कडा र निःस्वार्थ नेताहरुको खाँचो



दक्षिण एसियाका केही यस्ता मुलुकहरु छन् जहाँ विकास भएजस्तो देखिए तापनि आमजनता यी देशहरुमा खुशी छैनन् । साथै यहाँका जनताको जीवन प्रायः कुनै न कुनै कारणले गर्दा अप्ठ्यारो तवरले गुज्रिरहेको हामी पाउँछौं । यस्ता मुलुकहरुको नाम लिने हो भने नेपाल, पाकिस्तान, भारत, बंगलादेश, बर्मा, अफगानिस्तान आदिलाई लिन सकिन्छ । यी मुलुकमा भ्रष्टाचार र मानिसको सानो सोच–संस्कारले गर्दा यिनीहरुलाई खासै विकास उन्मुक्त देश भन्न मिल्दैन । अब एसियाकै पूर्वी भागमा हेर्ने हो भने थाइल्यान्ड, सिंगापुर, जापान, हङकङ, मलेसिया, फिलिपिन्स र इन्डोनेसिया आदि मुलुकले धेरै विकासको फड्को मारिसकेका छन् । हिजो दरिद्र मानिएका भिएतनाम र कम्बोडियाजस्ता मुलुकहरु पनि आज कहाँबाट कहाँ पुगिसके, जुन हामी अनुमान पनि गर्न सक्दैनौं । यसको मुख्य कारणमा नेताहरुमा चोट, कडा इगो, कडा निर्देशन, कम नेताहरु तथा निःस्वार्थ भावनालाई मान्न सकिन्छ ।

अरु मुलुकको धेरै किन कुरा गरौं, हाम्रो जस्तो मुलुकमा हामी प्रायः आफ्नो खुट्टामा निर्भर छैनौं । यसको मुख्य कारणमा धेरै अनावश्यक नेता, उद्योग–विकासमा कमी, बेराजगार, महँगी, अव्यवस्थित बाटोघाटो, फोहोर, प्रशासनमा सुधार नहुनु तथा कालोबजार आदि हुन् । यहाँ ५ बुँदे, १० बुँदे, २० बुँदे, दलित, जनजाति, सहमतिजस्ता कुरालाई लिएर दुई दशक बिताइदिन्छ । बदलामा नेतालाई आर्थिक लाभ र जनतालाई हातमा लागे शून्य भइराखेको छ ।
यसरी सधैँ अल्झिराख्ने अनि अनावश्यक भाषण, अन्तर्वार्ता, भागवण्डा, नेताको छोटो अवधि हुने हो भने यो मुलुक बन्ने कहिले त ? यहाँ सर्वसाधारण पनि लाचार छन् । केही गर्न चाहेर पनि गर्न सक्दैनन् । यसका दुई–तीन कारण छन् । काम र दाल–भातमा व्यस्त हुने, ‘देश भाँडमा जाओस् बरु नेताकै चाकडी गरेर बस्छु’ झैँ केही बुद्धिजीवीहरु रमाइलो गर्ने, रक्सी खाने, नेताहरुको आलोचना गरेर बस्ने, कोही विदेश छिर्ने गर्दछन् भने कोही राम्रा बुद्धिजीवीहरु वर्तमान नेताबाट बहिष्कार हुन्छन् । अब बाँकी सर्वसाधारणले के गर्ने ?

यस्तो अवस्थामा हामीले नेताहरुलाई एउटै अनुरोध गर्न सक्छौं– कृपया परिवर्तन भएर सर्वसाधारणको लागि काम गरेर अघि बढ्नुस् । तर यिनीहरुको सधैँ उही ढिड पारा हुन्छ । कुनै पनि मुलुक छिटोभन्दा छिटो विकास हुनको लागि शुरुमा सरकार तथा कानुन नै दह्रो र कडा हुनु आवश्यक छ । जनता पनि सजग भएर राष्ट्रको लागि केही हित चिताई चनाखो हुनुपर्दछ । यो होइन कि सधैँ एक–अर्कालाई दोषारोपण गरेर, देशको चिन्ता गरेर मुलुकको उत्थान हुने होइन । हाम्रो जस्तो मुलुकमा नेता, प्रशासन, व्यक्ति सबै इमानदार भएर कडा कानुनको पालना गर्ने हो भने विकास भन्ने कुरा ठूलो होइन ।

 

यो मुलुकमा देश हाँक्नेहरुले गाडीको स्टेरिङजस्तै देशको स्टेरिङ चलाउन नसक्नुको मुख्य कारण छिन्–छिन्मा नेताहरुको उद्देश्यहीन भारत र चीन भ्रमण हो । अबउप्रान्त नेताहरुको दिमागमा यो घुस्नुप¥यो कि भारत र चीनको नेपाल देश दास होइन, जुन कि हामी सधैँ डराएर चम्चाझैँ भइराखौं । अर्को शब्दमा भन्नुपर्दा, जुनसुकै सरकारले पनि विकासलाई आफ्नो ठाउँमा, विदेशीलाई आफ्नै ठाउँमा राख्नुपर्दछ । याने कि चीन र भारतलाई कुर्सीको लागि हामीले धेरै महत्व दिनुहुँदैन । यसको मतलब दुश्मनी पनि गर्ने होइन । यी दुई मुलुकलाई राम्रो मित्रको हिसाबले हेरेर आफ्नो मुलुकको विकास गर्नुपर्दछ । यो कुनै असम्भव कुरा पनि होइन ।

देश चलाउन नसक्नुको अर्को कारण कुर्सीको कलह र मोह हो । आफ्नो मान्छे, ज्ञानको कमी र कडा हुन नसक्नु हो । त्यसकारण अब यस्तो गलत संस्कार सबैले त्यागौं, कडा बनौं । अन्यथा राजनीतिमा आउनुको कुनै अर्थ छैन । समग्रमा भन्नुपर्दा निःस्वार्थ भावनाले सानातिना काम गर्नाले नै नेता हिरो हुन्छन् यहाँ । यसैले राष्ट्र र सबैको भलो हुन्छ ।
– रमेश केशरी वैद्य, छत्रपाटी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्