महिला भलिबललाई केएनपीको प्रायोजन



काठमाडौँ, (नेस)
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गर्ने भएको छ ।
आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच प्रायोजन सम्झौता–पत्र आदान–प्रदान भएको हो । सम्झौतापछि प्रतियोगिताको नाम पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबल घोषणा भएदेखि नै लगातार तेस्रो पटक मुख्य प्रायोजन गर्न लागिएको हो । केएनपी जापानले आपसी समझदारीमा नगद लगायत अन्य विविध क्षेत्रमा सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल भलिबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता २०७६ साल वैशाख १० देखि १३ गतेसम्म प्रतियागिता सञ्चालन हुनेछ । जसमा एपीएफ, होङगान्जी न्युडायमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, पश्चिमाञ्चल र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल निर्माणधिन अवस्थामा भएकाले खेलस्थलको बारेमा भने पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने आयोजकले बताएको छ ।

आयोजकले चौथो संस्करणमा भन्दा पाँचौ संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको जनाएको छ । जसअनुसार विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन् ।

यस्तै सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड विजेताले १५–१५ हजार हात पार्नेछन् भने विधागत तर्फ उत्कृष्ट हुने स्पाईकर, सेटर, ब्लककर, डिफेन्स, क्विकर, सर्भर र कोचले ५ हजार नगद प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको वुमन अफ द म्याचलाई नगद ५ हजार प्रदान गरिनेछ ।

यस्तै प्रोत्साहन स्वरुप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्मृति स्पेशल अवार्ड विजेतालाई सुलक्स सेन्टरबाट ३०–३० हजार बराबरको टिसोट घडी उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्