उपाधि लुम्बिनी खुकुरीलाई



बुटवल, (नेस)
नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब बेलहियाले जितेको छ ।

शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा खुकुरीले शिवशक्ति क्रिकेट क्लब भैरहवालाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक र नवौंपटक उपाधि चुम्न सफल भएको हो । विजेता खुकुरीले ७५ हजार तथा उपविजेता शिवशक्तिले ३५ हजार रुपैयाँ प्राप्त गरे । जितका लागि शिवशक्तिबाट पाएको ९० रनको झिनो लक्ष्य खुकुरीले १४.१ ओभरमा १ विकेट क्षतिमा ९५ रन बनाउँदै पुरा गर्यो । टोलीका लागि शंकर रानाले नटआउट हुँदै ५१ रन बनाए भने अन्तिम थापाले नटआउट बन्दै ३३ रन जोडे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शिवशक्तिले निर्धारित ५० ओभरको खेलमा ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो । टोलीका लागि हरजित सिंहले नटआउट रहँदै ४३ रन बनाएका थिए । बलिङमा खुकुरीका साहव आलमले ५ तथा रमेश कुर्मीले ३ विकेट लिए ।

प्रतियोगितामा साहव आलम म्यान अफ द फाइनल, शंकर राना म्यान अफ द सिरीज र बेष्ट ब्याट्सम्यान र वेस्टर्न क्रिकेटका विक्रम सोब बेष्ट बलर घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्