माथिल्लो तामाकोसीमा मन्त्रीको आकस्मिक निरीक्षण



चिरञ्जीवी मास्के, दोलखा
ऊर्जामन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको आकस्मिक निरीक्षण गर्नु भएको छ । मन्त्री पुन शुक्रबार राति करिब १०ः३० बजे आयोजनास्थल लामाबगर पुग्नु भएको थियो ।

शनिबार मन्त्री पुनले आयोजनाको बा“धस्थल, सुरुङ, माथिल्लो पेन स्टक, तल्लो पेन स्टकको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गर्नु भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना प्रमुख दिनेशजंग राना, आयोजनाका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठलगायतको साथमा आयोजना स्थल पुग्नु भएका मनत्री पुनले स्थलगत निरीक्षण पछि आयोजनालाई निर्धारित समयमा सक्न निर्देशन दिनु भएको थियो ।

स्थलगत निरीक्षणको क्रममा मन्त्री पुनले आफू आयोजनाको समस्या पहिचान गर्न र समस्या समाधानको लागि सहजिकरण गर्न नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय योजना आयोग र माथिल्लो तामाकोशी आयोजनाको टिमका साथ आयोजना स्थलमै आएको बताउनुभयो ।

मन्त्री पुन आयोजनास्थलको निरीक्षण गर्न सुटुक्क लामाबगर पुगेपछि दोलखाका स्थानीय निकाय र जनप्रतिनिधिहरुले आफुहरुलाई जानकारी नै नदिई आएको भन्दै गुनासो गरेका छन् । शनिबार लामाबगर नै पुगेका नेकपाका नेता एवं दोलखा प्रदेश २ का सांसद पशुपति चौलागाईले पनि मन्त्री पुनलाई बाटोमा भेटेको प्रतिक्रिया दिनुभयो । आफूलाई मन्त्री आउने जानकारी नभएको र लामाबगरबाट फर्किदै गर्दा मन्त्रीलाई बाटोमा भेटेको प्रदेश सांसद चौलागाईले बताउनुभयो ।

आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले मन्त्री निरीक्षणमा आउने कुरा अघिल्लो दिनमात्र जानकारी भएकोले सबैलाई खबर गर्न नसकिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्