कुहिएका खाना खुवाउने विद्यालयप्रति जनआक्रोश



बेइजिङ, (एजेन्सी)
चीनको अत्यन्तै प्रतिष्ठित विद्यालयमध्ये एकको क्यान्टिनमा म्याद नाघेका र कुहिएका खाद्यान्नको थुप्रो फेला परेपछि सर्वसाधारण जनता निकै आक्रोशित हुन पुगेका छन्। चेंग्दु नम्बर ७ एक्सपेरिमेन्टल हाइस्कुलमा ढुसी परेको रोटी र कुहिएका मासु तथा सामुद्रिक खाद्यपदार्थ फेला परेका हुन्।

एक जना आक्रोशित अभिभावकले ती खाना हेर्दै डरालाग्दा र घिनलाग्दा देखिएको तथा तिनीहरू सुंगुरलाई खुवाउन मात्र लायक भएको बीबीसीलाई बताएका छन्। सो विद्यालयले क्षमायाचना गर्दै यस घटनाको कारण निकै लज्जित हुनुपरेको स्वीकारेको छ।

चीनमा खाद्यान्न सुरक्षा वा गुणस्तर सम्बन्धमा लापरबाही हुनु असामान्य घटना होइन। यस्तो घटनाका कारण पटक–पटक सर्वसाधारण आक्रोशित हुने गरेका छन्। चीनको सिचुआन प्रान्तको राजधानी शहर चेंग्दुस्थित उक्त निजी हाइस्कुलमा सोमबार केही अभिभावकलाई वृक्षरोपण कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएका बेला यस काण्डको भण्डाफोर भएको हो।

ती अभिभावकहरू स्कुलको भान्छाघरमा किने पसे भन्ने कुरा स्पष्ट हुन सकेको छैन। तर लुलु लुओ नामक एक जना अभिभावकले बीबीसीलाई भनेका छन्– ‘गत नोभेम्बरको शुरूमा यस विद्यालयका थुप्रै विद्यार्थीमा पेट दुख्ने, कब्जियतलगायत अन्य धेरै स्वास्थ्यसम्बन्धी समस्या देखापरेको थियो।’

आफ्ना छोरा र छोरी पढाउँदै आएका एक अर्का अभिभावकले ती खाद्यपदार्थ वर्षौंदेखि फ्रिजमा राखिएको जस्तो देखिएको र सुंगुरको मासु गन्हाएको तथा अदुवाको हालतसमेत हेर्न लायक नभएको बताएका छन्। यस निजी विद्यालयमा अन्य सरकारी विद्यालयमा भन्दा करिब २० गुणा बढी अर्थात् अभिभावकले वर्षको ५ हजार ८ सय अमेरिकी डलर तिर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्