स्वस्थ समाज सेवाप्रति समर्पित धरान रन



“दौड एक प्रकार को उपचार पद्धती हो ! त्यसैले मानिसहरु स्वस्थ्य रहनको लागि दौडिन्छन ! दौडले मानिसको दैनिक जीवनलाइ सकारात्मक प्रभाव पारेको हुन्छ ! “ यहि आत्मासाथ गर्दै बेलायतमा हुने “पार्क रन“ अवधारणा लिई धरानस्थित यलम्बर पार्कमा बिगत ७ वर्ष देखि धरान रनले स्वस्थ रहन जनचेतना दिंदै दौडलाई निरन्तरता दिरहेको छ !

बेलायतमा प्रत्येक साताको शनिबार पार्क रन हुन्छ । लण्डनबासीहरु आफू निरोगी तथा स्वस्थ रहन आइतबार सामूहिक रुपमा पार्क रन कार्यक्रममा दौडिने गर्छन् । पार्क रनमा निरन्तर दौडिनेमा धरानका युवा सन्तोष राई पनि पर्छन् । उनी बेलायत छँदै धरानमा रहेका अधिकांश परिवारजन, नातेदार र छिमेकीहरु सुगर, प्रेसर, डाइबिटिजलगायत रोगहरुबाट पीडित भएको सुने । उनलाई लाग्यो, पार्क रनजस्तै दौड कार्यक्रम धरानमा पनि आवश्यक छ ।

रोग लागेर उपचारमा भौतारिनु भन्दा त रोग लाग्नै नदिनु बेश भन्दै उनी केही दिनको बिदा लिएर धरान आए । आफ्ना केही साथीभाइको सहयोगमा सन् २०११ सेप्टेम्बर ७ बाट ‘धरान रन’ प्रारम्भ गरे । धरान ८ स्थित यलम्बर सामुदायिक पार्कबाट दौड सुरु भएर तीनकुनेस्थित श्रीजंगा शालिक परिक्रमा गर्दै पुनः पार्कमा आएर दौड टुंगिने कार्यक्रम बन्यो ।

३.५ किलोमिटर दुरी दौडने पहिलो साता २७ जना मात्र थिए । तर अहिले प्रत्येक साता ५ सय बढी संख्यामा दौडिन्छन् । यहि साता ४ सय हप्ता दौड भइसकेको भने १२ हजार सदस्य भइसकेका छन् । प्रत्येक साता कम्तीमा पनि ३ देखि ४ सयको हाराहारीमा दौडिन्छन् । दौडमा केटाकेटी, युवायुवती, वृद्धवृद्धा सबै उमेर समूहका हुन्छन् ।

बिहान ठीक ७ बजे दौड हुन्छ । झरी, जाडो, दसैँतिहार जस्ता चाडमा कुनै दिन पनि यो दौड रोकिएको छैन । भाइटीकाको दिनमा पनि युवाहरु दौडिएको कीर्तिमान बनेको छ । धरान रनकै पहल र उत्प्रेरणाले झापाको दमकमा ‘दमक रन’, भोजपुरमा ‘भोजपुर रन’ र पोखरामा ‘बि १३ रन’ पनि सुरु भइसकेको छ ।

यहि धरान रन समुह को आयोजना मा बार्षिक रुपमा नेपालकै धेरै धावक धाविका सहभागी हुने बृहत च्यारिटी रन गरिन्छ । संस्थापक सन्तोष राईका सुपुत्री नेवा राईको जब हाईड्रोक्याफलस अर्थात् टाउकोमा पानी जम्ने रोग लागे पछि छोरी नामबाट स्थापित “नेवा च्यारिटी रन“ नामकरण गरि प्रत्येक बर्ष “आरती स्ट्रीप्स धरान रन १० के ‘नेवा च्यारेटी रन“ आयोजना गरिन्छ ।
सन्तोष राई आफै पनि अन्तर्रास्ट्रिय म्याराथन धावक रही लन्डन म्याराथन, बोस्टन म्याराथन, म्युनिख म्याराथन र न्यूयोर्क म्याराथन सफलतापूर्वक दौडिसकेका छन् । धरान रन सम्बन्धि भन्छन्–“प्रत्येक बर्ष च्यारिटी रनबाट उठेको रकम स्वास्थ्य अनि शिक्षा मा खर्चिंदै आएको छौ र यसपालीको “आरती स्ट्रीप्स धरान १० के रन, सातौ नेवा च्यारिटी रन“ मा ५ हजार धावक धाविका उतार्ने तयारीमा छौ ।“

आरती स्ट्रीप्स सातौ धरान रनको उद्देश्य समाजलाई सुन्दर,स्वच्छ र स्वास्थ्य बनाउनु हो । धरान रनले दुवै हात र खुट्टा नभएका भोजुपरका बालक सञ्जीव राईलाई २ लाख ५० हजारको अक्षय कोष स्थापना गरिदिएको छ । ६ वर्षयता बर्सेनी धरान रन (नेवा च्यारिटी रन) आयोजना गरिरहेको छ । पछिल्लो पटक छैटौ संस्करणमा २५ सय भन्दा बढीले यो दौडमा भाग लिएका थिए । आयोजक सहभागी संख्याले सम्भवतः यो नेपालकै ठूलो दौड हो । यो दौड प्रतियोगिताका सहभागीबाट लिइने दर्ता शुल्कबाट खर्च कटाएर बचेको रकम बर्सेनी सेवामा खर्च भइरहेको छ ।

यसपटक भोलि फाल्गुन २५ गते हुने आरती स्ट्रीप्स धरान १० किमी रनको तयारी सुरु भइसकेको छ । यो वर्ष ५ हजारले दौडिने लक्ष्य छ । प्रथम संस्करणबाट संकलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ धरान रनले २ लाख ५० हजारको अक्षयकोष स्थापना गरिदिएको थियो । यस कोषमा किरात राई यायोक्खा सुनसरीले रकम थप गरेर ४ लाख पु¥याइदिएको छ ।

यस्तै, दोस्रो संस्करणबाट बचेको रकमले संक्रमित दुव्र्यसनी महिलाहरुको निम्ति दृष्टि नेपाल संस्थाको ह्यापी होमका लागि एक लाख ७७ हजार रुपैयाँ सहयोग गरेको थियो । तेस्रो संस्करणबाट धरान पोजिटिभ समूहमा रहेका संक्रमित बालबालिकाको शिक्षाका लागि धरान रनले २ लाख ५० हजार प्रदान ग¥यो । चौथो संस्करणबाट एकल महिला समूहको छहारी निर्माण, मुटु रोगी मिठु कटवाल, मृगौला रोगी प्रमिला बिक, क्यान्सरपीडित बालक नवीन बिक, अशक्त टेकबहादुर तामाङलाई गरी कुल २ लाख सहयोग गरेको थियो ।

पाँचौँ र छैटौ संस्करणमा उठेको ६ लाखबाट धरान रनले “नेवा च्यारिटी एजुकेसन फन्ड“ स्थापना गरिएको अध्यक्ष रमु राईले बताए । हाल यस अक्षय कोषबाट सामुदायिक विद्यालयका १७ जना बिधार्थीले छात्रवृति सहयोग पाइरहेको छ । उनीहरुको भर्ना एवं वार्षिक शुल्क, शैक्षिक सामग्री, पोशाकलगायत सबै खर्च फन्डले उपलब्ध गराइरहेको छ ।

धरानमा हुने अधिकांश सामाजिक, खेलकुद, रक्तदान, सरसफाई , चेलीबेटी बेचबिखन विरुद्धको अभियानमा सक्रिय सहभागिता रहन्छ । धरान रनसँग नेपालको सबैभन्दा ठुलो स्टील कम्पनी आरती स्ट्रीप्स प्रा.ली ले साथ दिएको छ । शीर्ष स्थानमा भने यति फलोरिङ्ग, नेपाल टेलिकम, प्रभु बैंक लगायतले सहयोग गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्