राजनीतिसँगै कृषि कर्ममा युवा




लम्की, ‘राजनीति पेशा होइन, समाजसेवा हो’ भन्ने मान्यतालाई राजनीतिमा लागेका कैलालीका केही युवाले व्यवहार मै उतार्न थालेका छन् । उनीहरु जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा अघि बढाउने प्रयासमा छन् ।

मातृका तिमिल्सेना तत्कालीन नेकपा एमालेका केन्द्रीय प्रचार विभाग सदस्य हुन् । चार वर्षदेखि उनी राजनीति सँगसँगै कृषि पेशा अङ्गालिरहेका छन् । उनले तरकारीखेती र निजी वनलाई आफ्नो आय स्रोतको रुपमा लिएका छन् ।

“पछिल्लो पटक राजनीतिमा लाग्ने मानिसहरु भ्रष्टाचारमा संलग्न छन् भन्ने आमगुनासो छ,” तिमिलसेना भन्छन् – “सामाजिक रुपमा हेर्दा राजनीति मात्रै गर्नेको जीवनशैली रवाफिलो देखिन्छ, जसले जनताको मनमा प्रश्न उब्जाइदिएको छ । यसलाई तोड्न पनि कृषि कर्ममा जोडिएको हू“ ।”

उनले थपे – “समय व्यवस्थापन गर्ने कुरा हो । मैले पहिलेको तुलनामा अझ बढी राजनीतिमा समय दिन सकेको छु । मलाई पहिलेजस्तो आर्थिक समस्या छैन । राजनीतिमा लाग्दा अरुको मुख ताक्नु परेको छैन ।”

मातृका जस्तै पूर्वलडाकू शिव थापाले पनि कृषिलाई पेशा बनाएका छन् । थापा तत्कालीन माओवादीको जनमुक्ति सेनाका कमाण्डर हुन् । विसं २०७४ मा भएको स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिकाको प्रमुखमा चुनाव लडेका थापा थोरै मतले पराजित भए । राजनीतिमा जतिको सक्रिय छन्, त्यतिकै आफ्नो पेशालाई समेत व्यवस्थित बनाएका छन् । थापाले २०७० सालदेखि भैंसीपालन शुरु गरेका हुन् र अहिले यही व्यवसाय उनका लागि आत्मनिर्भर बन्ने बाटो बनेको छ । उनले खेती सँगै केराको चिप्स उत्पादन गर्न थालेका छन् ।

त्यस्तै, अनेरास्ववियुका नेता रंग अधिकारीले कृषि पेशा अङ्गालेको १२ वर्ष भयो । माछापालनबाट कृषि पेशा अङ्गालेका उनले हाल माछापालन सँगै तरकारीखेती, जडीबुटीखेती, बङ्गुरपालन, निजी वन र मौसमअनुसारको खेती गरिरहेका छन् । उनी भन्छन् – “कम्तीमा चार बिघा जमीनमा व्यावसायिक खेती गर्ने हो भने नेपाल सरकारको अधिकृतले कमाउने सरहको कमाइ गर्न सकिन्छ ।” राजनीतिलाई धेरैले पेशा बनाउँदा राजनीतिप्रति जनताको विश्वास घटेको अनुभव सुनाउँदै उनले राजनीतिसँगै कृषिमा लाग्नुका कारण प्रष्ट्याए ।

“राजनीति गर्न चाहिने आर्थिक स्रोत आफैंले जुटाउन पर्छ भन्ने ठानेर कृषि पेशा रोजेको हु“, यसले मलाई आत्मनिर्भर बन्न पनि सघाएको छ,” अधिकारी भन्छन् – “नेपालमा कृषि पेशा गर्नेको सङ्ख्या घट्दै गएको छ । सबैजसो युवाले विदेश ताक्न थालेका छन् । मैले यही मेहनत गरेर राम्ररी जीविका चलाएको छु ।”

एकीकरण पछि हाल नेकपा बनेको तत्कालीन माओवादी केन्द्रका नेता युवराज शर्माले पाँच वर्षदेखि घाँसको बीउ उत्पादन गरिरहेका छन् । स्नातकोत्तरसम्मको शिक्षा आर्जन गरेका शर्माले कैलालीको टीकापुरमा ४० विघामा घाँस खेती गरिरहेका छन् । शर्माले टियोसेन्टी ९मकैचरी० र हिउँदमा जमातो ९जै० घाँसको बीउ उत्पादन गर्ने गरेका छन् । “घाँसको बीउ राम्रै उत्पादन भएको छ,” शर्माले भने । उनले उत्पादन गरेका घाँसको बीउलाई पशुसेवा कार्यालयहरु, एग्रोभेट र पशुपालक किसानहरुले किन्ने गरेका छन् । शर्मा भन्छन् – “बीउ गुणस्तरीय हुने हो भने मासु र दूध उत्पादनमा वृद्धि हुन्छ । पढेलेखेका युवाले कृषिमा भविष्य बनाउन सक्छन् र यो आर्थिक सशक्तीकरणको एक माध्यम पनि हो भन्ने उदाहरण दिन यो पेशामा लागेको हूँ । ”

शर्मा पनि कृषिसँगै राजनीतिमा उत्तिकै सक्रिय छन् । उनी भन्छन् – “मेरो व्यवसायले मलाई अप्ठेरो होइन, बरु सजिलो बनाएको छ । मलाई अझ समाजसेवामा सक्रिय हुने अवसर मिलेको छ ।”

कृषि शाखा टीकापुरले पछिल्लो समय कैलालीमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको जनाएको छ । कृषि अधिकृत गौरीशंकर गुप्ता भन्छन् – “कृषिलाई व्यावसायिक रुपमा गर्ने हो भने राम्रो कमाइ गर्न सकिन्छ । स्थानीय बासिन्दालाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न पनि कृषि कार्यालयले सघाउँदै आएको छ ।” उनका अनुसार पछिल्लो समय कृषिमा राजनीतिमा लाग्ने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको छ । कैलाली जिल्लामा रानी, जमरा र कुलरिया सिँचाइ आयोजना सञ्चालनमा छ । ती आयोजनाले पनि कृषि पेशामा लाग्ने कृषकलाई बीउ अनुदान, प्राविधिक सहयोग जस्ता कार्यमा सघाउँंदै आएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्