प्रथम काभ्रे गोल्डकप चैत्र ७ बाट



मोतीराम तिमल्सिना, काभ्रे
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक ठुलो धनराशी पुरस्कार भएको फुटबल प्रतियोगिता आयोजना गरिएको छ । ‘प्रथम काभ्रे गोल्डकप २०७५’ का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका बारेमा जानकारी गराईएको हो ।

चैत्र ७ गते देखि १७ गतेसम्म धुलिखेलको खेल मैदानमा काभ्रे जिल्ला फुटबल संघको आयोजनामा हुने उक्त प्रतियोगितामा ए डिभिजनका ६ वटा क्लब सहभागि हुनेछन् भने आयोजक जिल्ला सहित छिमेकी जिल्ला फुटबल संघहरु समेत गरी १० वटा टिम सहभागि हुनेछन् । संकटा क्लव, नेपाल आर्मी क्लव, एपिएफ क्लव, जावालाखेल क्लव, फ्रेण्डस क्लव, प्ले फर अत्तरिया स्पोर्टस क्लव कैलाली सहभागि हुनेछन् । त्यस्तै काभ्रे जिल्ला फुटबल संघ, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ समेत गरी १० वटा टिम सहभागि हुने प्रथम काभ्रे गोल्डकपका मुख्य संयोजक एवं काभ्रे जिल्ला फुटबल संघका उपाध्यक्ष निरोज श्रेष्ठले बताए ।

गोल्डकपका लागि धुलिखेल, बनेपा, पनौती, नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर नगरपालिका, तेमाल, बेथान्चोक, रोशी गाउँपालिकाले सहयोग गरेका छन् । फुटबलको माध्यमबाट जिल्लाको प्रचार प्रसार एवं प्रर्वद्धन गर्दै जिल्लाबाट उत्कृष्ट खेलाडीहरुको पहिचान गरी राष्ट्रिय स्तरका खेलाडीहरु तयार गर्ने उदेश्यले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष महेश कुमार कर्माचार्य, महासचिव किशोर बरुण लगायतले जिल्लाको फुटबलको विकासका लागि गोल्डकपले महत्वपूर्ण भूमिका खेल्ने बताए । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले प्रतियोगिताको निरन्तरताका लागि संघले प्रायोजकहरुको खोजी गर्न तथा खेलाडीहरु उत्पादनमा ध्यान दिन अनुरोध गरेका थिए ।

प्रतियोगितामा विजयी हुने टिमले नगद ४ लाख रुपैया प्राप्त गर्नेछ भने दोश्रो हुनेलाई २ लाख रुपैया प्रदान गरिनेछ । पुरस्कारका लागि १० लाख रुपैया खर्च हुने आयोजकले जानकारी दिएका छन् । खेला मैदान पूर्वाधार निर्माण, खेल सामाग्री लगायतमा झण्डै ४५ लाख रुपैया खर्च हुने संयोजक निरोज श्रेष्ठले बताए । दर्शक टिकट समेत राखिएको उक्त प्रतियोगितामा सहभागि हुन आयोजकले जिल्लाबासीहरुलाई आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा ब्यवसायी तथा समाजसेवी जंगबहादुर जंगमले जिल्लाका खेलाडीहरुका लागि टिर्सट हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्