सन्दर्भः नेपाल बारको निर्वाचन, भावी नेतृत्वसँगको अपेक्षा



कमलप्रसाद इटनी
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको स्थापना २०१३ सालमा भएको थियो । आफ्नो स्थापनाकालदेखि हालसम्म आइपुग्दा बारले इतिहासको विभिन्न कालखण्डमा भएका महत्वपूर्ण परिवर्तनमा अग्रगामी भूमिका निर्वाह गर्दै आएको यथार्थ सत्य इतिहासको पानामा स्वर्ण अक्षरहरुको रुपमा रही आएको छ । भविष्यमा पनि रहिरहने छ । मानव अधिकार, स्वतन्त्र न्यायपालिका र विधिको शासनको स्थापना एवम् रक्षाका लागि नेपाल बार एसोसिएसनले विभिन्न समयमा कठिन यात्राहरु पार गर्दै आएको छ ।

पञ्चायती व्यवस्थाको जर्जरतामा पनि नेपाल बार एसोसिएसनको २०४५ साल असोजमा भएको चौथो सम्मेलनले निर्दलीय वा दलविहीन शब्दलाई संविधानबाट हटाएर दलहरुउपर लगाइएको बन्देजलाई समेत हटाई बहुदलीय प्रजातन्त्रको आवश्यकता महसुस गरी प्रस्ताव पारित गर्नेजस्तो साहसपूर्ण कार्य गरेको थियो । २०४६ सालको जनआन्दोलन होस् वा २०६२÷०६३ सालको जनआन्दोलन् होस्, नेपाल बार एसोसिएसन मानव अधिकार, स्वतन्त्र न्यायपालिका र कानुनको शासनको स्थापना एवम् रक्षाका लागि सधैँ अग्रपंक्तिमा नै रहँदै आएको छ । मुलुकमा विभिन्न समयमा भएका आमूल परिवर्तनमा कानुन व्यवसायीहरुको उल्लेखनीय भूमिका रहेको छ ।

कानुन व्यवसायीहरुको पहिचान आफ्नो पेसाका लागि मात्र नभएर एउटा जिम्मेवार सामाजिक अभियन्ताको रुपमा समेत रहेको छ । एउटा सामाजिक अभियन्ताको हैसियतले एउटा कानुन व्यवसायी र यसको संगठन नेपाल बार एसोसिएसनले न्यायपालिकाको स्वतन्त्रतालाई बचाइराख्नका लागि हरपल चनाखो भइरहनुपर्दछ ।

न्यायपालिका स्वतन्त्र रहन सक्यो भने मात्र कानुनको शासनको मूल्य र मान्यता स्थापित रहन सक्छ । मुलुकमा स्वतन्त्र न्यायपालिका र कानुनको शासनलाई स्थापित गराउन कानुन व्यवसायीको भूमिका उल्लेखनीय हुनु आवश्यक हुन्छ । शुरुका दिनमा १० जना कानुन व्यवसायीहरुले निर्माण गरेको जगबाट आज ६३ वर्षसम्म आइपुग्दा सत्रौं हजार कानुन व्यवसायीहरु रहेका छन् नेपाल बारको छानाभित्र । ती सत्रौं हजार कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको यही चैत्र १६ गते हुने निर्वाचनबाट नेपाल बार एसोसिएसनमा नयाँ नेतृत्व चयन हुन गइरहेको छ ।

आगामी नेतृत्वका लागि विभिन्न दलहरुसँग आस्था राख्ने समूहहरु तथा स्वतन्त्र व्यक्तिहरुले आ–आफ्नो उम्मेदवारी दिएका छन् । जुनसुकै दलसँग आस्था राख्ने समूहहरुको बीचबाट होस् वा स्वतन्त्र उम्मेदवारहरुबाट निर्वाचित भए पनि त्यसरी निर्वाचित हुने नेतृत्वको कर्तव्य र दायित्व स्वतन्त्र न्यायपालिका, कानुनको शासन र पेसागत हकहितलाई मजबुत बनाउनका लागि नै हुनुपर्दछ । जुनसुकै दल निकट रहेर निर्वाचनमा भाग लिए पनि निर्वाचनपश्चात् सबै एउटै साझा उद्देश्य र दृढ संकल्पका साथ अगाडि बढ्न सकेमा मात्र आइपर्न सक्ने अप्ठ्यारा र चुनौतीको सामना गर्न सकिन्छ । देशको शासन व्यवस्थामा जुनसुकै दलको प्रतिनिधित्व भए तापनि नेपाल बार एसोसिएसन भने सधैँ एकढिक्का भई प्रतिपक्षको जस्तो भूमिकामा रहनुपर्दछ ।

जब राज्यका अन्य निकायहरुबाट न्यायपालिकाप्रति हुने हस्तक्षेपकारी भूमिकाले प्रश्रय पाउँछ, त्यस्तो कठिन परिस्थितिमा कानुन व्यवसायीहरु न्यायपालिकाको स्वतन्त्रतालाई जीवन्तता प्रदान गर्ने कार्यमा एकमत हुन सक्दैनन्, एकढिक्का रहन सक्दैनन् भने त्यहाँ हामी कानुन व्यवसायीले भन्ने गरेको स्वतन्त्र न्यायपालिका र कानुनको शासनको संरक्षणको दुहाइ केवल हात्तीको देखाउने दाँतजस्तो भन्दा अरु केही हुन सक्तैन ।

कानुन व्यवसायीहरु कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुन सक्छन् र नहुन पनि सक्छन् तर नेपाल बार एसोसिएसन र यसको नेतृत्व कहिल्यै पनि कुनै राजनीतिक दलको पृष्ठपोषक हुनुहुँदैन । स्वतन्त्र न्यायपालिकाको साखलाई उँचो बनाइराख्नु नै नेपाल बार एसोसिएसनको महान् कर्तव्य र जिम्मेवारी हो । स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि नेपाल बार एसोसिएसनको भूमिका सधैँ ‘वाच डग’को रुपमा रहनु आवश्यक हुन्छ । स्वतन्त्र न्यायपालिकाको दियोलाई निभ्न नदिई सधैँ न्यायरुपी प्रकाशबाट नागरिकहरुको अधिकारलाई उज्ज्वल बनाउने कार्यमा कानुन व्यवसायीहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको हुन्छ तर पछिल्ला समयमा न्यायपालिकाप्रति भएका विभिन्न किसिमका घटनाक्रमहरुले कानुन व्यवसायीहरुलाई समेत प्रभावित र विभाजित बनाउन पुगेको छ ।

न्यायपालिकामा हुने नियुक्तिका विषयमा होस् वा प्रधानन्यायाधीशउपर चालिएका महाअभियोगका विषय, प्रधानन्यायाधीशको नियुक्तिजस्ता गम्भीर विषयलाई लिएर न्यायपालिकाप्रति राज्यका विभिन्न क्षेत्रबाट प्रहार हुँदा कतिपय कानुन व्यवसायीहरु न्यायपालिकाको स्वतन्त्रताको बचाउका लागि भन्दा पनी दलीय स्वार्थको लाइनमा पंक्तिबद्ध हुन पुगेको सत्यता लुकाएर लुक्न सक्दैन । जब राज्यका अन्य निकायहरुबाट न्यायपालिकाप्रति हुने हस्तक्षेपकारी भूमिकाले प्रश्रय पाउँछ, त्यस्तो कठिन परिस्थितिमा कानुन व्यवसायीहरु न्यायपालिकाको स्वतन्त्रतालाई जीवन्तता प्रदान गर्ने कार्यमा एकमत हुन सक्दैनन्, एकढिक्का रहन सक्दैनन् भने त्यहाँ हामी कानुन व्यवसायीले भन्ने गरेको स्वतन्त्र न्यायपालिका र कानुनको शासनको संरक्षणको दुहाइ केवल हात्तीको देखाउने दाँतजस्तो भन्दा अरु केही हुन सक्तैन । राज्यको शासन सत्तामा रहेको होस् वा नरहेको कुनै दलले गलत नै कार्य गर्दा पनि दिल खोलेर समर्थन गरिदिने दलीय भक्तिपनले हामी स्वयंलाई कमजोरी बनाइरहेको हुन्छ ।

आफ्नो विचारभन्दा फरक विचार राख्ने दलले राम्रा काम गर्दा पनि विरोधको विगुल फुक्ने र आफ्नो विचारसँग निकट रहेको दलले नराम्रो गर्दा पनि ठीक ग¥यो भन्ने सोचलाई हामीले त्याग्न सकेनौं भने न त हाम्रो विद्वताको सही सदुपयोग हुन्छ, न त हामीले हाम्रा पुर्खाहरुले निर्माण गरेको नेपाल बार एसोसिएसनको धरोहरलाई मजबुत बनाउँदै लैजान सक्छौं । नेपाल बार एसोसिएसनको धरोहर कमजोर हुनु भनेको सम्पूर्णरुपमा न्यायपालिका नै कमजोर हुनु हो । न्यायपालिका कमजोर भयो भने त्यो मुलुकमा न त लोकतान्त्रिक शासन व्यवस्था नै सबल र सक्षम हुन्छ, न त कानुनको शासनको जग नै बलियो हुन सक्छ । सक्षम र सबल न्यायपालिकाको लागि बार सधैँ सक्षम, सबल र निष्पक्ष हुनु आवश्यक छ । न्यायपालिका, कानुन व्यवसाय तथा कानुन व्यवसायीको गरिमा सक्षम र सबल बार हुनुमा निर्भर रहन्छ ।

हामी भित्र कुनै न कुनै राजनीतिक दलसँग आस्था हुन सक्छ । हामीमा कुनै न कुनै राजनीतिक संस्कार हुन सक्छ । यो स्वाभाविक पनि हो तर त्यो आस्था र संस्कारलाई हामीले त्यतिखेर बाहिरै छाड्नुपर्दछ, जतिखेर हामी अदालतको ढोका होस् या बारको ढोकामा प्रवेश गरिरहेका हुन्छौं । नेपाल बार एसोसिएसन त्यस्तो स्वतन्त्र, निष्पक्ष र पवित्र संस्था बन्न सक्नुपर्दछ, जसले कुनै दल विशेषको समर्थनमा गवाह बन्ने होइन स्वतन्त्र न्यायपालिकाको संरक्षणको लागि ढाल बन्न सक्नुपर्दछ । स्वतन्त्र न्यायपालिकाको संरक्षण हुन सक्यो भने मात्र कानुन व्यवसायीको उद्देश्यले सार्थकता प्राप्त गर्न सक्छ । राज्यको शासन पद्धतिमा समयसापेक्ष परिवर्तन आउँछ । यो स्वाभाविक प्रक्रिया हो ।

हामीले हालका दिनसम्म आइपुग्दा विभिन्न शासन व्यवस्थाहरुको प्रयोग र अनुुभव ग¥यौं । कतिपय शासन पद्धतिलाई जनताले नरुचाएको कारण मृत हुन पुगे तर स्वतन्त्र न्यायपालिकाको गरिमा सधैँ जीवन्त रहेको छ र रहिरहनुपर्दछ । यसलाई जीवन्त राख्नका लागि कानुन व्यवसायीको अमूल्य देन रहनुपर्दछ । न्यायपालिका कमजोर हुन पुग्यो भने जनताको अधिकारको संरक्षण हुन सक्तैन । न्यायपालिकाको स्वतन्त्रतालाई पवित्र र मजबुत राख्न सकिएन भने बार पनि अपांगजस्तै बन्न पग्छ । यी महत्वपूर्ण सवालमा कानुन व्यवसायीहरु र खासमा कानुन व्यवसायीको संगठन नेपाल बार एसोसिएसनले गम्भीर भएर लाग्नुपर्दछ ।

नेपाल बार एसोसिएसन नयाँ नेतृत्वको पर्खाइमा रहेको छ । नयाँ नेतृत्वलाई विभिन्न किसिमका चुनौतीहरु छन् । आगामी चुनावबाट निर्वाचित नेतृत्वले नेपाल बारलाई राजनीतिक उद्देश्य प्राप्तिको लागि भ¥याङको रुपमा प्रयोग गरिनुहुँदैन । न्यायाधीश वा अन्य कुनै निकायमा नियुक्तिका लागि बायोडाटा बनाउने उद्देश्यबाट बारलाई प्रयोग गर्नु कदापि राम्रो हुँदैन । कानुन व्यवसायप्रति आमव्यक्तिको झुकाव हुन थालेको छ । आज एक्काइसौं शताब्दीमा कानुन व्यवसायको दायरासमेत निकै फराकिलो हुँदै गएको छ ।

विभिन्न विधामा विशेषज्ञ हासिल गरेका कानुन व्यवसायीहरु दिन–प्रतिदिन वृद्धि हँुदै गएको अवस्थामा त्यस्ता कानुन व्यवसायीहरुको नेतृत्व लिने व्यक्तिमा साहस, दृढता र योग्यताको आवश्यकता रहन्छ । अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गर्न सक्ने दक्ष कानुन व्यवसायीहरुको उत्पादन गर्नका लागि कानुन अध्ययन–अध्यापन हुने शैक्षिक संस्था, नेपाल बार काउन्सिलजस्ता निकायसँगको समन्वयमा नेपाल बार एसोसिएसनको नेतृत्वले हरपल पहलकदमी गर्नुपर्दछ ।

अदालतबाट हुने दैनिक काम–कारबाहीमा ढिलासुस्ती हुने गरेको, न्यायपालिकामा भ्रष्टाचार व्याप्त रहेको, न्यायप्रणाली महँगो हुँदै गएको, न्याय सम्पादनको कार्य निष्पक्ष हुन नसकेको जस्ता विषयहरु व्यापक चर्चाका विषय हुने गरेको पाइन्छ । यस्ता विषयहरुमा नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने हुन्छ । आगामी निर्वाचनबाट निर्वाचित नेतृत्व मानव अधिकार, कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको गरिमालाई उचो राख्ने कार्यमा हरपल लागिरहोस् । नेपाल बार एसोसिएसनको साखलाई किञ्चित डगमगाउन नदिने कार्य गर्न सकोेस् । आगामी नेतृत्वसँग यही अपेक्षा ।
(लेखक इटानी अधिवक्ता हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्