साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरूआत



सरोज यादव, विराटनगर

आयोजक नेपालले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ।

विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै सुखद् शुरूआत गरेको हो। नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे।

नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो। खेलको १३औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो। १६औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन्। एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो

सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा राम्रो अवसर गुमाइन्। उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन्। त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन्।

खेलको ५५औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी थिइन्। उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन्। खेल अवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो। एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो। उता, भुटानले भने एक पटक पनि नेपालको पोस्टमा प्रहार गर्न सकेन। नेपालले अब समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्दै छ।

महिला टोली नगदसहित सम्मानित
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरेको छ। विराटनगरमा एन्फाले ओलम्पिक खेलकुदको दोस्रो चरण पुगेको र भारतमा सम्पन्न हिरो महिला गोल्डकपको उपविजेता बनेको टोलीका प्रत्येक सदस्यलाई दुई वटा प्रतियोगितामा गरी ५०–५० हजार पुरस्कार दिएको हो। रेखा पौडेल, रूपा रानामगर, रञ्जना दर्जी, दीपा न्यौपाने, अनु लामा, सर्मिला थापा र पूजा राणाबाहेक सबै खेलाडीले एक लाख पाएका छन्। रेखा, रूपा, रञ्जना, दीपा, अनु, शर्मिला र पूजाले भने जनही ५० हजार पाएका हुन्।

यसैगरी अन्जना राना मगर, अन्जिला तुम्बाप्पो सुब्बा, मन्जली कुमारी योञ्जन, निरु थापा, विमला चौधरी, दीपा राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनीता केसी, अनीता बस्नेत, हीराकुमारी भुजेल, सवित्रा भण्डारी, अमृता जैसी, पुनम जर्घा मगर, मनमाया लिम्बू, कविता धिमाल र गीता राना मगरले एक–एक लाख पाए।

त्यस्तै, विराटनगर महानगरपालिकाले मोरङबाट राष्ट्रिय टिममा परेका तीनजना खेलाडीलाई ब्रान्ड एम्बेसडर घोषणा पनि गरेको छ। सरु लिम्बू, मनमाया लिम्बू र कविता धिमाललाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ब्रान्ड एम्बेसडर घोषणा गरेका हुन्।

मेयर पराजुलीले नेपाली महिला फुटबल टिम जुनसुकै प्रतियोगितामा पनि सक्षम रहेको दाबी गर्दै पुरुष टोलीसँग पनि भिड्न सक्ने बताए। विराटनगर महानगरपालिकाले छोरी बचाउ अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै नेपाली टोलीले च्याम्पियनसिप जितेमा महानगरले टोलीका सबै खेलाडीहरूलाई थप नगद पुरस्कार दिने घोषणासमेत गरे।

प्रतिक्रिया दिनुहोस्