निर्माणको १७ औं उपाधि



काठमाडौं, (नेस)
काभ्रेका निर्माण बोगटीले प्रथम साकुरा राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जमलस्थित आयोजक साकुरा स्नुकर क्लबमा भएको ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा निर्माणले तनहुँका अमिर श्रेष्ठलाई ६–३ को फ्रेममा पराजित गरेका हुन् । घरेलु स्नुकरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा निर्माणले अमिरलाई ६४–५३, ५२–६४, १११–२३, ११६–३७, १२४–१२, २–११३, ३४–५८, ८४–३४ र १०८–३० ले पन्छाएका थिए ।

करिब २० वर्षको करियरमा निर्माणको यो १७ औं उपाधि हो । राष्ट्रिय स्तरको प्रतियोगितामा भने ३६ वर्षीय निर्माण पहिलो पटक च्याम्पियन बनेका हुन् । यो सहित निर्माणले तीन राष्ट्रिय स्तरका प्रतियोगिता खेलेका छन् । अमिरको भने ७ वर्षको खेल जीवनमा यो नै पहिलो प्रतियोगिता हो ।

उपाधिसंगै निर्माणले १ लाख १० हजार नगद पुरस्कार हात पारे भने अमिरले ४० हजार नगदमा चित्त बुझाए । निर्माणले अर्को उपाधिका रुपमा सर्वाधिक ब्रेककर्ताको उपाधि पनि चुमे । उनले ९३ को ब्रेक गरेका थिए । सुनसरीका सञ्जय वज्राचार्य उत्कृष्ट खेलाडी घोषित भए । १६ वर्षीय मोरङका आयुश गौतम सहभागी मध्ये कान्छा खेलाडी भए ।

प्रतिक्रिया दिनुहोस्