थियो भने पैदलयात्री २२ को मृत्यु भएको छ । गतआवको यसै अवधिमा सवारी दुर्घटनाबाट ६१ को मृत्यु भएको थियो । जिल्लाभित्र भएका १ सय १५ दुर्घटनामा २ सय ३० घाइते भएका थिए । गतआवमा जिल्लामा २ सय ७१ वटा सवारी दुर्घटना भएका थिए । जसमा १ सय ३२ को ज्यान गएको थियो भने ५ सय २९ घाइते भएका थिए । संख्याका हिसाबले पछिल्लो समय दुर्घटनामा कमी भएको देखिए पनि अझै ७४ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीबाटै भइरहेको देखिन्छ ।

देशभर पाँच वर्षयता करिब ४७ हजार सवारी दुर्घटनामा ३५ हजार दुर्घटना चालकको लापरबाहीबाट भएको छ । यस्तै, तीव्रगतिका कारण १४ प्रतिशत, यात्रुको गल्ती, ओभरटेक, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी र बढी भारका कारण पनि सवारी दुर्घटना बढिरहेका छन् । सडक यातायात हाम्रा लागि दिनहुँ जोखिमपूर्ण बन्दै गएका छन् । हरेक वर्ष अनाहकमा दुर्घटनाका कारण ज्यान गुमाउने, अंगभंग भएर अपांग जीवन बाँच्न बाध्य हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ । जसका कारण दुर्घटनाका जोखिम न्यूनीकरण गर्न पनि चुनौती थपिँदै गएको छ ।

देशभर बढ्दो दुर्घटनालाई विश्लेषण गर्दा हाम्रा सडक तथा राजमार्गहरू सधैँ असुरक्षित नै रहेको महसुस हुन्छ । दुर्घटनालाई आकस्मिक भवितव्य मानिए पनि यस्तो दुःखद संयोगका पछाडि केही न कारण हुने भएकाले त्यसको खोजी गर्नुपर्छ । दुर्घटनाका जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले बेला–बेलामा अभियान सञ्चालन गर्दै आएको छ । तर दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको मात्रै दायित्व होइन । यसमा चालक, यात्रु, पैदलयात्री, यातायात व्यवसायीलगायत दुर्घटनासँग सम्बन्धित पक्षले सावधानी अपनाउनै पर्छ ।

नेपालमा कुन यातायातका साधनको प्रवृत्ति कस्तो छ भन्ने निचोड निकाल्नु उत्तिकै जरुरी देखिएको छ । प्रायः चालकको लापरबाही र साँघुरा सडकलाई नै दुर्घटनाको कारण मानिँदै आएको छ । ट्राफिक सचेतना कार्यक्रमले पनि केही हदसम्म दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ । सबैभन्दा बढी दुर्घटनाको कारक मानिएका दुईपांग्रे सवारी चालकले विशेष सतर्कता अपनाउनुपर्छ । दुर्घटना नियन्त्रण गर्न सकिँदैन । दुर्घटनाको दुष्परिणामबारे सतर्क रहन सकेमात्र दुःखद अवस्था टर्न सक्छ । त्यसैले सबैले आ–आफ्नो क्षेत्रबाट सडक अनुशासन र सावधानीतर्फ ध्यान दिनु आवश्यक देखिएको छ ।
– नवीन परियार, हालः काठमाडौं ।

ग्वाडखोला अतिक्रमणमा चासो
सिन्धुलीको कमलामाई नगरपालिकाले ग्वाडखोला सरसफाइ अभियानलाई निरन्तरता दिने निर्णय गरेसँगै खोला अतिक्रमणको विषयलाई पनि गम्भीरताका साथ लिनुपर्ने स्थानीयले बताएका छन् । विगत केही समयदेखि खोलाको जग्गा अतिक्रमण गर्ने क्रम बढिरहेको छ । खोलाको जग्गामा संरचना निर्माण बढेसँगै स्थानीयले खोला अतिक्रमण नियन्त्रणका लागि नगरपालिकाले आवश्यक कदम चाल्नुपर्ने बताइरहेका छन् । स्थानीयले सम्बन्धित निकायलाई यो विषयमा पटक–पटक बताइरहँदा पनि कसैले वास्ता नगरेकोे गुनासो गरेका छन् । खोला अनधिकृतरुपले अतिक्रमण गर्दा आगामी दिनमा पानी बहाव बढेमा समस्या देखिने निश्चित छ । त्यसैले पनि नगरपालिकाले प्राविधिक खटाएरै खोला क्षेत्रको नक्सांकन गर्न आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

ग्वाडखोला ठूलै खोलाको रुपमा चिनिए पनि चौडाइ घटिरहेको अवस्था छ । भूमिसम्बन्धी ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोलासम्बन्धी स्पष्ट किटान गरेको छ कि खोलो कसैले छोप्न पाउँदैन र यदि कसैले हडपेको, मिचेको वा छोपेको भए खोलालाई पूर्ववत् अवस्थामै फर्काउनुपर्छ । तसर्थ, कमलामाई नगरपालिकाले खोलाको जग्गा नक्सांकन गर्न ढिलाइ गर्नुहुँदैन । नगरपालिकाले सार्वजनिक जग्गाको अध्ययन गरेर मिचेको पाइएमा आवश्यक कदम चाल्नुपर्छ । आगामी दिनमा धनजनको क्षति हुन नदिन र खोलाको अस्तित्व बिगार्न नदिन सम्बन्धित निकायले अध्ययन र व्यवस्थापनमा बेलैमा ध्यान दिन जरुरी छ ।
– दीपक आचार्य, सिन्धुली ।

प्रतिक्रिया दिनुहोस्