नेपाल समूह विजेता बन्यो



सरोज यादव, विराटनगर
विराटनगरको सहिद रंगशालामा जारी पाँचौं साफ च्याम्पियनसिप फुटबलमा लगातार दुई खेल जित्दै आयोजक नेपाल समूह विजेता बनेको छ ।
शनिबारको खेलमा नेपालले बंगलादेशलाई ३–० गोलले पराजित गरेको हो ।

पहिलो हाफमा गरेको ३ गोल नै नेपालको विजयका लागि पर्याप्त भयो । दोस्रो हाफमा भने खेल सुधारेर मैदान प्रवेश गरेको बंगलादेशको प्रयास सफल हुन सकेन । खेल अवधिभर नेपालकी फरवार्ड सावित्रा भण्डारी छाएकी थिइन् । उनले पहिलो हाफमा एक गोल गर्नुका साथै एक गोलको अवसर समेत सिर्जना गरेकी थिइन् ।

नेपालले आत्मघाति गोलबाट सूरुवाती अग्रता लिएको थियो । खेलको छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको हेड बलले पोस्टको दिशा लिएपछि नेपालले अग्रता लियो । खेलको २३ औ मिनेटमा बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई समेत छलाउँदै सावित्राले नेपालको अग्रता दोब्बर पारेकी थिईन् । उनको यो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय खेलमा गरेको २४ औं गोल हो । क्रिष्टियानो रोनाल्डोका फ्यान सावित्रा अर्थात साम्बाले गोल गरेपछि कर्नरमा पुगेर रोनाल्डो शैलीमा गोलको सेलिब्रेशन मनाएकी थिइन ।

त्यस लगत्तै उनको पासमा मञ्जली कुमारी योञ्जनले अर्को गोल थपिन् । बंगलादेशविरुद्व नेपालले सुरुवातबाटै निरन्तर दबाब बढाएको थियो । नेपालले डिफेन्स, मिडफिल्डर र फरवार्ड लाईनमा सुधारिएको खेल प्रर्दशन गरेको छ । नेपालले कसिलो डिफेन्सको नमुना प्रस्तुत गर्दा बंगलादेशी खेलाडीले नेपाली पोस्टमा धावा बोल्न सकेनन् । शनिबारको प्रतिस्पर्धामा बंगलादेश पराजित भएपनि अन्तिम चारमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्