त्यसो भए अच्छा हुन्थ्यो कि !



मौसम र मायाको भर हुन्न भन्छन्, कुरो साँच्चै हो कि क्या हो? मौसम कुन बेला खुल्ने, कुन बेला धुमिने अनि कुन बेला आकाशबाट बरर बर्सिने टुङ्गै हुन्न भन्या । बिहान घरबाट निस्कँदा घाम चर्किएको देख्दादेख्दै बाक्लो लुगा लाउने कुरो भएन, तर के गर्नु, २÷३ बजेसी मौसम ठसक्क ठुस्किएसी मध्य हिउँदझै जाडो हुन्छ बा । यस्तो भएसी मौसमको भर परेर भयो र भन्या ?

मायालुको कुरो पनि उस्तै । हिजो हाँसीखुसी ‘लभ यु’, ‘मिस यु’ भन्दै छुट्टिएकी मोरी आज भेट्दा बुझिनसक्नुहुन्छ, लाग्छ कि ब्वाइफ्रेन्डसँग हिजो उनको ठूलै वार भएको थियो । बिचरा ब्वाइफ्रेन्ड फकाउँदाफकाउँदा हैरान भा देखिन्छ । पाठकवृन्दलाई धरहरा पनि पूरै ‘बायस’ भयो, ब्वाइफ्रेन्डको पक्ष लियो भन्ने लाग्ला तर साँच्चै सर्वेक्षण नै गर्ने हो भने पीडित ब्वाइफ्रेन्डको संख्या धेरै फेला पर्छ ।

त्यस्तो त मौसम कस्तो हुन्छ, गर्मी, तातो, चिसो वा पानी बर्सिने÷नबर्सिने खबर मौसम विभागले बताउँछ । त्यो खबर अगाडि नै थाहा पाउनेलाई त गज्जबै हुन्छ क्यार । तर अब मायालुको मन कुन बेला खुल्ने हो, खुम्चिने वा ठुस्किने हो त्यो खबर पनि अग्रिम रुपमा बताउने निकाय भएदेखि सारै अच्छा हुन्थ्यो क्यार ।

प्रतिक्रिया दिनुहोस्