पुङमाङ नगरी चौपट नेता



दुनियाँमा केही मुलुक छोडेर प्रायः मानिसहरु आफ्नो देशमा लोकतन्त्र आएको चाहन्छन् । कारण लोकतन्त्र आएपश्चात् मानिसहरु आफ्नो मौलिक हक–अधिकारबाट वञ्चित हुनुपर्ने हुँदैन तर कुनै मुलुकमा भने जहाँ राजाहरु राम्रा हुन्छन् त्यहाँ सुख–सुविधा, सहुलियत पाउनुका साथै विकास पनि भइरहेको हुन्छ ।

हाम्रो एउटा यस्तो मुलुक हो, जहाँ राजतन्त्र होस्, लोकतन्त्र होस्, गणतन्त्र होस्, विकास भने सधैँ कछुवाको गतिमा गइरहेको हुन्छ । यसमा समाज, प्रशासन तथा सरकारहरु उत्ति नै भागिदार हुन्छन् । यी सब हुनुको कारण लालच, स्वार्थी तथा शिक्षाको कमीलाई नै मान्न सकिन्छ । जुन मुलुकमा आयस्रोत बढी हुन्छ त्यहाँ सरकारहरुको कर्तव्य तथा दायित्व हुन आउँछ सर्वसाधारणलाई शिक्षा, स्थास्थ्य, खाद्यान्न सस्तोमा उपलब्ध गराउनु । तर हाम्रो मुलुकमा देश चलाउनेहरुको सधैँ विलासिता जीवनमा समय गुज्रिराखेको हुन्छ भने प्रायः सर्वसाधारणको जिन्दगी अलि अप्ठ्यारो तरिकाले गुज्रिराखेको हुन्छ । यसमा सर्वसाधारणमा शिक्षाको कमी, कमजोरी र देश चलाउनेहरुमा कम क्षमता अनि ज्ञानको कमी मूल कारण हो ।

यसले गर्दा सबै पक्ष उत्ति नै भागीदार हुन आउँछन् । जुन सरकार आए पनि यदि मुलुकमा भएको जलस्रोत, कृषि, पर्यटन क्षेत्रलाई मात्र दु्रतगतिमा विकास गर्ने हो भने हाम्रो जस्तो मुलुकमा न त विदेशीसँग हात फैलाउनुपर्ने जरुरत हुन्छ, न सर्वसाधारणसँग करको लागि सरकारलाई टेन्सन लिनुपर्ने जरुरत हुन्छ । अहिलेको परिप्रेक्ष्यमा हाम्रो जस्तो मुलुकमा कर रकम, रेमिट्यान्स, दाताबाट आएको रकमले गर्दा रकमको कमी छैन । तैपनि उद्योग धराशायी, व्यापार घाटा, निर्यातमा कमी, ऋणको भार, बेरुजु रकम आदि समस्या ज्यूँका त्यूँ नै छन् । सरकार भने पहिला यस्ता समस्या सुल्झाउन छोडेर ठूला–ठूला महात्वाकांक्षाका पछि दौडिराखेको हुन्छ ।

संसारमा टिभी, कम्प्युटर, मोबाइल सफ्टवेयर र इन्टरनेटको विकासले तहल्का मच्चाइरहेको छ । हाम्रो देशमा पनि यिनीहरुको विकास भइरहेको छ । यसलाई सराहनीय मान्नुपर्दछ । तैपनि हाम्रो मुलुकका केही आन्तरिक समस्या भने कहिल्यै समाधान भएनन् । यी समस्या समाधानको विकास हुनु पनि उत्ति नै जरुरी छ । हाम्रो मुलुकमा साना–ठूला समस्या त छँदै छन् ।

जुन सरकार आए पनि पहिला यस्ता समस्या निराकरण गर्न चाँहदैन । यसबाहेक थप समस्या पनि उस्तै छन्, जुन सर्वसाधारणबाट छिपेको छैन । भष्टाचारको कुरा गर्ने हो भने, अहिलेसम्म यसप्रति सरकारले कुनै कडा कानुन कायम गर्नेप्रति चेष्टा गरेको देखिँदैन । महँगी नियन्त्रण, मूल्य नियन्त्रण, प्रायः पसलैपिच्छे भाउ फरक, यसमा व्यवसायीहरुको मनोमानी हो वा सरकारको कमजोरी हो ? यो कुरा बुझ्न गाह्रो भएको छ । सरकार यस्ता कुरामा सधैँ कानमा तेल हालेर बसिराखेको हुन्छ ।

यो मुलुकमा फोहोरको कुरा गर्ने हो भने, अहिलेसम्म फोहोरबाट कम्पोस्ट मल निकाल्ने प्रविधितिर सरकारको ध्यान गएको देखिँदैन । न फोहोर निर्मूल गर्नतिर कडा भएको देखिन्छ । मुलुकमा यातायातको समस्या हेर्ने हो भने सधैँ उस्तै छ । सवारीमा खचाखच, बाटोमा यत्रतत्र चौपाया अनि ट्याक्सीबाट सर्वसाधारण ठगिनेजस्ता समस्या ज्यूँका त्यूँ छन् । तैपनि सरकारको नौटंकी र अनावश्यक गफको अन्त्य कहिल्यै भएन यो मुलुकमा । अरु त के कुरा गरौं, हरेक घाटहरुमा मेसिनबाट मुर्दा जलाइने मेसिनसम्म व्यवस्था गर्न सकेनन् यहाँका सरकारहरुले । कमसे कम यति त गर्नुपर्ने हो सरकारले ।

राष्ट्रको लागि राम्रो भावना राख्नु प्रत्येक नागरिक र सरकारको कर्तव्य तथा दायित्व हो, जुन हाम्रो मुलुकमा छैन । यी कुराहरु हाम्रो मुलुकको लागि दुःखदायी तथा विडम्बना नै हुन् । शायद यस्तै समस्याले गर्दा हिन्दी भाषामा पनि एउटा उखान छ– ‘अँधेर नगरी चौपट रोजा’ । तर हाम्रो जस्तो लोकतन्त्र तथा सोझा जनता र नेताहरुको राज भएको मुलुकमा हामी यति मात्र भन्न सक्छौं– ‘पुङमाङ नगरी चौपट नेता’ ।
– रमेशकेशरी वैद्य, छत्रपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्