१ सय ८४ किलो गाँजासहित कार नियन्त्रणमा



हेटौंडा ।
पछिल्लो समय गाँजा नियन्त्रणमा मकवानपुर प्रहरी निकै कठोर बनेको देखिएको छ । केही समययता प्रहरीले यसबारे विशेष चासो दिएको पाइएको हो । गाँजाको उत्पादन क्षेत्रमै आफ्नो कठोर उपस्थिति जनाउँदै आएको प्रहरीले तस्करीमा संलग्न र भरिया पक्राउ गर्ने क्रम जारी राखेको छ ।

शनिबार प्रहरीले १ सय ८४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरिएको छ । विहान करिब ४ः३० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झासहित टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–७ का बलराम भनिने चन्द्रबहादुर चेपाङको घरबाट ६१ किलो ५ सय ग्राम गाँजा र भरुवा बन्दुक एक थान बरामद गरेको छ ।

घर खानतलासी गर्दा चोटामा लुकाइछिपाइ ७ वटा बोरामा राखिएको गाँजासहित वर्ष ४५ का चेपाङलाई पक्राउ गरिएको हो । उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना तथा मुलुकी अपराध संहिता ऐन, २०७४ परिच्छेद ६ को हातहतियार तथा खरखजाना कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुने प्रहरीले बताएको छ ।

विहान करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहसमेतको टोलीले हेटौंडा–१५ स्थित पूर्वपश्चिम लोकमार्गमा चेक गर्दा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको भारतीय कारबाट गाँजा बरामद गरेको छ ।

डब्लुबी–०६–६३०९ नम्बर कार चेक गर्दा कारचालक पूर्वी चम्पारण मोतीहारी बस्ने भारतीय नागरिक वर्ष ३० का विष्णुकुमार साह, वर्ष २८ का अहमद गुल्जार र वर्ष ३० की रेणुदेवीले कारको डिकीमा फल्स बटम बनाएर राखेको ३० वटा पोका (४५ किलो) गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना र कार जफत हुने कानुनी प्रावधान रहेको प्रहरीले पत्रकार सम्मेलन गरी जनाएको छ ।

शनिबार विहानै प्रनि झासहित टोलीले राक्सिराङ गाउँपालिका–७ मा दीप्सन भनिने सर्गलाल प्रजाको घर खानतलासी गरी प्लास्टिकका तीन वटा बोरा र पोकामा लुकाइ राखिएको गाँजा ४९ किलो, भरुवा बन्दुक थान १, सानो ब्याट्री थान ३, ससाना ढुंगाका टुक्रा २५ वटा, आल्मुनियमको एक सय एमएलका बोतलमा एक सय ग्राम बारुद, रोल पटाका थान १ बरामद गरेको छ ।

अर्को घरको चोेटामा लुकाइराखेको गाँजा २९ किलो ५ सय ग्राम, भरुवा बन्दुक थान १ समेत गरी वर्ष २० का प्रजालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्