७२ वटा शैक्षिक संरचना बनाउन सहयोग



काठमाडौं ।
भारतीय राजदूतावास र भारतको द सेन्ट्रल बिजनेश रिसर्च इन्स्टिच्युट (सिबिआरआई) रुर्कीबीच नेपालका भूकम्प प्रभावित ७२ वटा शैक्षिक सञ्रचनामा भूकम्पपछिको पुनर्निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

बुधबार राजदूतावासका नियोग उपप्रमुख डा. अभय कुमार र (सिबिआरआई) तर्फबाट प्लानिङ एण्ड बिजनेश डिभलेपमेन्ट ग्रुप समूहका अगुवा डा. पूर्णिमा परिदाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

राजदूतावासद्धारा प्रकाशित विज्ञप्ति अनुसार हस्ताक्षर कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीको पनि उपस्थिति थियो । सिबिआरआइले भूकम्प अति प्रभावित गोरखा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा र सिन्धुपाल्चोकका ७० वटा विद्यालय र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेको केन्द्रीय पुस्तकालय र पाटनस्थित राष्ट्रिय पुस्तकालय पुनर्निमाणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

सिबिआरआइ आश्रय योजना, निर्माण सामाग्री, सञ्रचना तथा प्रकोप न्यूनीकरणजस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने भारतको एक प्रमुख राष्ट्रिय प्रयोगशालाको रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्