इतिहास रच्न पछि नहट



पटक–पटक दोहोरिरहने भारत–पाकिस्तान तनाव गत साता फेरी दोहोरिएको छ । भारतले गत मंगलबार विहान सवेरै आफ्ना लडाकू विमानमार्फत पाकिस्तान नियन्त्रित कास्मिरको बालाकोट क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै मुलुक वाकयुद्धमा मात्रै सीमित भएका छैनन् हवाई हमलामा उत्रिएका छन् ।

बुधवार फेरी भारतले हवाई हमला दोहो¥याएपछि पाकिस्तानी वायुसेनाले भारतीय एयर स्पेसमा प्रवेश गरेर बमवर्षा सहित जवाफी कार्वाही गरेपछि दुवै मुलुकले सुरक्षा सतर्कता बढाएका छन् । बालाकोटमा भएको शक्तिशाली हमलामा ३ सय भन्दा बढी आतंकवादी मारिएको भारतीय पक्षको दावी छ भने पाकिस्तानले सो घटनामा कुनै मानवीय क्षति नभएको बताउँदै भारतीय दावीको खण्डन गरेको छ ।

बुधवार फेरी दोहोरिएको भारतीय हमलापछि विश्वले दुवै मुलुकका गतिविधीबारे चासो लिएको छ । पछिल्लो हमलामा आफ्नो भूमिमा प्रवेश गरेका दुई भारतीय विमानलाई पाकिस्तानले खसालेको छ भने एउटा विमानका पाइलटलाई सो मुलुकले आफ्नो नियन्त्रणमा लिएपछि विश्वको ध्यान दुवै मुलुकतर्फ सोझिएको हो ।

पाकिस्तानी जवाफी कार्वाहीमा भारतीय वायुसेनाका पाइलट अभिनन्दन वर्धमान प्यारासुटबाट पाकिस्तान नियन्त्रित कास्मिरमा खसेपछि उनलाई पाकिस्तानले आफ्नो नियन्त्रणमा लिएको पाकिस्तानले शुक्रवार ससम्मान रिहा गरेको छ । अभिनन्द पाकिस्तानको ‘बार्गेनिङ’ अस्त्र बन्न सक्ने धेरैको अपेक्षा विपरित सकुसल रिहा भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रशंसा विश्वले गरिरहेको छ ।

गत फागुन २ गते कास्मिरको पलुअवामा भएको आक्रमणमा ४६ जना भारतीय सैनिकको मृत्यु भएको थियो । सोही घटनाको प्रतिकार स्वरुप पाकिस्तानमाथि पछिल्लो आक्रमण भएको भारतीय पक्षको भनाई छ । पलुअवा घटना पाकिस्तानका तर्फबाट भएको र पाकिस्तानले आतंकवादी समुहको संरक्षण गर्दै आएको भारतीय दावी छ । भारत–पाकिस्तान वीच वर्षौयता सीमावर्ती क्षेत्रमा तनाव जारी छ भने दुवै मुलुकले दावी गर्दै आएको कास्मिरको भू–भागको स्वामित्व विवादले हवाई सहित अन्य आक्रमण दोहोरिदै आएको छ ।

यही कारणले दुवै मुलुक मात्रै होइन कास्मिरमा पनि हिंसा र हत्याका घटनाले सीमा नाघिरहेको छ । समग्र दक्षिण एसिया नै प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावित बनेको छ । दुई मुलुक वीचको तनावले वर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ ।

समग्र दक्षिण एसिया, दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क)का गतिविधी प्रत्यक्ष प्रभावित बनेका छन् भने अन्य क्षेत्रिय सहकार्यमा पनि ठेस लाग्न थालेको छ । तर पाकिस्तानले भारतीय पाइलट अभिनन्दनको सकुसल रिहा गरेसँगै सो मुलुक हिंसा होइन शान्ति चाहन्छ भन्ने सन्देश विश्वलाई दिएको छ । ५ महिनाअघि मात्र पाकिस्तानको कार्यकारी प्रमुख बनेका भएका खान राजनीतिमा खासै परिपक्व नरहेको धेरैको अनुमान थियो तर पछिल्लो कदमले उहाँलाई बुझ्नेहरु बदलिन थालेका छन् ।

राष्ट्रिय राजनीति मात्रै होइन अन्तर्राष्ट्रिय राजनीतिक छवी पनि उचो बनाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको तुलनामा खान कमजोर रहेको अनुमान गरिएको हुन सक्छ ।
अहिले पाकिस्तानले उदारता देखाउँदै गर्दा भारत थोरै लचक भएको खण्डमा वर्षौ पुरानो तनाव अन्त्य हुने बलियो संभावना बढेको छ । त्यसैले सैन्य र आणविक शक्तिमा को भन्दा को कम भन्ने भावनाबाट दुवै मुलुक पछि हट्ने हो भने दीर्घकालिन शान्ति असंभव छैन ।

युद्ध र हिंसा कायम राखेर मुलुकको नेतृत्व लिनु मात्रै राजनेताको सफलता होइन, राजनेताको छवी थप उचो हुनेमा दुईमत छैन । शान्तिपूर्ण निकासबाट पनि विश्व इतिहास रच्न सकिन्छ, त्यस भएको खण्डमा पक्कै पनि विश्वले दिल खोलेर प्रशंसा गर्ने नै छ ।

प्रतिक्रिया दिनुहोस्