प्रधानमन्त्रीको विमान ‘होल्ड’ प्रकरण: ‘कर्मचारी नै प्रमुख दोषी’



गंगा बराल, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली चढेको यती एयरलाइन्सको विमान काठमाडौं अवतरणका क्रममा ‘होल्ड’ गरेको विषयमा छानविन गर्न बनेको समितिले नागरिक उड्डयन प्राधिकरण, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाएको छ ।
मन्त्रालयलाई प्रतिवेदन बुझाउँदै समितिले लापरवाही गर्ने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

गत फागुन २३ गते बिहीबार साँझ झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं अवतरण हुँदा विमान १५ मिनेटजति ‘होल्ड’ भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले समितिले प्रतिवेदन बुझाइसकेको बताउनुभयो ।

‘समितिले छोटो समयमा नै काम सकेको छ’ –प्रवक्ता उपाध्यायले भन्नुभयो । उपाध्यायले त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, यती एयरलाइन्सको अन्तर्राष्ट्रिय विमानस्थल र झापाको चन्द्रगढीका कर्मचारीलाई प्रमुख दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरिएको बताउनुभयो ।
विमानमा प्रधानमन्त्री रहेको भन्ने जानकारी नभएकाले ‘होल्ड’ भएको विमानस्थलले त्यतिबेला प्रतिक्रिया दिएको थियो । तर प्रधानमन्त्रीले भने यो घटनालाई लिएर शंका व्यक्त गर्नुभएको थियो । उहाँले आफूमाथि षड्यन्त्र भएको समेत भन्नुभएको थियो ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको थियो । आचार्यले प्रतिवेदन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाइसकिएको बताउनुभयो । ‘हामीले प्रतिवेदन बुझाइसकेका छौं, अब अन्य प्रक्रियामा अघि बढ्छ’ –संयोजक आचार्यले भन्नुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले आइतबारसम्म प्रतिवेदन आइनपुगेको बताउनुभयो । ‘प्रतिवेदन तयार भइसकेको भन्ने सुनेको हुँ, आइतबारसम्म प्राधिकरणमा आइपुगेको थिएन’ महानिर्देशक गौतमले भन्नुभयो– ‘प्रतिवेदन अध्ययन गरिसकेपछि मात्र के भएको रहेछ भन्न सकिन्छ ।’

विमान दुर्घटना हुँदा वा यस्तै प्रकारका अन्य घटना हुँदा छानविन समिति गठन गरिने गरेका छन् । औपचारिकताका लागि मात्र समिति गठन गरिने र त्यसले दिएको प्रतिवेदन कार्यान्वयन नगरिने परम्पराले वास्तविक सत्यतथ्य नआउने भएकाले फेरि कस्तो प्रकारको सचेतता अपनाउने भन्ने अन्योलता कायमै छ ।

प्रतिक्रिया दिनुहोस्