साफ च्याम्पियनसिपः नेपालको सुखद सुरुवात, भुटान ३–० गोलअन्तरले पराजित



विराटनगर ।
आयोजक नेपालले पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरको शहीद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

नेपालको जितमा कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले गोल गरे । नेपालले मध्यान्तरसम्म दुई गोल र मध्यान्तरपछि थप एक गोल गरेको हो । खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा नेपालले अग्रता लिएको थियो ।

१६ औं मिनेटमा सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् । एकपछि अर्को दबाब बनाएको नेपालले पहिलो हाफमा एकपछि अर्को गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन् ।

उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन् । त्यस्तै, पहिलो हाफको अन्तिम समयमा अनिता बस्नेतले प्रहार गरेको बल भुटानका गोलरक्षकले बचाएकी थिइन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् ।

उनले सावित्राको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् । खेलअवधिभर नेपालले भुटानलाई दबाबमा राखेको थियो । एकपछि अर्को प्रहार गरेको नेपालले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । यता, भुटानले भने एक पटक पनि नेपालको पोष्टमा प्रहार गर्न सकेन । नेपालले अब समूह चरणको अन्तिम खेलमा १६ तारिखमा बंगलादेशसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्